संस्कार चिन्तन

हात किन नमिलाउने ?

हात किन नमिलाउने ?

हामीले एकअर्काको सम्मानका लागि अभिवादन त गर्दै आएका छौँ तर हाम्रा अभिवादन किन औपचारिकतामा सीमित भएर दुब्लाउँदै गएका छन् त ? भन्ने विषयतिर हाम्रो ध्यान जान सकेको छैन । अभिवादनप्रति वास्तविक श्रद्धा घट्तै गएका कारण हामीले आफ्नै जीवनप्रति पनि श्रद्धा र विश्वास गर्न नसक्ने परिस्थितिहरू निम्तिँदै गएका छन् । हाम्रा मौलिक अभिवादनहरूलाई क्रमशः बिदा गर्दै आगन्तुक अभिवादनप्रति हाम्रो ध्यान किन आकृष्ट भइरहेको होला रु हामी अझै पनि गम्भीर बन्न सकिरहेका छैनौँ ।

(क) वैदिक सनातन परम्परामा अभिवादनका चार प्रकार 
वैदिक सनातन पद्धति वा परम्परामा मुख्यतः चार प्रकारका अभिवादनहरूको चर्चा गरिएको पाइन्छ:१, ईश्वरप्रति गरिने अभिवादन २, मान्यजनप्रति गरिने अभिवादन ३, समान व्यक्तिका बीचमा गरिने अभिवादन  ४, आशीर्वादात्मक प्रत्यभिवादन । विशेषतः इसाइ धर्मावलम्बीहरूले अवलम्बन गर्ने अभिवादनको अन्धानुकरण गर्नाले वैदिक सनातन पद्धतिमा आधारित उपर्युक्त चारै प्रकारका अभिवादनहरू वर्तमानमा क्रमशः दुब्लाउँदै र ओझेल पर्दै गएका हुन् ।

(ख) किन हात नमिलाउने ?
इसाइ धर्मावलम्बीहरूले एकआपसमा अभिवादन गर्दा बिहान गुड मर्निङ, मध्याह्नमा गुड आफ्टर नुन, साँझमा गुड इभिनिङ र रातमा गुड नाइट भन्दै एकअर्कासँग हात मिलाउने गर्छन् । राम्रो बिहान, राम्रो मध्याह्न, राम्रो साँझ र राम्रो रात भनेर यसरी अभिवादन गर्दा वास्तवमा यी अभिवादनले नम्र र विनयी भएर झुक्न सिकाउँदैनन् । यिनै शब्दको अनुवाद गरेर नेपालीमा शुभ बिहानी, शुभ मध्याह्न, शुभ सन्ध्या र शुभ रात्रि भन्ने गरिएको छ तर अनुवाद गरिएका कारण यिनमा पनि इसाइ अभिवादनकै झझल्को आउँछ । शब्दमा दृष्ट र अदृष्ट दुवै किसिमको फल दिने सामथ्र्य हुन्छ तर इसाइमूलक उपर्युक्त अभिवादनका शब्दले अदृष्टको त कुरै छाडौँ दृष्ट वा प्रत्यक्ष फल दिन सक्ने सामथ्र्य वहन गर्न सकेका छैनन् ।

कतिपय अवस्थामा यस्ता अभिवादनहरू अव्यावहारिक पनि देखिन्छन् । उदाहरणका लागि कुनै व्यक्ति दुर्घटनामा परी मरणासन्न अवस्थामा पुगेको छ वा कसैको मृत्यु नै भइसकेको छ भने त्यस अवस्थामा पीडित र शोकाकुल परिवारजन र इष्टमित्रलाई भेट गर्न जाँदा र छुट्टिँदा गुड मर्निङ, गुड नाइट आदि भन्दै गरिने अभिवादनहरू अव्यावहारिक देखिन्छन् किनभने पीडित र शोकसन्तप्त परिवारका सामु ‘गुड’ शब्दको उच्चारणले केकस्तो नराम्रो प्रभाव पार्छ ? भनेर हामी सबैले सहजै बुझ्न सक्छौँ । हामीलाई नम्र, विनयी र शिष्ट बनाउन नसक्ने र अव्यावहारिक देखिएकाले वैदिक सनातन पद्धतिका अनुयायीहरूले गुड मर्निङ, गुड अफ्टर नुन, गुड इभिनिङ र गुड नाइट भनेर हात मिलाउँदै गरिने अभिवादनहरूलाई आत्मसात् गर्नु युक्तिसङ्गत देखिँदैन । रुघाखोकी, कोरोनालगायतका दर्जनौँ रोगहरूको सङ्क्रमणबाट बच्नका लागि पनि इसाइ पद्धतिको हात मिलाउने संस्कारबाट वैदिक सनातन पद्धतिका अनुयायीहरू सदैव टाढै रहनु आवश्यक छ । जहाँबाट हात मिलाउने प्रचलन सुरु भएको हो त्यहीँका नागरिकहरूले पनि हात मिलाउने प्रचलनलाई न्यून गर्दै गएका छन् भने हामी वैदिक सनातन पद्धतिका अनुयायीहरूले हात मिलाएर अभिवादनको औपचारिकता पूरा गर्न खोज्ने प्रवृत्तिलाई क्रमशः निरुत्साहित गर्दै जानुपर्छ ।

(ग) किन सलाम नगर्ने ?
‘एकहस्तप्रणामेन यत्पापं न तदन्यतः’ (भृगुसंहिता ३६.२७७)अर्थात् एक हातले प्रणाम गर्दा जुन पाप लाग्छ त्यो पाप अन्य कुनै कर्म गर्दा लाग्दैन । एक हातले अभिवादन गर्ने प्रचलन वैदिक सनातन पद्धतिभित्र पर्दैन र यो अभिवादन पनि नेपाली समाजमा आयातीत अभिवादन हो । विशेषतः सैनिक र प्रहरी सेवामा संलग्न भएका सुरक्षाकर्मीहरूका लागि यस किसिमको अभिवादन अनिवार्य गर्न प्रारम्भ गर्ने काम पाश्चात्य देशहरूबाटै भएको हो । त्यसकै देखासिकी गरेर हामीले पनि आफ्ना मौलिक अभिवादनहरूलाई बेवास्ता गरेर सलाम गर्नतिर आफूलाई अग्रसर गराउनु उचित देखिँदैन । 

(घ) वरिष्ठ र कनिष्ठलाई किन नमस्ते नगर्ने ?
‘नमस्’ र ‘ते’ दुई शब्द मिलेर ‘नमस्ते’ शब्द बनेको छ । ‘नमः’ शब्दको अर्थ झुक्नु वा शिर झुकाउनु हो भने ‘ते’ शब्दको अर्थ तिम्रा लागि भन्ने हुन्छ । आफ्ना मान्यजनलाई ‘तिमी’ शब्दको प्रयोग गर्न नमिल्ने र आफूभन्दा सानालाई ‘नमः’ भनेर शिर झुकाउन उपयुक्त नभएकाले समान तहका सहपाठी र सहकर्मी साथीहरूका बीचमा मात्र ‘नमस्ते’ शब्दको प्रयोग गर्नुपर्छ । हुन त वेदका ‘नमस्ते रुद्रमन्य...’, ‘नमः श्वभ्यः...’ आदि मन्त्रहरूमा भगवान् रुद्रलाई र कुकुरलाई समेत शिर झुकाउने भन्ने अर्थमा ‘नमः’ शब्दको प्रयोग गरिएकाले मान्यजन र प्रियजनलाई समेत ‘नमस्ते’ भन्न कुनै आपत्ति छैन भन्ने तर्क पनि उपस्थित गर्न सकिएला तर वैदिक मन्त्रमा प्रयोग गरिएको ‘नमः’ शब्द र ‘ते’ शब्द एकेश्वरवादीका दृष्टिले उपयुक्त देखिन्छ । ईश्वरभिन्न कुनै पदार्थ नै नभएका खण्डमा वरिष्ठ वा कनिष्ठ भन्ने पर्खाल नै खडा हुँदैन । ‘त्वमेव माता च पिता त्वमेव’ मा ईश्वरका लागि एकवचन ‘तिमी’ शब्दको प्रयोग गरिएको छ । ईश्वरका लागि प्रयोग गरिएको ‘तिमी’ शब्द मान्यजनका लागि प्रयोग गर्नु उपयुक्त हुँदैन किनभने मान्यजन व्यक्ति भएकाले सबै मान्यजनमा एकेश्वरवादीजस्तो ऐक्यभाव वा समभाव रहन सक्तैन ।

बाल्य अवस्थामा अबोध छोराछोरीले, सम्भोगका अवस्थामा नारीहरूले, स्तोत्रहरूको रचना गर्दा कविहरूले र युद्धमा योद्धाहरूले आफ्ना मान्यजनलाई पनि ‘तँ’ वा ‘तिमी’ शब्दको प्रयोग गर्न सक्छन् तर ब्राह्मणलाई ‘चुप लाग्’ भनेर हप्काउने र पूजनीय व्यक्तिलाई ‘तँ’ वा ‘तिमी’ शब्दको प्रयोग गर्नु हुँदैन । यदि यस्तो प्रयोग गरेका खण्डमा प्रयोग गर्ने व्यक्तिले प्रायश्चित्तस्वरूप तत्काल स्नान गरेर दिनभर भोजन गर्नु हुँदैन र खुट्टा छोएर ढोग गरी उनीहरूसँग क्षमा माग्नुपर्छ :
हुङ्कारं ब्राह्मणस्योक्त्वा त्वङ्कारं च गरीयसः ।
स्नात्वाश्नन्नहः शेषमभिवाद्य प्रसादयेत् ।।
(मनुस्मृति ११.२०४)

तसर्थ ईश्वरका लागि तिमी शब्दको प्रयोग गर्न सकिए पनि मान्यजनका लागि तिमी शब्दले युक्त ‘नमस्ते’ शब्दद्वारा अभिवादन गर्नु हुँदैन भने आफूभन्दा कनिष्ठका लागि पनि ‘नमस्ते’ शब्दको प्रयोग गर्नु उपयुक्त हुँदैन । हामीले आफ्नो व्यवहारमा विशेषतः आफ्ना सहपाठी र सहकर्मी साथीहरूका बीचमा मात्र ‘नमस्ते’ को अभिवादन आदानप्रदान गर्नु उपयुक्त देखिन्छ ।

(ङ) साष्टाङ्ग दण्डवत् प्रणाम किन गर्ने ?
उरसा शिरसा दृष्ट्या मनसा वचसा तथा ।
पद्भ्यां कराभ्यां जानूभ्यां प्रणामोऽष्टाङ्ग उच्यते ।।
(आह्निक सूत्रावली)
अर्थात् छाती, शिर, आँखा, मन, वचन, दुवै हात, दुवै खुट्टा र दुवै घुँडा यी आठ अङ्गद्वारा गरिने प्रणामलाई नै साष्टाङ्ग प्रणाम भनिन्छ । यसरी साष्टाङ्ग प्रणाम गर्दा मानवको शरीर भुइँमा झुकेर लठ्ठीजस्तै हुने भएकाले यसलाई साष्टाङ्ग दण्डवत् प्रणाम भनेर प्रयोग गर्ने गरिएको हो । यसरी आठैओटा अङ्ग भुइँमा झुकाएर प्रणाम गर्ने राजा होस् वा जनता जोकसैको पनि अहङ्कार जरैदेखि नष्ट हुँदै जान्छ । हामीमा जबसम्म बडप्पन वा अहङ्कार रहिरहन्छ तबसम्म हामीले वास्तविक रूपमा साष्टाङ्ग दण्डवत् प्रणामको फल प्राप्त गर्न सक्तैनौँ । देवतालाई भन्दा पनि आफूलाई बढ्ता सिँगारेर अनि शरीरभरि गहना लगाएर मन्दिरमा देवताको दर्शन गर्न जानु भनेको आडम्बर प्रदर्शन गर्नु हो र कुनै शृङ्गार नगरिएका र गहना पनि नलगाएका भगवान्का सामु त्यस्ता व्यक्तिहरूले वास्तविक रूपमा साष्टाङ्ग दण्डवत् प्रणाम गर्न सक्तैनन् वा आफ्नो रूप र धनको अहङ्कारलाई झुकाउन सक्तैनन् । जसका कारण त्यस्ता व्यक्तिहरूले गर्ने मन्दिर–दर्शनको भीड बढाउने आडम्बर प्रदर्शनमा मात्र सीमित हुन्छ । तसर्थ देवताका सामु आफूलाई पूर्णतः झुकाउन र अहङ्कारलाई विसर्जन गर्नका लागि शारीरिक रूपमा मात्र होइन मानसिक रूपमा पनि साष्टाङ्ग दण्डवत् प्रणाम गर्नु आवश्यक छ । साष्टाङ्ग दण्डवत् प्रणाम देवतीदेवतालाई, मातापितालाई र सासूससुरालाई गर्नु युक्तिसङ्गत देखिन्छ ।

(च) प्रणाम (ढोग) कसलाई गर्ने ?
चरणस्पर्श गरी झुकेर गरिने अभिवादनलाई प्रणाम (ढोग) भनिन्छ । चरणस्पर्श गर्दा दुवै हातलाई साङ्ली पारेर दायाँ हातले दायाँ खुट्टा र बायाँ हातले बायाँ खुट्टा स्पर्श गरी शिर झुकाएर ढोग गरिन्छ । यसरी प्रणाम गर्दा मान्यजनमा विद्यमान बौद्धिक ऊर्जा तरङ्ग बिजुलीझैँ ढोग गर्ने व्यक्तिका शरीरभरि फैलिन्छ । छोरीज्वाइँ, भान्जाभान्जी, नातिनी आदिलाई चरणस्पर्श गरेर नै ढोग गर्ने प्रचलन नेपाली समाजमा अझैसम्म जीवन्त रहेको छ तर आफूलाई शिक्षित, सहरिया र क्रान्तिकारी ठान्ने कतिपय छोरीज्वाइँ, भान्जाभान्जी र नातिनीहरूले आफूलाई ढोग्न हुँदैन भनेर खुट्टा नै नदिने दुष्प्रचलन पनि क्रमशः बढ्दै जान थालेको छ । जसका कारण नेपाली समाजमा मान्यजनलाई ढोग गर्ने प्रचलन सङ्कटमा पर्दै गएको छ ।

(छ) अभिवादन गर्दा कस्तो फल पाइन्छ ?
अभिवादनशीलस्य नित्यं वृद्धोपसेविनः ।
चत्वारि तस्य वद्र्धन्ते आयुर्विद्यायशोबलम् ।।
(मनुस्मृति २.१२१)
अर्थात् सधैँ वृद्धवृद्धाहरूको सेवा गर्ने र अभिवादन गर्न रुचाउने व्यक्तिले दीर्घायु, विद्या, यश र कीर्तिसमेत प्राप्त गर्दछ । 
हाम्रो वैदिक सनातन पद्धतिमा प्रचलित मुख्यतः चार प्रकारका अभिवादनहरूमध्ये विशेषतः देवीदेवताका लागि ‘साष्टाङ्ग दण्डवत् प्रणाम’, मान्यजनका लागि ‘प्रणाम’, समान स्तरका व्यक्तिका लागि ‘नमस्ते’ वा ‘नमस्कार’ र आफूभन्दा कनिष्ठ व्यक्तिहरूका लागि आशीर्वादका रूपमा ‘भाग्यमानी भए’, ‘जय होस्’, ‘शुभाशिष’ आदि भनेर प्रत्यभिवादन गर्नु उपयुक्त देखिन्छ । 

(सहप्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय)