कृषि र पर्यटनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको : मुख्यमन्त्री पौडेल

कृषि र पर्यटनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको : मुख्यमन्त्री पौडेल

चितवन : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ का सबै जिल्लामा प्रदेश सरकार देखिने गरी काम भइरहेको बताएका छन् । पश्चिम चितवनको मेघौलीमा बन्ने राइनो पार्कको मंगलबार शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले २१ महिनाको अवधिमा प्रदेश सरकारले हरेक जिल्लामा विकास निर्माणमा उपस्थिति जनाएको बताए ।

उनले कानून बनाउनेदेखि विभिन्न नीतिगत काममा प्रदेश सरकारले केही समय खर्चिएको भए पनि अब भने देखिने गतिमा काम अघि बढेको बताए । कृषि र पर्यटनबाट मुलुकमा सम्वृद्धि आउन सक्ने भएकोले यी दुई बिषयलाई प्रदेश सरकारले पनि प्राथमिकतामा राखेको उनको भनाइ छ ।

पुरानै शैली, ढाँचा, भाषण मात्रैं गर्ने, कुरा गर्ने लगानी नगर्ने मनोरोग जहाँतही देखिएको मुख्यमन्त्री पौडेलले बताए । राइनोपार्कमा ४० फिट लम्वाइ र ३९ फिट चौडाइ भएको गैंडाको प्रतिमा बनाउने तयारी छ । दुई तलामा रहने प्रतिमा पहिलो तलामा पर्यटक सूचना केन्द्र र दोस्रो तलामा संग्राहलय बनाउने योजना रहेको बताए। भरतपुर महानगरपालिका र प्रदेश ३ सरकारको संयुक्त लगानीमा २ करोड ९० लाखको लगातमा गैंडाको प्रतिमा बनाउन लागिएको पर्यटन विज्ञ विश्व सुवेदीले जानकारी दिए ।