संस्कार चिन्तन

जन्मदिन कसरी मनाउने ?

जन्मदिन कसरी मनाउने ?

वर्तमान समयमा धेरैजसो नेपालीले आफू जन्मिएको मितिका दिन बर्थ डे मनाउने गरेका छन् । सामाजिक सञ्जाल फेसबुकले पनि बर्थ डे मनाउन सबैलाई जन्मदिनको सूचना दिन्छ । कलिला बालबच्चाहरूदेखि ८०-९० वर्ष पुगेका हजुरबुबा हजुरआमाहरू पनि स्वतः स्फूर्त रूपमा होस् वा छरछिमेक र परिवारका सदस्यको करकापमा होस् बर्थ डे मनाउन अग्रसर भएको देखिन्छ । बर्थ डेका दिन जसको जन्मदिन हो उसले सोलीजस्तो आकारको चुच्चे टोपी लगाउनैपर्ने, एकैछिन मात्र उज्यालो दिने पटकाजस्तो झिलझिले बत्ती बाल्नैपर्ने, ह्याप्पी बर्थ डेसहित आफ्नो नाम लेखिएको केक काट्नैपर्ने, जुठाचोखाको ख्याल नै नगरीकन काटिएको केक खानैपर्ने, ख्वाउनैपर्ने र त्यही जुठो केक गालामा, चिउँडामा अनि निधारमा समेत दलिदिनैपर्ने प्रचलन बढ्दै गएको पाइन्छ ।

अधिकांश हिन्दु र बौद्ध धर्मावलम्बीहरू रहेको नेपालमा यस किसिमको पाश्चात्य प्रचलन भित्रिएको धेरै वर्ष भएको छैन तर धेरैजसो हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूले पनि यसकै अनुसरण गर्दै आएका छन् । हाम्रा पूर्वजहरूले कुनै शास्त्रमा यसरी बर्थ डे मनाउनुपर्छ भनेर कहीँकतै उल्लेख गरेको भेटिँदैन र नेपाली शब्दकोशहरूले पनि यस किसिमको बर्थ डेमा प्रयोग हुने सामग्रीलाई बताउने शब्दहरूको उल्लेख गरेको पाइँदैन । हाम्रो हिन्दु धर्म परम्परामा कसरी जन्मोत्सव मनाइन्छ रु भन्ने बारेमा हाम्रा आमाबुबाहरूले हामीलाई प्रशिक्षित नगरिदिएका कारण हामी र हाम्रा सन्ततिहरू यसरी आयातीत पाश्चात्य संस्कृतिप्रति अन्धाधुन्ध दिन प्रतिदिन आकृष्ट हुँदै हाम्रो परम्पराबाट विमुख हुँदै गएका हौँ ।

हाम्रो हिन्दु धर्म र संस्कृतिअनुसार जन्ममितिका आधारमा रातमा जन्मोत्सव मनाइँदैन र जन्मतिथिका आधारमा बिहानै जन्मोत्सव मनाउने प्रचलन रहेको छ । यसरी जन्मोत्सव मनाउँदा सूर्योदय जन्मतिथिमा भएको हुनुपर्छ । चन्द्रमाले गर्ने वर्षको परिक्रमाका आधारमा तिथि घटबढ हुने भएकाले प्रायः सबैजसो वर्षमा एउटै मितिका दिन जन्मोत्सव मनाउने अवसर मिल्दैन । आफू जन्मिएको मितिका दिन कुन तिथि परेको थियो भनेर चिनामा उल्लेख गरिएको हुन्छ र चिना नबनाएका व्यक्तिले पनि आफू जन्मेको मितिका आधारमा आफू कुन तिथिमा जन्मिएको रहेछु भनेर पत्ता लगाउन सक्छन् । त्यसको स्मरण भएपछि प्रत्येक वर्ष पञ्चाङ्ग पात्रो हेरेर आफ्नो जन्मोत्सव कुन मितिमा परेको रहेछ भनेर पत्ता लगाउन सकिन्छ ।

व्रतबन्ध हुनुभन्दा पहिला बालबच्चाको जन्मोत्सव पूजा तिनका आमाबुबाले गरिदिनुपर्छ भने व्रतबन्ध भएपछि स्वयं जन्मोत्सव पूजा गर्न अग्रसर हुनुपर्छ । जन्मोत्सवका दिन नङ, दाह्री र कपाल काट्नु हुँदैन । त्यसैगरी तातोपानीले नुहाउन, सम्भोग गर्न, अध्ययन गर्न, मासु खान, झगडा गर्न र हिंसा वा काटमार गर्न पनि निषिद्ध मानिएको छ । जन्मोत्सवका दिन यथासम्भव नयाँ लुगा लगाएर पूजा गर्न बस्नुपर्छ ।

दीर्घायु, ऐश्वर्य आदिको अभिवृद्धिको कामनाले दियो, कलश र गणेशको पूजा गरी मार्कण्डेय आदि अष्टचिरञ्जीवी र षष्ठिका देवीको समेत पूजा गर्छु भनेर सङ्कल्प लिनुपर्छ । त्यसपछि क्रमशः दियो, कलश र गणेशको पूजा गरिसकेर तामाको थालीमा वा दुनामा अष्टदल बनाई पूर्वदेखि ईशान दिशासम्म दायाँतर्पmबाट क्रमशः मार्कण्डेय आदिको पूजा गर्नुपर्छ । त्यस क्रममा पूर्वमा मार्कण्डेय, आग्नेयमा व्यास, दक्षिणमा परशुराम, नैऋत्यमा द्रोणी, पश्चिममा कृपाचार्य, वायव्यमा बलि, उत्तरमा हनुमान्, ईशानमा विभीषण र बीचमा षष्ठिका देवीको यथाशक्य पूजा गरिन्छ ।

अष्टचिरञ्जीवीको पूजा गरिसकेपछि सोही थालीमा वा दुनामा ॐ कुलदेवताय नमः, ॐ जन्मनक्षत्राय नमः, ॐ जन्मतिथये नमः, ॐ जन्मवाराय नमः, ॐ जन्मराशये नमः, ॐ जन्मलग्नाय नमः भनेर पूजा गरिन्छ । त्यसपछि ॐ षष्ठिकायै नमः भनेर षष्ठिका देवीको पूजा गर्नुपर्छ । पहेँलो पोटली (धजा) हातमा बाँधेर मार्कण्डेय मुनिको प्रार्थना गरिन्छ । अन्तमा आफ्नो आयुको वृद्धिका लागि तिल, सख्खर आदि मिसिएको दूध पिउनुपर्छ र देवताको विसर्जन, अभिषेक र कर्मको समाप्त गरी ब्राह्मण तथा कन्याहरूलाई दक्षिणा दिएपछि सङ्क्षेपमा जन्मोत्सवको पूजा समाप्त हुन्छ ।

‘त्वं जीव शरदां शतम्’ अर्थात् तिमी सयवर्षसम्म बाँच भनेर जन्मोत्सव पूजा गर्ने व्यक्तिलाई टीका लगाएर आशीर्वाद दिइन्छ तर बर्थ डेका नाममा उपहारहरू दिने प्रचलन भने जन्मोत्सवमा गरिँदैन ।

उपस्थित सबैलाई सम्भव भएसम्म प्रसादका रूपमा सिङ्गो फल दिनु राम्रो हुन्छ भने जतिऔँ जन्मोत्सव हो, त्यतिवटै दियो बालेर जन्मोत्सव स्थललाई उज्यालो बनाउन सकिन्छ । क्रिस्चियन चुच्चे टोपीको सट्टा नेपाली ढाकाटोपी लगाएर मान्यजनबाट आशीर्वाद थाप्न सकिन्छ ।

नजानेर वा नबुझेर लहैलहैमा बर्थ डे मनाउनुभन्दा जानेबुझेर आफ्नै शास्त्रीय परम्पराअनुसार जन्मोत्सव मनाउनु राम्रो हुन्छ । राक्षस सक्रिय हुने अन्धकारमय रातको १२ बजेको समयमा निद्रा बिगारेर बर्थ डेको शुभकामनाका नाममा ‘विस’ गर्नुभन्दा आरोग्य वा स्वस्थताका प्रतीक सूर्यले संसारलाई उज्यालो बनाइरहेको बिहानीका समयमा जन्मोत्सवको शुभकामना आदानप्रदान गरी हिन्दु धर्म र संस्कृतिको संरक्षण गर्नुमा नै हामीले आफ्नो अस्तित्व भेट्न सक्नेछौँ ।

(सहप्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय)