१) राम्रो कलाकृति, सिनेमा र नाटकको पारखी हुनुहुन्थ्यो– विजय मल्ल । अब्बल साहित्यका त पारखी र अम्मली दुवै । साहित्यबाहेक पनि मैले देखेका उहाँका अन्य अम्मल थिए– ५५५ ब्रान्डको चुरोट, कडा कालो कफी, नत्र चिया । पाएसम्म उत्कृष्ट मदिरा । अनि समय कटाउन तासको खाल । तर, जुवामा उहाँ रत्तिएको मलाई (अविनाश श्रेष्ठ) थाहा छैन ।
२) घरबाट निस्कँदा विजय मल्ल प्रायः पैसा नबोकी निस्कने । पीपलबोट सडकपेटीछेउको नाङ्लो पसलनिर पुगेर उहाँ उभिने गर्नुहुन्थ्यो । अनि म (अविनाश श्रेष्ठ)तिर हेर्दै सोध्नुहुन्थ्यो– ‘अविनाशजी, एउटा दुई रुपैयाँ छ होला, तपाईंसित ?’
उहाँतिर मुस्कुराएर हेर्दै म दुईको नोट झिकेर दिन्थेँ ।
उहाँ दुई खिली चुरोट किन्नुहुन्थ्यो । एउटा कमिजको माथिल्लो गोजीमा राखेर अर्काे सल्काउनुहुन्थ्यो र सर्काे तान्दै मेरो दायाँ हातलाई आफ्नो बायाँ हातले च्याप्प समातेर आफ्नै लहडमा गफिँदै
हिँड्न थाल्नुहुन्थ्यो ।
यसरी हिँड्दा नै हो, उहाँले नलेखिएका आफ्ना कथा र उपन्यासका प्लटहरू सुनाउने । सुनाउँदै बीच–बीचमा सोध्नुहुन्थ्यो, ‘अहिलेसम्म सुनाएको तपाईंलाई कस्तो लाग्दै छ ?’
सोधिसकेपछि उहाँ हिँड्दाहिँड्दै टक्क उभिनुहुन्थ्यो । मेरा आँखामा आँखा गाडेर गहिरिएर हेर्दै फेरि प्रश्न गर्नुहुन्थ्यो, ‘नढाँटी भन्नोस् त, कस्तो लाग्यो ?’
जे–जस्तो भए पनि तत्काल प्रतिक्रिया दिनैपर्ने ।
३) आफ्नै सुरमा गफिँदै हिँडिरहँदा सडकछेउमा चिया वा कफीस्टल देख्दा विजय सर फर्माइस गर्दै भन्नुहुन्थ्यो, ‘ल अविनाशजी, आज कफी खुवाउने जिम्मा तपाईंको । आफू त कानो कौडी नबोकी हिँडिया छ क्या’रे !’
४) सन्ध्याभ्रमणमा बरालिँदै हिँडिरहँदा कहिले फेरि कुनै अर्डिनेरी (साधारण) भट्टी पसलअगाडि पुगेपछि विजय सरको रसिक मिजासले उहाँको तलतललाई वाणी प्रदान गथ्र्याे, ‘धेरै भयो अविनाशजी, यहाँ नपसेको । जमानामा यहाँ खुब जम्ने गथ्र्याै हामी ।’
मैले उहाँको आशय बुझ्थेँ ।
त्यो साँझ, त्यहीँ भित्रिएर जम्थ्यौँ हामी दुवै ।
वास्तवमा खानुपिउनु त बहाना मात्र हुन्थ्यो । उहाँलाई आफूभित्र गुम्सिएका अनन्त कथाहरू सुनाउने उखरमाउलो ! अनि मलाई उहाँसितको संसर्गका ती अनमोल पल–क्षणहरू उम्केर नजाऊन् भन्ने हुटहुटी !!
५) विजय मल्लको सरसंगत, सम्बन्ध र साथित्व धेरैजनासित थियो । तर, अन्तरंग मित्रहरू, जसमाथि उहाँले भरोसा राख्नुहुन्थ्यो, तिनको संख्या औँलामा गन्न मिल्ने मात्र थियो । मैले संगत गर्दाको बखतमा दाजु गोविन्द गोठालेबाहेक उहाँका दुई अन्तरंग साहित्यिक मित्र प्रेमा शाह र दौलतविक्रम विष्ट थिए । प्रेमा शाह तिनताका वीरगन्ज बस्नुहुन्थ्यो । काठमाडौं आउँदा दिनभरि उहाँ विजय मल्लसँग कला, साहित्य र लेखनबारे गफिएर बसेको देख्थेँ । अर्कातिर, दौलतविक्रम विष्टसित विजय मल्लको दोस्तीको आयाम भने धेरै साझा अनुभव र अनुभूतिहरूले विनिर्मित थियो । धेरैपटक दौलतविक्रम विष्टको मीनभवन पाखामा रहेको घरमा विजय मल्लसँग म पुगेको छु । दुई पाका स्रष्टाका संस्मरण र चिन्तनको संसारमा सहभागी बनी डुबुल्की मारेको छु । रमेश विकल, कृष्णचन्द्रसिंह प्रधान, तीर्थराज तुलाधर, सूर्यबहादुर पिवा, माधवलाल कर्माचार्य, चित्तरञ्जन नेपाली, पुरुषोत्तम बस्नेत, भागीरथी श्रेष्ठहरूसित पनि उहाँको निकटता र व्यावहारिक आदानप्रदानको धरातल फराकिलो रहेको अनुभव गरेको थिएँ ।
६) गोविन्द गोठाले र विजय मल्ल सहोदर दाजुभाइ । उहाँहरूका बुबा ऋद्धिबहादुर मल्ल आफ्नो समयका लेखक, अनुवादक र बहुचर्चित साहित्यिक पत्रिका ‘शारदा’का संस्थापक, सम्पादक प्रकाशक । बाजे वीरबहादुर मल्ल पनि ‘कीचक वध’, ‘चर्पटमञ्जरी’, ‘श्रीमद्भागवत एकादशस्कन्ध’, ‘निर्गुण भजन’ आदि नेपाली भाषामा श्लोकबद्ध गर्ने रचनाकार ।
यसरी तीनपुस्ते लेखनधर्म धान्दै आइरहेका यी दुई दाजुभाइ गोविन्दबहादुर मल्ल ‘गोठाले’ र विजयबहादुर मल्लमाझ म अद्भुत मेलमिलाप र आत्मीयता देख्थेँ ।
७) हिन्दीका केही शब्द सापटी लिएर भन्नुपर्दा विजय मल्ल ‘मस्तमौला’ हुनुहुन्थ्यो, ‘बिन्दास’ हुनुहुन्थ्यो, ‘यारोँका यार’ हुनुहुन्थ्यो ।
सधैँ प्रसन्न, सधैँ उत्साहले भरिएको अनुहार । कसै न कसैको हात समातेर गफ गर्दै हिँडिरहेको देखिने । न कसैसँग ईष्र्या–द्वेष, न कसैको बद्ख्याइँ । उच्च पहुँच राख्ने, तर पाले, पिउन, खरदार, ड्राइभरहरूको कुममा हात राखेर भलाकुसारी गरिरहेको, समस्या सुनिरहेको भेटिने । प्रज्ञा–प्रतिष्ठानको सदस्यसचिव, उच्च प्रशासक व्यक्तित्व, तर सबैको विजय दाइ । सादा जीवन, उच्च विचारका प्रतिमूर्ति । बाहिर जतिसुकै सरल, नम्र र भद्र भए पनि आफ्नो कामप्रति भने अनुशासित र प्रतिबद्ध । उहाँको व्यक्तित्वमा देखापर्ने हृदय र मस्तिष्कको यो सन्तुलन मलाई गजबको लाग्थ्यो ।
८) ‘समकालीन साहित्य’को सम्पादकका नाताले ती सुनाइएका कथा लेखेर दिन उहाँसित म अनुरोध गरिरहन्थेँ । उहाँ जहिल्यै ‘त्यो कथा वा त्यो नाटक त लेखेर सिध्याउनै आँटेँ’ भन्ने गर्नुहुन्थ्यो । तर, पछि थाहा हुन्थ्यो, उहाँले एक हरफ पनि लेख्नुभएको छैन । अनि आजित बनेर म उहाँलाई भन्थेँ, ‘सर, यसरी काम चल्दैन । अब तपाईं भन्दै जानोस्, म टिप्दै जान्छु ।’
यसरी नै उहाँले बोल्दै र मैले कागजमा टिप्दै गएर लेखिएको कथा हो– खण्डहरूको कथा । यो कथा पटक–पटक उहाँले बोल्दै जाने र मैले लेख्दै जाने अनि उहाँले फेरि लेखाउन बस्दा सुरुदेखि सुनेर फेरि कथा अगाडि बढाउने गर्नुहुन्थ्यो । खण्डहरको कथा यसै विधिद्वारा लेखेर सक्न झन्डै २०–२५ दिन लागेको मैले बिर्सेको छैन ।
९) ‘खण्डहरको कथा’ मेरो दृष्टिमा विजय मल्लको मास्टर पिस हो, जसलाई मैले ‘मान्छेको नाच’ कथासंग्रहमा सगर्व संगृहीत गरेको छु । खण्डहरको कथाको अर्को विशेषता के हो भने यो विजय मल्लको कथालेखनको तेस्रो चरणअन्तर्गत लेखिएको पहिलो कथा हो । यो कथा ‘समकालीन साहित्य’मा प्रकाशनका लागि २०४८ सालको उत्तराद्र्धमा बुझाएपछि उहाँले त्यही उत्साहमा अन्य केही कथा लेख्नुभएको हो ।
१०) कथा, नाटक आदि लेखिसकेपछि (वा लेखाइसकेपछि) प्रायः मकहाँ इन्द्र महर्जन हस्ते पाण्डुलिपि पठाउँदा उहाँ शीर्षक नराखी पठाइदिने गर्नुहुन्थ्यो । पछि फोनमा भन्नुहुन्थ्यो, ‘लेखिसकेर नाम जुराउनुजस्तो झ्याउ काम मलाई अरू कुनै लाग्दैन । ल नामकरणको जिम्मा तपाईंको भयो ।’