सम्झना

दरबारले दिएकोमा थपेर बक्सिस

दरबारले दिएकोमा थपेर बक्सिस

राजा महेन्द्रका दुइटी मुमाको साथमा लगाएको एक जोर लुगाको भरमा म पनि दिल्लीबाट लखनउ जानैपर्ने अवस्था पर्यो ।  जर्नेल तीर्थविक्रम राणा, डा मृगेन्द्रराज पाण्डे र म एउटै टेबलमा खान्थ्यौँ । मुमा महारानीहरुलाई साह्रै रिझाएर अरुलाई मान्छे नगन्ने कुक रहेछ । उसले हामीलाई अलिकति गन्ध आउने बटर लगाएर पाउरोटी दियो । 
बानी नपरेकाले मलाई खान गाह्रो पर्यो । 

‘यो कुकले हामीलाई हेपेर नराम्रो खाना दियो । मुमाहरुलाई बिन्ती गर्नुपर्यो,’ मैले जर्साबलाई भनेँ ।
‘यहाँ यसरी एक अर्काको कुरा लगाउनु हुँदैन । हामीले एउटा कुरा लगायौँ भने उसले दुईवटा कुरा लगाउँछ । त्यसैले कुरा लगाउने काम गर्नु हुँदैन,’ जर्साबले भने । 
कसैलाई नसोधी म बाहिर रेस्टुरेन्टमा खान गएँ । खाँदाखाँदै रेस्टुरेन्टमा सीआईडी इन्सपेक्टरको ताँती लागेर मलाई हिँड भन्न लागे । म उनीहरुसँगै उत्तर प्रदेश चिफ मिनिस्टरको गेस्ट हाउस फर्कें ।

‘नसोधी त्यसरी जानु हुँदैन । बाहिर गएर खानु हुँदैन । थाहा नपाएको नयाँ मान्छे, एकपटक गल्ती गरेछ भनेर तपाईंको जागिर जानबाट बचाइदिएँ । अबदेखि नसोधी नजानू,’ जर्नेलले मलाई भने ।

त्यो कुकको घर ठमेलमै थियो मुमाहरुले किनिदिएको । उसकी श्रीमती मेरी बहिनीसँग शान्ति विद्यागृहमा पढ्थी । बोलचाल नभए पनि मलाई थाहा थियो । राम्रो र मीठो खानका लागि म कुककहाँ गएँ र तपाईंलाई चिन्छु भनेँ । 
मैले त्यति भनेपछि पर्समा राखेको श्रीमतीको फोटो देखाउँदै उसले भन्यो, ‘मेरी श्रीमतीले बीए पास गरेकी छन् । तपाईंको साथी यही हो ?’
‘हो,’ मैले झुटो बोलेँ । 

‘म मीठोमीठो बनाएर इसारा गर्छु । तपाईं किचेनमा आउनुस्, खाएर जानुस्,’ उसले भन्यो ।
उसले इसारा गरेपछि म गएँ । जाँदा मेचको कीलाले मेरो दाहिने फिला पछाडिको डेढ इन्चजति पाइन्ट स्वात्तै च्यातिदियो । त्यसपछि दायाँबायाँ हेर्दा फाटेर प्वाल परेको कीलैकीला भएको बेतको मेच देखेँ ।
कुकलाई सिउन जानेको छ कि भनी सोधेँ । 
‘सिउन जानेको छैन तर सियो–धागो छ ।’
उसले मलाई सियो–धागो दियो । मैले जिन्दगीमा कहिल्यै सिएको थिइनँ । एकछिनसम्म कसरी सिउने भनेर जिल्ल परेँ । 
जसोतसो सिएँ । तर, बाहिरबाट प्रस्टै देखिन्थ्यो ।
त्यत्तिकैमा मेरो दिल्ली फर्कने बेला भयो । 

मुमाको प्रिन्सिपल सेक्रेटरी ज्वाइँ पर्ने राजकुमार सरगुजाले मलाई सभ्य भाषामा तपाईंको केटाकेटीलाई फलफूल किनेर लैजान साहिँली शाहजादीले बक्सेको भन्दै एउटा खाम दिए । खोलेर हेर्दा २५ रुपियाँ रहेछ । त्यो देख्नासाथ मेरो कन्सिरीको रौँ तात्यो । त्यो २५ रुपियाँमा खल्तीबाट झिकेर अर्को २५ रुपियाँ थपेर मसँगै आएको हेडपियन रामसिंहलाई उसको केटाकेटीलाई फलफूल किनेर लैजाऊ भन्दै सरगुजाकै अगाडि दिएँ ।

आफूलाई हेपेको सम्झी रेल्वे स्टेसनमा सिङ्गल एयर कन्डिसन कुपेको टिकट पठाइदिन फोन गरेँ । चिफ मिनिस्टर गेस्ट हाउसबाट फोन गरेको हुनाले पैसा लिएर दिने गरी रेल्वेको सिङ्गल एयर कन्डिसन कुपेको एउटा टिकट मोटरसाइकलमा पठाइदियो ।  

टिकट लिएर रेल्वे गएँ । त्यहाँ ५०–६० वटा सुटकेस अटाउने ठाउँ थियो । एटेन्डेन्स तीन जना सित्तैँ बस्न पाउनेका लागि मेच थियो । कुपेको यात्रुका लागि माथिल्लो तहको रेल्वे एटेन्डेन्स राखेको रहेछ । 

एकातिर मलाई आफ्नो फाटेको पाइन्ट देख्लान् भन्ने पीर थियो भने अर्कोतिर एयर कन्डिसन सिङ्गल कुपेमा बस्दाको रमाइलो । घन्टी थिचेर छिनछिनमा कहिले कफी त कहिले जुस मगाइरहेँ ।

रमाइलो के भने, जुस खाएर कफी खानुपर्नेमा कतिपटक कफी खाएर जुस खाएँ ।             
दरबारका निम्ति कुनै पनि सामान किनेको बिल पठाएपछि सबै रकम दरबारले भर्ना गरिदिने चलन थियो । उसको कामका लागि जाने सबै मानिसको टीएडीए दरबारले नै बेहोथ्र्यो । मैले दूतावासबाट लखनउ गएको टीएडीएको हिसाब मुमाहरुकै सचिवालयमा भर्नाका लागि लेखिपठाउँदा राजकुमार सरगुजाले स्पष्टीकरण सोधे, ‘तपाईं सिङ्गल एयर कन्डिसन कुपेमा चढेर किन फस्र्ट क्लास मात्र क्लेम गरेर पठाएको ?’ एयर कन्डिसन कुपे दरबार सदस्यले मात्र चढ्ने चलन । प्रधानमन्त्रीले चढेको थाहा पाए पनि दरबारले मन पराउँदैनथ्यो । 

जवाफ दिन मलाई मुस्किल भयो । तर, मैले यस्तो जवाफ दिएँ, ‘एम्बेसीमा थुप्रै काम बाँकी रहेकाले चाँडो फर्किन रेल्वेलाई जुनसुकै भए पनि टिकट पठाइदिन अनुरोध गरेँ । सिङ्गल एयर कन्डिसन कुपेको टिकट पठाइदियो । र, फस्र्ट क्लासबाहेकको थप पैसा आफ्नै खल्तीबाट हालेँ । त्यही सिङ्गल एयर कन्डिसन कुपे चढेर लखनउबाट दिल्ली आएँ ।’

मलाई त्यसरी लखनउ गेस्ट हाउसमा मीठो खुवाउने कुककी श्रीमतीले राजविराजका अङ्ग्रेजी लेक्चररसँग दोस्रो बिहे गरिन्, दरबारले किनिदिएको घरसमेत लगेर गइन् ।
भारतमा इन्दिरा गान्धीले इमर्जेन्सी लगाउँदा बिहारका करपुरी ठाकुर भागेर राजविराज आएछन् र त्यही लेक्चररको घरमा लुकेर बसेका रहेछन् । इमर्जेन्सीपछि  फर्केर ठाकुर बिहारका मुख्यमन्त्री भए । उनले आफूलाई राजविराजमा मद्दत गर्ने लेक्चरर र उसकी श्रीमतीलाई बिहार आउने निम्तो दिए । उनीहरु दुवै बिहार गए । 

केही समयपछि नेपाली केटीका कारण मुख्यमन्त्री ठाकुरले राजीनामा गरे भन्ने खबर अखबारमा पढ्न पाइयो । उही केटीका कारण हो वा अरु कोही नेपाली केटीको कारणले ? यसै भन्न सक्दिनँ ।