आमाको नामबाट नपाएको त्यो नागरिकता

आमाको नामबाट नपाएको त्यो नागरिकता

९ वर्षअघि काठमान्डौको एउटा बोर्डिङ्ग स्कुलबाट एसएलसी पास गरे। त्यो समयमा एसएलसी उतिंण गरिसकेपछि कलेज भर्ना हुने र सरकारी कागजात बनाउने फेशन जस्तै थियो मलाई  चाहि फेशनले भन्दा पनि, उमेर र आवश्यकताले नागरिकताको खाँचो पर्‍यो।

मेरो इच्छा र आवश्यकता पुरा गर्न आमा हिडेर चाबहिलबाट बानेश्वर सम्म  एउटा प्राइभेट स्कुलमा पढौंन जान्थिन, त्यति बेलाको प्राइभेट स्कुलको तलब झन्डै झन्डै ७ हजार चानचुन हुन्थियो अनि काममा नगएको दिनको तलब पनि काटीन्थियो त्यहि भएर आमाको तलब काटिनुको सट्टा म आफै ओडा कार्यालय गएर नागरिकत्ता बनाउन चाहिने कागजपत्र र प्रक्रिया बुझे।  

 धेरै वर्ष अगाडीनै बुबा र बुबाको परिवारले गरेको घरेलु हिंसा सहन नसकेर म र आमा त्यहि घरमा छुट्टै बस्थ्यौ । मैले ४ चोटि सम्म जन्म मात्र दिएका बाबुलाइ नागरिकता बनाउनको लागि गुहारे तर उनको इगो, आमा प्रतिको दूश्मनि र मैले दिएको आमालाइ स्पोर्टको कारणले उनले बनाउदिन भनेन्न तर मेरो कुरालाइ  इग्नोर गरिरहे र कहिले नेपालगंज त कहिले पोखरा भनेर टारिरहे, म सँग समय थिएन छात्रवृति फर्म भर्न मात्र ४ दिन बाँकी थियो। 

पर्सिपल्ट जन्म दर्ता बाहेकका सबै कागजपत्र मिलाएर आमालाइ एकदिनको छुट्टी लिन लगाए अनि हामी आमा छोरा नगरिकत्ताको सिफारिस लिन पहिला ७ नं ओडा कार्यालय गयौं। सिफारिसमा फोटो टाँस्नुपर्छ भनेर ओडा कार्यालय अगाडीको स्टुडियोमा फोटो  खिचाएँ। संविधानले आमाको नामबाट पनि नागरिकता पाउन सक्ने व्यवस्था गर्यो भन्ने हल्लाह पनि थियो त्यहि भएर पनि हामि आमा छोरा, तेस्रो मान्छेलाइ कुरेर बसेनौ।  

वडा कार्यालयमा बडाल थर गरेका एकजना चिनेका छिमेकि थिए उनले मेरी आमाले गरेको दुख र घरेलु हिँसा प्रतक्क्ष रुपले थाहा पाउने मध्यका थिए।  उनि  भएको कारणले मलाई सिफारिस पाउन त्यति गाह्रो भएन किनकि उनि सक्षिको रुपमा अगाडी बस्दिए उनि कार्यालयको अलि बिसवासिलो पात्र भएका कारणले गर्दा सचिबले पनि केहि नसोधी सिफारिसमा सहि गर्दिए,  सिफारिस गर्दै गर्दा उनले भनिन 'मैले त गर्दिए हेर्नु बहिनि अब सिडियो कार्यालयलके के गर्छ' ।

चाबहिलबाट गाडि चडेर ११ बजे तिर बबरमहल सिडियो अफिस पुगियो। नागरिकता, राहदानी, बनाउनेको लाम ठुलैनै थियो । हामि पनि त्यहि लामसंगै जोडियौ, लगभग ४५ मिनेट पछि झ्याल नम्बर २ मा हाम्रो पालो आयो, वडाले पठाएको सिफारिस एसएलसी परिक्षाको मार्कसिट, सर्टिफिकेट र बाबु र आमाको नागरिक्त्ताको फोटोकपी  झ्यालको दुलाबाट पेश गर्यौ। उता बाट ठाडो प्रश्न आयो 'बाउ खोइ त', मैले उत्तर दिए 'बुवा छैन् आमा मात्र छिन्' अनि फेरी उता बाट उस्तै च्याठेको स्वरमा उनि भन्छन 'बुवा नभई त नागरिकता बन्दैन नि' मैले आमा तिर हेरे आमाले त्यहाँका अधिकारीलाई भनिन 'म छु त', आमा किन चाहियो बुवानै, मेरै नाम बाट बनाइदिनु न त भन्दा पनि ति अधिकारीले मानेन 'कि त तपाइको श्रीमान चाहियो, कि त बिहे दर्ता हुनु पर्यो नभए हुदैन'भनेर उनि उफ्रिए । आमाले यो हेर्नु त भनेर एसएलसीको मार्कसिट, सर्टिफिकेट जहाँ बुवाको नाम र आमाको नाम दुवै देखाउदा पनि उनले प्रमाण नपुगेको र आमाबाट अझै पनि नागरिकता पाउने नियम लागु नभएको बताए।  हामीले धेरै बिन्ति गरेपछि उनले आफु बाट चाही नहुने तर माथिलो अधिकारिले केहि सहयोग गर्न सक्छन कि भनेर कोठा नम्बर ५मा पठाइदिए। 

निराश हुदै हामी आमा छोरा कोठा नम्बर ५का ति अधिकारि कहाँ पुग्यौ । उनको पनि भनाइ त्यहिनै थियो बुवा नआई नागरिक्त्ता बन्दैन, तर उनले म फोन चाही गर्दिन सक्छु तपाइको श्रीमानलार्इ छोराको नागरिकता बनाउन आउनु भनेर भने । अलि हल्का भाको महशुस भयो ।  उनले नाम र फोन नम्बर मागे, हामीले दियौ उनि झस्किए किनकि त्यति बेला कांग्रेसको सरकार थियो र मेरा नाम मात्रका बुवा त्यो समय नाम चलेका नेता र सरकारी पदमा थिए । तर उनले नमस्कारै गरेर भए नि हाम्रो पिडा राख्दिए । उता बाट उनले एउटा मिति तोकिदिए अनि हामि घर फर्कियौ ।                

त्यसको २ दिन पछि बिना कुनै रोकटोक १ घण्टामै म नेपाली नागरिक भए । मेरो हातमा वंशजको नागरिकता पर्यो, जुन म चाहदिन थिए।  मलाई जसले माया गर्थियो, जसले पालेर सक्षम बनायो मलाई उसको नाम मेरो नागरिक्त्तामा चाहिएको थियो, जसलाई एउटा जाबो नागरिक्त्ता बनाउनको लागि मैले ४ चोटी सम्म गुहार्नु परेको थियो अन्त म स्वार्थी भए र मेरो नाम मात्रको बाबुले त्यो जंग जित्यो। समयमै नागरिकता प्राप्त गर्न नसक्दा मैले र मेरी आमाले भोग्नुपर्ने दुख र पीडा त बयान गरि साध्य छैन भने नागरिकता नै नपाउनेहरुले भोग्नु पर्ने दुख त कति होलान कल्पना गर्नै सकिदैन। 

मेरी आमाले मलाइ जन्माउन र हुर्काउन धेरैनै संघर्ष  गरिन तर विडम्वना उनले त्यसरी जन्माएर हुर्काएको मलाई  आफ्नो पहिचान दिन पाइन्न। हाम्रो संबिधानले आमाको नामबाट सजिलै नागारिकत्ता वा पहिचान नदिएर लैंगिक असमानता मात्र  सिर्जना गरेको छैन, मेरो जस्ता आमाको  मर्म र संघर्षलाई पनि अपमान गरेको छ।  

नेपालको कानुनले सन्तानले चाहे अनुसार बुवा वा आमाको नामबाट नागरिकता पाउने व्यवस्था हुनुपर्दछ त्यति नभए सम्म यो असमनता कहिले हट्दैन । मलाई लाग्छ बुवाको ठेगान नलागेका सन्तानले मात्र आमाको नामबाट नागरिकता पाउने व्यवस्था बनेर हुँदैन। सम्बन्ध बिच्छेद भएका, बिहे पछि श्रीमानको मृत्यु भएका, र बिहे नगरी आमा भएका छोराछोरीले पनि आमाको नामबाट नागरिकता पाउनु पर्दछ।    

महिलाको नागरिकता मात्र उसको पहिचान बुझाउने माध्यम नहोस, जसरि पुरुसको नागरिकताको महत्व हुन्छ त्यसरीनै महत्वमा ल्याईयोस । छोराछोरीले आफ्नो खुसिले चाहे अनुसार आमा या त बुवाको नाम आफ्नो पहिचान लिन सक्नुपर्यो। कानुनले कति माथि पुर्याछ कि पुरुषलाइ उ बिना त् एउटी आमाले आफुले जन्माएको, हुर्काएको छोरा वा छोरीको एउटा कागजको टुक्रो नागरिकता नि दिन सकिन्न।   
  
मेरो नागरिकतामा कहिँ कतै मेरी आमाको नाम छैन, आफ्नो जिम्मेवारी बाट पर भागेका मेरा नाम मात्रका बुवाको नाम ठुलो अक्षरमा सजिएको छ, धिक्कार मेरो नेपालको संबिधानलाइ, धिक्कार मेरो नेपालको कानुनलाइ । तर अब बन्ने कानुनले महिलाले आफुले जन्माएको सन्तानलाइ आफ्नो पहिचान खुलेर सरकारी कागजमा दिन पाउनु पर्यो। 

त्यस्तो कानुन ल्याउनु पर्यो जहाँ अब जन्मिने मेरो सन्तानको नागरिकतामा बकाइदा  मेरी  श्रीमतीले आफ्नो नाम र पहिचान दिन पाउनु पर्यो ।  म नहुदा पनि मेरो सन्तानले बुवाको कमिको महशुस नगरुन । मैले जस्तो आँखा भरि आसु पारेर 'तैले नागरकिता पाउदिनस भन्दा' मेरी आमाको अनुहार हेर्न नपरोस।