वीपीको त्यो सार्वजनिक अभिनन्दन...

वीपीको त्यो सार्वजनिक अभिनन्दन...

वीपीले महाप्रयाण गरेको पनि ३८ वर्ष भइसकेछ । समय छिटोछिटो हिँडेकोमा छक्क पर्दै भावुक हृदयले उहाँको सम्झना गर्दछु र हार्दिक श्रद्धाञ्जलि टक्र्याउँछु । 

वीपीले नेपाली जनताको उन्नति र प्रगतिका लागि थोरै सपना देख्नु भएको थियो । सबै नेपालीहरूको एक मानाको बन्दोवस्त भएको सन्तुलित विकास मोडेलको परिकल्पना गर्नुभएको थियो उहाँले । आफूले सरकार चलाउन पाएको अवसरलाई उपयोग गर्दै त्यो सानो सपना साकार पार्ने बाटो खन्ने प्रयास गर्दै हुनुहुन्थ्यो वीपी । सर्वसत्तावादी बादशाह हुने महत्वाकांक्षाले हुट्हुटिएका राजा महेन्द्रले वीपीका त्यो सपना देख्ने आँखा नै फुटाइदिए, किस्सा नै खत्तम भयो । 

महेन्द्रले वीपीसँग खोसेर लिएको प्रजातन्त्र उनका छोरा वीरेन्द्रबाट नेपाली जनताले ३० वर्षपछि फिर्ता त पाए तर त्यो अर्धानो भइसकेको थियो । त्यसमाथि, जन्मले मात्र वीपीका सहोदर, सोच र कर्मले राजा महेन्द्रसँग नजिक जीपीले त्यो अर्धानो भएको प्रजातन्त्रलाई धुजा-धुजा पारेर छोडिदिए । 

यस बीचमा प्रजातन्त्रसँग सत्ता प्राप्तिको गोरू बेचेको साइनोसम्म भएका थरी थरीका कम्युनिस्ट र दक्षिणपन्थी प्रतिगामी तत्वहरूले पनि सत्तासुन्दरीको भोग गरे । एकथरी मानिसको अनुहार भएका उल्लूहरू त अहिले पनि रजगज गरिरहेकै छन् । खेदको कुरो, यिनीहरू कसैले पनि नेपाली जनता र माटोलाई उपयुक्त हुने आर्थिक र विकासको मोडेललाई अघि बढाएनन् । जनताले दिएको म्याण्डेट जनताकै रगत पिउने लाइसेन्स् हुन सक्दैन भन्ने सामान्य नीतिवचनको समेत हेक्का नभएका ब्वाँसाहरू सिंहदरबार पुगेपछि के हुन्छ, हेर्न बाध्य भइएको छ । 

वीपीलाई सबैले बिर्सिएका छन् । विडम्बनाको कुरो, उनकै नाम राखिएको भव्य मुख्यालयमा बसेर राजनीति गरिरहेका उनैले खोलेको पार्टीका नेताहरूले नै उनको विचार र सत्कर्मको सबैभन्दा ठूलो अपमान गरेका छन् । नेपाली कांग्रेसको वर्तमान नेतृवर्ग नै लोकतान्त्रिक संस्कार र कार्यपद्धतिको घातक दुश्मन बनेको देख्नु अगाडि मेरा आँखा किन फुटेनन् भनेर घोत्लिन्छु म घरीघरी । वीपीको आत्मालाई कति उखर्माउलो हुँदो हो !

नितान्त फरक पारिवारिक पृष्ठभूमिबाट आएको मैले फगत सहज विवेक र आत्मचैतन्यका बलमा नेपाली कांग्रेससँग आफूलाई जोडेको हुँ । लोभ-लालच, अपेक्षा, दवाब वा अन्य नकारात्मक तत्वका कारण कांग्रेस बनेको व्यक्ति नभएकाले मेरो आस्था र निष्ठा बढी भरपर्दो छ प्रजातन्त्रका सवालमा । यसलाई लिएर म भ्रम वा भ्रान्तिबाट पूर्णत: मुक्त छु । मलाई आलोचनात्मक चेतका साथ वैयक्तिक स्तरमा प्रजातन्त्रवादी रहिरहन वीपीले लगातार प्रेरित गरिरहनु हुन्छ ।

वीपीप्रतिको अनन्य आस्थाकै कारणले हो, मैले तत्कालीन श्री ५ को सरकारको एउटा जिम्मेवार पदमा कार्यरत हुँदाहुँदै पनि रुग्ण शरीर र किञ्चित निराश मनस्थितिमा रहनु भएका वीपीको सार्वजनिक अभिनन्दन गर्ने कार्यक्रमको संयोजकको जिम्मेवारी लिएको थिएँ र त्यसको सफलतापूर्वक संयोजन गरेको थिएँ । वि. सं. २०३८ सालको वसन्त पञ्चमीका दिन  साहित्यिक पत्रकार संघको ब्यानरमा आयोजित त्यस कार्यक्रमलाई वीपीको साहित्यिक अभिनन्दन नाम दिइएको भए पनि वास्तवमा त्यो वीपीको धेरै वर्षपछि भएको सार्वजनिक अभिनन्दन थियो जुन अन्तिम पनि हुन पुग्यो । त्यस घटनाले जनमत संग्रहपछि बहुदलवादीको आरोपमा धरापमा पारिएको मेरो करियर पूर्णत: ध्वस्त भएको थियो । मैले राजिनामा दिनु परेको थियो । 

मैले अपशोच मानेको होला भन्ने ठान्नु भएको भए त्यो तपाइँको भूल हुनेछ । वीपीको अभिनन्दन कार्यक्रमको संयोजक भएर आफैँले मस्यौदा गरेको अभिनन्दन-पत्र उहाँको हातमा दिएको त्यो क्षण मेरो जीवनको सबैभन्दा गर्विलो क्षण थियो ! त्यसको केही समय पहिले आफ्नै प्रयत्नमा भक्तपुर जिल्ला कार्यालयबाट भर्खरै आममाफी पाएको राजबन्दी माथबरसिंह बस्नेतका नाममा दर्ता गराइदिएको पत्रिका 'पुनर्जागरण' को प्रथम अंकको विमोचन वीपीको हातबाट भएको कार्यक्रममा उपस्थित भई कांग्रेसका तत्कालीन नेतात्रयबाटै स्याबासी पाएको क्षणमा पनि म अत्यन्त खुशी भएको थिएँ ।