इतिहास

भारतको अयोध्या नक्कली हो ?

भारतको अयोध्या नक्कली हो ?

प्राचीन साकेत नगरी आजकाल अयोध्या भनेर चिनिन्छ । बाबरी मस्जिद कट्टर हिन्दू समुदायको शिकार बनेपछि अयोध्या थप चर्चित बन्यो । अदालतको फैसलापछि अयोध्यामा राममन्दिर निर्माण कार्य प्रारम्भ भएको छ । पौराणिक कथा अनुसार अयोध्यालाई रामको जन्मभूमि मानिएको छ । यतिञ्ज्याल चलेको विवाद अयोध्या रामको जन्मभूमि थियो कि थिएन भन्ने होइन । बाबरी मस्जिद बनेको ठाउँमा त्यसपूर्वं राम मन्दिर थियो कि थिएन भन्ने हो । पुरातात्विक प्रमाणले हिन्दू मन्दिर रहेको प्रमाणित गरेन । हिन्दू अतिवादीद्वारा भत्काइनुपूर्व मुगलकालमा बनेको बाबरी मस्जिद खडा थियो । अर्थात् इतिहासले बाबरी मस्जिदको पक्षमा प्रमाण प्रस्तुत गर्थ्यो । तैपनि हिन्दू बाहुल्य रहेको मुलुकको जनभावनालाई हेरेर अदालतले राममन्दिर निर्माणको अनुमति थियो । विवाद सकियो । कथा पनि सकियो । 

'रामको अयोध्या भनेको नेपालको ठोरी हो' भन्ने नेपालका प्रधानमन्त्री ओलीको पछिल्लो भनाइ यतिखेर मिडियाहरुमा चर्चित भएको छ । उटपट्याङ कुरा गर्ने ओलीको पुरानै बानी हो । प्रधानमन्त्रीको कुर्चीमा बसेयता उनले बोलेका विना शिर पुच्छरका कथन र दावीहरुको संकलन गर्ने हो भने महाभारत महाकाव्यकै आकारको अर्को ग्रन्थ तयार हुन्छ । यस पटकको उनको भनाइ पनि कुनै प्रमाणिक सत्यतथ्यका आधारमा आएको होइन । नेपालले कतै ऐतिहासिक पुरातात्विक उत्खनन अध्ययन गरेको वा गर्दै गरेको छ जस्तो लाग्दैन । त्यसैले उनको ठोरी सम्बन्धी दावी नितान्त लहडी कथन हो । 

अचम्म लाग्ने कुरा त के देखिएको छ भने कैयौं मानिसहरुले उनको त्यही लहडी कथनलाई बल पुग्ने गरी आफूले अध्ययन अनुसन्धान गरेको  र भारतको अयोध्या नक्कली हो भनेर दावी गरेको पनि देखिन्छ । त्यसैको आधारमा सक्कली अयोध्या नेपालकै भूभागमा हुनुपर्छ भनेर अनुमान गर्न थालेको देखिन्छ । ज–जस्ले जे जे दावी गरेपनि यतिखेरसम्मको वस्तुसत्यको आधारमा त्यस्तो दावी ‘स्याल हुइयाँ’ भन्दा बढी केही होइन भन्न हिच्किचाउनु पर्दैन । उनीहरुको दावीमा कुनै दम देखिदैन । प्रमाण भनेर अघि सारेका तर्क पनि तथ्यको कसीमा गलत सावित हुन्छन् । 

दाबीको आधार
कपिलवस्तुमा भएको पुरातात्विक उत्खनन पूर्व संसारले गौतम बुद्धको जन्मस्थान लुम्विनी भारतमा पर्छ भनेर मान्थ्यो । नेपालको हो भन्ने प्रमाण नेपालसँग थिएन । पहिलो पटक सन १८९६ मा जर्मन विद्वान एबोलस एन्टन फ्युररले लुम्विनीमा उत्खनन गरेका थिए । सन् १८९९ भारतीय इतिहासविद पूर्णचन्द वनर्जीले गरेको उत्खनन रिपोर्ट भारतीय पुरातत्व सर्वेक्षण प्रतिवेदन– १९०१ मा प्रकाशित भयो । त्यसपछि १९९० मा नेपालका कोषराज आचार्य र बृटिश पुरातत्वविद कनिङघमले लुम्वनीको उत्खनन गरेका थिए । त्यसपछि मात्र लुम्विनी नेपालमा पर्छ भन्ने कुरा प्रमाणित भएको हो । 

यहीँनेर बिर्सन नमिल्ने र हेक्का राख्नै पर्ने विषय के रहेको छ भने लुम्विनीमा जस्तो गरी कुनै दिन ठोरीमा उत्खनन भएछ र पुरातात्विक प्रमाणले रामकथाको सत्य उत्घाटित भएछ भने राम्रै होला । तर बुद्ध कथा इतिहास हो र त्यो इशापूर्व ५-६ सय वर्षपूर्वको भन्ने कुरा प्रमाणित भैसकेको छ । त्यसको श्रेय सम्राट अशोकद्वारा उत्किर्ण गरिएको शिलालेखहरुलाई जान्छ । लुम्विनीको प्रमाणिकताको आधार पनि अशोक स्तम्भ र त्यसमा उत्किर्ण आलेख हो । 

रामकथा इतिहास हो भनेर आजका मितिसम्म कसैले कुनै प्रमाण दिन सकेको छैन । अर्थात् आधुनिक प्रविधि -कार्वन डेटिङ- समेत रामकथाको प्रमाण उपलब्ध गराउन सफल भएको छैन । तथ्यद्वारा प्रमाणित नभैसकेको रामकथालाई इतिहास भनेर रामको अयोध्या नेपालमै थियो भन्नु यतिखेरसम्मका लागि भद्दा प्रहसनभन्दा बढी केही हुन सक्तैन । 

जहाँसम्म ठोरीको ऐतिहासिकताको कुरा हो त्यहाँ हालसम्म पनि प्रत्यक्ष देखिने प्रमाणहरुले बुद्धविहार हो भनेर पुष्टि गर्छन् । बुद्धिष्टहरु तलमाथि (भारत–नेपाल) गर्ने बाटोमा पर्ने विश्रामस्थल हो । केवल वर्तमान अयोध्याबाट रथमा जनकपुर आउजाउ गर्न सम्भव हुदैन भन्ने आधारमा ठोरीलाई अयोध्या मान्ने कुरा युक्तिसंगत ठहर्दैन । न त रामसंग पुष्पक विमान थियो भन्ने कथाले त्यसलाई पुष्टि गर्छ । हालको जनकपुर जनकराजाको राजधानी विदेह हो भन्ने कुरा पनि ऐतिहासिक तथ्यबाट प्रमाणित भएको कुरा होइन । एउटा मान्यता मात्रै हो । भारतमा सरयु नदी भनेर नेपालबाट बगेर भारत छिर्ने कर्णाली अर्थात घागरालाई मानिन्छ । कसै कसैले त प्राचीन सरयु नदी थाइल्याण्डको ‘फरायु’ नदी हो भन्ने मान्यता पनि राखेको देखिन्छ । सरयु नै सरस्वती नदी हो भनेर कसैले कहीँ भनेको छैन । विना प्रमाण त्यसो भन्नु हास्यास्पद कुरा हो । विद्वत समाजमा उल्लु ठहरिने नादानी हो । सरस्वती नदीको नाम ऋगवेदमा परेको छ । ऋग्वेद पाकिस्तानको स्वात उपत्यकामा लेखिएको हो भनेर मानिन्छ । ऋग्वेदमा नदीका २८ नाम परेका छन् । तीमध्ये गङ्गाको मैदानका तीनवटा नदी मात्र समावेश छन् । प्राचीन सरस्वती नदी भनेको हालको इरानमा रहेको हाल्मोन्ड अर्थात हराइति नदी हो भनेर पनि अनुमान गरिन्छ । किनकि भारतवर्षमा पवित्र मानिएको सरस्वती नदीको उपस्थिति र अस्तित्व कतै पनि भेटिएको छैन।     

रामकथाको प्रमाणिकता
रामकथाको श्रोत रामायण हो । भारतमा विभिन्न ११ भाषामा रामायण लेखिएका छन् । र सबै रामायणहरुको कथा एकसमान छैन । भानुभक्त आचार्यको अनुवादित रामायणलाई समावेश गर्ने हो भने रामायणहरुको संख्या एक दर्जन पुग्छ । रामकथा महाभारतमा पनि छ । अन्य पुराणहरुमा पनि छ । जति भाषामा लेखिएको भए पनि रामकथाको श्रोत वाल्मिकि रामायण हो भनेर हिन्दूहरुले दावा गर्छन् । वाल्मिकी रामायणको भाषा संस्कृत छ र लिपि देवनागरी । भारतीय उपमहाद्विपमा १००० हजार वर्षपूर्वसम्म ब्राह्मी, खरोष्टि, रेमाइक र सिनेमेटिक शारदाजस्ता लिपिहरुको प्रयोग भएको देखिन्छ । देवनागरी लिपिको कहीँ कतै अस्तित्व देखिदैन । सन ८७८ एडीको नेपालकै चांगुरानायणमा उत्किर्ण मानदेवको शिलालेखमा भाषा अर्ध संस्कृत (अपरिस्कृत संस्कृत) छ । अर्थात त्यो भाषा पाली हो कि संस्कृत भनेर खुट्याउन गाह्रो पर्छ । र त्यहाँ प्रयोग भएको लिपी ुकुटिलाु हो । जसलाई लिच्छवी लिपि पनि भनिन्छ । 

संस्कृत भाषामा लेखिएका पुस्तक १५ औं शताब्दीपछि मात्र फेला पर्छन् । ऋग्वेदको पहिलो प्रति पनि सन १४६४ को मात्र फेला परेको छ । रामायणमा अनेक पटक 'चैत्य' शब्दको प्रयोग भएको छ । त्यो बुद्ध धर्मसँग सम्बन्धित शब्द हो । अर्थात रामायण लेखिएको समय बुद्धकाल भन्दा पछिको हो । संस्कृत भाषा र देवनागरी लिपिको विकास भएपछिको हो । किनकि रामायण छापाखानाबाट प्रथमपटक प्रकाशित गर्दा फेला परेको रामायणको पाण्डुलिपी परिस्कृत देवनागरी लिपी र शुद्ध संस्कृत भाषामा लेखिएको थियो भनिन्छ । उक्त प्रति गोरखपुरको कल्याण प्रकाशनमा सुरक्षित छ । 

संस्कृत भाषाको प्राचीनता
(क).देवनागरी लिपीमा प्रारम्भमा त्ररक्षरञ जस्ता अक्षरहरु देखिदैनन । तेश्रो शताब्दीपछि मात्र ती अक्षरहरु समावेश भएको देखिन्छ । त्यसैले रामायण पुरानो लिखत हो भने रामका भाई 'लक्ष्मण' कसरी लेखियो भन्ने प्रश्न उठ्छ । 

(ख) अयोध्या भन्ने शब्द इतिहासमा ५०० वर्षयता मात्रै लेखिएको देखिन्छ । त्यसपूर्वको इतिहासमा कहीँ कतै अयोध्याको उल्लेख छैन । 

(ग) श्रीलङ्गा भन्ने नाम सन १९७२ मा प्रथमपटक दिइएको हो । त्यसपूर्व ‘सिलोन’ भनिन्थ्यो र त्यसभन्दा अगाडि ‘सिंहलद्विप’ भनिन्थ्यो । हजारौं लाखौं वर्ष पहिले लेखिएको रामायणमा कसरी बिसौं शताब्दीको नाम लङ्का लेखियो ?

(घ) हिन्दु धर्मग्रन्थहरुमा उल्लेख भएका स्थान र पात्रहरुको नाम भारतमा भन्दा बढी दक्षिणपूर्वी एशियामा प्रयोग हुने गरेको प्रमाण मिल्छ । संस्कृत भाषाका शब्दहरु पनि त्यताको भाषाहरुमा अत्यधिक ९७०० प्रतिशतसम्म समावेश भएका पाइन्छ । कम्वोडिया, थाइल्याण्ड, इन्डोनेशिया आदि देशहरुमा विष्णुलोक, अयोध्या, स्वर्गलोक, ब्रह्मलोक जस्ता ठाउँहरु पाइने मात्र होइन हिन्दू देवी देवताको असंख्य मुर्तिहरु भेटिन्छन् । रामायण महाभारतसँग सम्वन्धित घटना झल्कने पर्खाल मुर्ति र चित्रहरु पनि भेटिन्छन् ।

(ङ) रामशागर र रावेन वंश प्राचीन पर्सिया (इरान) भेटिएका छन् । समाथिपिकेशका दश पुस्ताका मानव अवशेष पर्सियाबाट लण्डन म्युजियममा पुर्याइएका छन् । 

युगको कल्पना
हिन्दू धर्मशास्त्रहरुले चार युगको कल्पना गरेका छन् । रामकथा दोश्रो अर्थात त्रेतायुगको कथा हो भन्ने मान्यता छ । हिन्दू मान्यतामा द्वापर नामको एउटै युगको समयावधि ८ लाख वर्ष हो भनेर मानिएको छ । कलिको पनि साढे पाँच हजार वर्ष बित्यो भनिन्छ  । अर्थात रामको कथा कम्तिमा पनि ९ लाख वर्षपूर्वको हुनुपर्छ भनेर मान्नु पर्यो । पुरातात्विक अनुसन्धान प्रमाणले यतिखेर संसारमा अस्तित्वमा रहेको मानव जाति 'होमो सेपियन्स' हो भनेर प्रमाणित गरिएको छ । होमो सेपियन्सको सबभन्दा पुरानो जीवाष्म ३ लाख वर्षसम्मको मात्र भेटिएको छ । त्यो पनि अपूर्ण मानव अवस्थाको । त्यसैले राम कथा ९ लाख वर्ष पूर्वको भन्ने कुरा नै मिथक हो ।  विज्ञान र इतिहास प्रमाणले त्यसको पुष्टि गर्दैन । 

रामकथाको वैज्ञानिक अनुसन्धान
आजसम्मको मानव ज्ञान, अनुसन्धान र अध्ययनले रामकथा इतिहास होइन भनेर प्रमाणित गरेको छ । रामकथाको श्रोत रामायणादि पुराण कथाहरु हुन् । ती कथाहरुमा रामको जन्मभूमि र कर्म भूमिको विसद वर्णन गरिएको छ । अयोध्या, विदेह, कोशल, किष्किन्धिा, लङ्का, पञ्चवटी, नन्दी ग्राम आदि । यतिखेरसम्म पनि तीमध्ये अधिकांश ठाउँहरु अस्तित्वमा छन् । रामकथा इतिहास हो कि होइन भन्ने बहस भारतीय विद्वत समाजमा लामो समयदेखि चल्दै आएको थियो । त्यही विवादको निक्र्योल गर्नका लागि 'इन्डियन इन्स्टिच्युट अफ एडभान्स स्टडिज् अफ सिमला' नामको संस्थाका निर्देशक बीबी लालको नेतृत्वमा 'आर्कलोजिकिल सर्भे अफ इन्डिया' को नामको संस्थाको समेत संलग्नता र सहभागितामा ती ठाउँहरुको सात वर्ष खर्चेर उत्खनन अध्ययन गरियो । ती ठाउँहरुको वैज्ञानिक उत्खनन अनुसन्धानबाट रामकथा सम्वन्धित एउटा पनि प्रमाण प्राप्त गर्न नसकिएको रिपोर्ट आयो । त्यही आधारमा भारतको उच्च अदालतले रामायणलाई विशुद्ध साहित्यिक कृति मान्यो । काल्पनिक कथा मान्यो  र भारतको केन्द्रिय शिक्षा विभागले समेत स्कूल र कलेजको इतिहासको पाठ्यक्रमबाट रामायण र महाभारतलाई हटायो । 

भारतीय अनुसन्धानले रामकथालाई असत्य सावित गरिदिएको छ । अयोध्याको रामजन्मभूमिको विवाद र राम लल्लाको पक्षमा आएको अदालतको फैसला विशुद्ध धार्मिक थियो । १२र१४ औं शताब्दीमा बाबरी मस्जिद बनेको कुरा ऐतिहासिक तथ्य थियो । उक्त स्थानको उत्खननमा फेला परेको पुरातात्विक वस्तुले बुद्ध संरचना रहेको प्रमाणित गरिदिएको थियो । 

रामकथाको ऐतिहासिकता प्रमाणित गर्न भारत असफल भएको छ । त्यसको मतलब राम नेपालका थिए भनेर दाबी गर्ने कुरा एउटा हो, पुष्टि गर्ने कुरा अर्को । जुन जुन तथ्य र प्रमाणहरुले रामकथालाई इतिहास होइन भनेर प्रमाणित गर्यो, तिनै कुराहरु हाम्रा सामु पनि पहाड बनेर उभिने छन् । रामकथाको प्रमाणिकता सावित गर्न सकिने सम्भावना शून्य बराबर छ । एउटा नदी, एउटा जङ्गल, कथित आश्रम, एउटा स्थानको नामको भरमा रामकथाको इतिहास प्रमाणित हुँदैन । व्यर्थको कसरत नगरेकै राम्रो । अर्थ नराख्ने कथन सार्वजनिक गर्नु नादानी सावित हुनेछ भन्नलाई धकाउनुपर्छ जस्तो लाग्दैन ।