दशैं नजिकै आइसकेको थियो । मेरो छटपटाहट भने बढ्दै गइरहेको थियो । अब के गर्ने ? कता जाने ? यो समयको सदुपयोग कसरी गर्ने....? मनभित्र यस्तै प्रश्नहरु उठिरहेका थिए । नियमित जिजीविषाले पिरोलेर बेलाबेलामा नयनबाट झरी पनि परिरहेथ्यो ।
यस्तैमा एक जना बहिनीले भनिन्– 'दिदी ! विपश्यना जानुस् ।'
सम्पर्क कार्यालयको ठेगाना लिएर गएँ तर सिट खाली नभएको जानकारी मिल्यो । अब के गर्ने ? म फेरि रनभुल्लमा परेँ । यत्तिकैमा एक जना भाइले भन्नुभयो– 'दिदी ! इलाम जाने ? त्यहाँ जाने भए मिल्छ ।' निर्णय लिन एक मिनेट पनि लागेन । 'हुन्छ' भनी सबै प्रक्रिया पूरा गरेर फर्किएँ ।
काठमाडौंबाट इलाम जाने समूहमा कसैसँग पनि चिनजान र सम्पर्क थिएन । त्यसैले समूहमा जाने गाडी पनि पाउन सकिएन । सुन्धाराबाट रात्रिबसको टिकट लिएर एक सिट सुरक्षित राखेपछि मन ढुक्क भयो । २०७५ असोज २८ गते आइतबार दुई–चार जोर लुगा झोलामा राखेर इलाम जाने बस चढ्न हिँडियो । दिउँसो २ बजे कोटेश्वरबाट बस आफ्नो गन्तव्यतर्फ लाग्यो । यात्रा सुरु भएसँगै विपश्यनाबारे जानकारी पत्र र आचारसंहिता निकालेर पढ्न मन लाग्यो । विपश्यनाबारे केही जानकारी पढेपछि 'आचार संहिता' पढ्न थालेँ । अत्यन्त उपयोगी तर कठिन साधना भन्ने लेखिएको रहेछ ।
के कठिनाइ होला ? कति कठिन होला ? यस्तै प्रश्न घुमिरह्यो । किनकि 'पञ्चशील' को पालना त नियमित जीवनमा पनि गरी आएझैँ लाग्यो । कठिन ? किन कठिन ? कति कठिन ? आदि इत्यादि प्रश्न र जिज्ञासासँगै अर्को दिन बिहान इलामको फिक्कल, वरबोटे पुगियो । नौलो ठाउँ, एक्लो यात्रा...सोधखोज गर्दै आधा घण्टाको ओरालो झरेपछि 'धम्म सुर्यो विपश्यना ध्यान केन्द्र' पुगियो । त्यहाँ पहिले नै पुगिसक्नुभएका साधकहरुले स्वागत गर्नुभयो । नौलो ठाउँमा एक्लै, पहिलो पटक ध्यान गर्न आएको थाहा पाउँदा अचम्म पनि पर्नुभयो । एक जना दिदीले भन्नुभयो– 'तपाईंमा भएको धर्मको बीजले यहाँसम्म ल्याइपुर्यायो ।'
दशैंको फुलपातीको अघिल्लो दिनको बेलुकीबाट साधना सुरु भयो । 'आर्य मौन' तथा अन्य नियमहरुको पालना सँगै साधनाको सुरुवात भयो । बिहान ४ बजेको जागरणसँगै दैनिकी सुरु भयो । पहिलो दिन प्रातःकालीन ध्यानबाट सुरु भएर राती ९:३० बजेसम्म नियमहरुको पालना गर्दै कौतूहल र उत्सुकताका साथ साधना सम्पन्न भयो । दोस्रो दिन पनि उही नियमको अनुसरणबाट दिनको शुभारम्भ भयो । मलाई अलिअलि गाह्रो भएजस्तो लाग्न थाल्यो । दिउँसो र बेलुकीसम्म अझै गाह्रो भएको हो कि जस्तो लाग्न थाल्यो । तेस्रो दिन पनि कठिनाइ नै महसुस भयो । सोच्न थालेँ, १० दिन कसरी बिताउने होला ? साधनामा भन्दा शरीरमा भएको कष्टतिर ध्यान जान थाल्यो । एक मनले भन्यो, निरन्तरता दिन सकिँदैन कि ! तुरुन्तै अर्को सोचाइ आयो, छोड्ने त कदापि होइन, मनलाई बाँधेर सहनुपर्छ ।
बेलुकी गुरुजीले सोध्नुभयो– 'कस्तो भइरहेछ ?'
मैले भनेँ – 'अलि कष्ट भइरहेछ ।'
'भोलिबाट बिस्तारै ठीक हुनेछ,' – गुरुको आश्वासन ।
मैले सोही आशा राखेँ ।
भोलिपल्टबाट त अझ कडा नियम आयो । ओहो ! अब कसरी गर्ने ? तर सहने प्रयास निरन्तर जारी रह्यो । अनि शारीरिक पीडा बिस्तारै कम हुन थाल्यो । तर मन भने कहिले एकाग्र हुने अनि कहिले भाग्ने क्रम चलिरह्यो ।
मनलाई जति बाँधेर एकाग्र गर्न खोज्यो, उतिउति भागेर दौडन थाल्यो । मन भाग्ने र त्यसलाई पक्रने क्रम चलि नै रह्यो । फरक के हुन थाल्यो भने पहिला मन भागेर चोटपटक लागेर दुर्घटनाको शिकार भएर दुःखी भएर आउँथ्यो तर अब भागे पनि सुरक्षित तरिकाले फर्केर आउन थाल्यो । त्यति मात्रै होइन, सकारात्मक सोच–विचार लिएर फर्कन थाल्यो । यस्तै क्रमले साधनाका दिनहरु बित्दै गए ।
साधनाको छैठौँ दिन र सातौँ दिन बिहानको ध्यानमा अचानक मनभित्रको कालो बादल घनघोर वर्षाका रुपमा नयनबाट वर्षन थाल्यो । रोक्न खोज्दा मनको बादल झन् झन् मडारिएर वर्षन थाल्यो । घन्टौंसम्म निरन्तर झरी परिरह्यो.... परिरह्यो... । पछि बिस्तारै.... झरी थामिदैँ गयो .... । सायद कालो बादलभित्र वर्षौंदेखि रुमल्लिएको वर्षाले निकास पाएर मनको आकाश सफा हुँदै गएछ । अब मन मात्रै होइन, शरीर पनि हलुका र चंगा भएझैँ लाग्न थाल्यो ।
सातौं दिनको प्रभातकालीन साधनापछि बाहिर निस्कँदा इलामका डाँडाहरुमा झलमल्ल घाम लागिसकेको रहेछ । चारैतिर हरिया पहाड अनि तिनमा लगाइएको चिया बगान, सूर्योदय देखिने श्रीअन्तुको डाँडा, डाँडामाथि उदाउँदै गरेको प्रातःकालीन सूर्य, चारैतिरका रुखहरुबाट आइरहेका विभिन्न जातका चराहरुको चिरबिर । शरद् ऋतुको बिहानी पखको हलुका चिसो । तलतिर बगिरहेको खोलाको पानीको कलकल । आहा प्रकृति ! यतिका दिनदेखि देखिरहेका र अनुभव गरिआएका कुरा पनि आज साह्रै फरक ढंगले अनुभव भइरहेझैँ लाग्यो । यति रमणीय र मन र मस्तिष्कलाई शान्ति र सन्तोष दिने अपूर्व क्षणको रसास्वादन गर्दागर्दै बिहानीको खाजा खाने घण्टी लागेको पनि पत्तै भएन ।
यसपछिका दिनहरुमा यति धेरै सकारात्मक सोचहरुको बहाव हुन थाल्यो कि साधनामा मनलाई केन्द्रित गर्दागर्दै पनि बेलाबेलामा मन भागेर सकारात्मक सोचको कोसेली बोकेर आइहाल्ने ।
ओहो ! मनभित्र फाहोरमैला र विकारहरुले अधिकार जमाएर बसेको भएर पो स्वच्छ र स्वस्थ विचारले स्थान नपाएको रहेछ । मनमस्किष्कलाई भित्रैदेखि धोइपखाली सरसफाइ गरेपछि त.....। यति राम्रो मन र मस्तिष्कलाई फोहोरमैला संकलन केन्द्र बनाएपछि सफा विचारले कता स्थान पाओस् त !
दसौं दिनसम्म आइपुग्दा घाम झलमल्ल लागिसकेको थियो । वरिपरिका पहाडमा मात्र नभई मनका अन्तरकुन्तरसम्म पनि । यस्तो लाग्यो, सारा कालो बादल फाटेर वर्षाले सम्पूर्ण फोहोरमैला, विकार, कसिंगर बगाइसक्यो र नयाँ बिहानीले अन्धकारको साम्राज्यको अन्त्य गरिसक्यो ।
अब सर्वत्र सफा र उज्यालो भएर गन्तव्यतर्फ पाइला चाल्नु बाँकी थियो । एघारौँ दिन बिहान साधना र मंगलमैत्रीपछि १० बजे आर्य मौन समाप्त भयो । अब बाह्य जगतको सम्पर्कमा आउने समय भयो । अन्तर्मुखीबाट केही बहिर्मुखी हुनुपर्ने भयो ।
दस दिनसम्म पूर्ण मौन रहँदा आफ्नो संवाद आफैंसँग मात्र गरिन्थ्यो । आफ्नो कुरा आफ्नै अन्तरमनले सुन्ने गर्थ्यो । उत्तर पनि आफैंबाट आउँथ्यो । सल्लाह र सुझाव दिने साथै कहिलेकाहीँ गाली गर्ने वा फकाउने जिम्मेवारी पनि आफ्नै मनले लिन्थ्यो । आर्य मौन अवधि भित्रमा त आफ्नो मन नै सबैभन्दा मिल्ने साथी भइसकेको रहेछ । बल्ल पो आफूले आफूलाई चिनिएछ ।
योभन्दा अघिसम्म बाह्य जगतबाट सल्लाह सुझाव, माया र सान्त्वनाको अपेक्षा गरिन्थ्यो । तर आफ्नो अभिन्न मित्र, सच्चा शुभचिन्तकलाई राम्ररी चिन्न सकिएको रहेनछ । जब आफूले आफूलाई नियाल्न थालियो, जन्म लिएदेखि निरन्तर चलि आएको प्रक्रिया श्वासप्रश्वासलाई आफैंले निरीक्षण र अनुभव गर्न थालियो, तब सम्पूर्ण द्वारहरु क्रमशः खुल्दै गएछन् । आत्म–दर्शनको अनुभूति त बल्ल भएछ । अब त अन्धकार हटिसकेछ, सर्वत्र उज्यालो भैसकेछ । आत्मविश्वासको मजबुत जग तयार भएछ । दृढ निश्चयको पिल्लर खडा भइसकेछ । अब गन्तव्य स्पष्ट भइसकेछ ।
आँखा बन्द गर्दै आफूले आफूलाई नियाली हेर्दै सोचें– के म त्यही व्यक्ति हुँ, जसलाई ससाना चोटले पनि दुखाउँथ्यो । हरेकका वचन बाणले घोच्ने गर्थ्यो । सान्त्वनाका मल्हमपट्टी बाहिर खोज्ने गर्थ्यो । दुखेको घाउ निको पार्ने उपाय कसैले बताइदिए हुन्थ्यो भन्ने अपेक्षा गर्थ्यो ।
बिस्तारै आँखा खोलेर आफूलाई हेरेँ । हो, म व्यक्ति त त्यही नै रहेछु । शरीर र स्वरुप त मेरो त्यही नै रहेछ । तर त्यही पुरानो शरीरभित्र नै एउटा नयाँ जन्म भैसकेको रहेछ । नयाँ सोच र नयाँ जोश लिएर एउटा नौलो व्यक्तित्व ...। पुरानो शरीरबाट पुरानो आत्माले बिदा लिएर नवआत्माले प्रवेश लिएछ । मन अत्यन्त हलुका र आनन्दित भयो । सम्पूर्ण समस्या र दुःखको भारीबाट मुक्त भएको अनुभव भयो ।
बाह्रौँ दिन बिहान आफ्नो ब्यागप्याक लिएर लागे म आफ्नो गन्तव्यतर्फ । सबैले सोध्नुभयो- 'को साथी छ ?'
'म एक्लै हो,' मैले भनेँ ।
'अरु साथीसँग जानुस् न । त्यति टाढा पुग्नुपर्छ ।'
मैले भने– 'म एक्लै आएको हुँ । त्यसैले एक्लै जान्छु । मेरा पाइलाहरु अगाडि बढिसकेका छन् । म यिनलाई कसैका लागि रोक्न वा मोडन चाहन्नँ ।'
यति भन्दै सबैसँग बिदा भएर लागेँ उकालोतर्फ । आफ्नो गन्तव्यतर्फ । आफ्नो मनमस्तिष्क अनि आत्मविश्वास र दृढ निश्चय... यी साथीहरु आफैँसँग थिए । यिनीहरुसँग संवाद गर्दैगर्दै पाइलाहरु इलामेडाँडाको उचाइतर्फ बढिरहे ......क्रमशः ....बढिरहे .....।