वर्तमानमा हाम्रा दिनचर्याहरू बदलिँदै गएका छन् र बदलिएका तिनै दिनचर्याहरूले हामीहरूलाई अस्वस्थ र अशान्त पनि बनाउँदै गएका छन् । हाम्रा ऋषिमुनिहरूले सूर्योदय हुनुभन्दा पहिल्यै रातको अन्तिम प्रहर अर्थात् ब्रह्ममुहूर्तमा उठ्न निर्देशन दिएका थिए । तर हामीहरूमध्ये धेरैले वर्तमानमा सूर्योदय भएको धेरै समयसम्म पनि निद्राबाट जाग्ने जाँगर देखाउन सकेका छैनौँ । सधैँ नुहाउन र सन्ध्यावन्दन गर्न पनि हामीहरूमध्ये धेरैले रूढिवादी परम्परा भनेर तिनलाई पन्छाउँदै गएका छौँ । ननुहाईकन खानु हुँदैन भनेर हाम्रा पूर्वजहरूले हामीलाई किन निर्देशन दिए होलान् भन्ने बारेमा सोच्ने फुर्सदसमेत हामीहरूले निकाल्नै सकेका छैनौँ ।
व्रतबन्ध नगरेका व्यक्तिले ननुहाईकन खाए हुन्छ भन्ने मान्यता अँगाल्दै आएको समाजमा मैले आफ्नो बाल्यकाल बिताएँ । त्यतिबेला अहिले जस्तो प्रत्येक घरमा शौचालयहरू थिएनन् र व्रतबन्ध नगर्दासम्म खुला क्षेत्रमा दिसा जाँदा पानीको प्रयोग गर्नुपर्छ भन्ने अनिवार्य पनि थिएन । व्रतबन्ध र विवाह भइसकेका आफ्ना मान्यजनहरूले लोहोटामा पानी लिएर दिसा जाने गरेको र एकलोहोटा पानीले नुहाउने गरेको पनि मैले बाल्यकालमा देख्तै आएको थिएँ । त्यही एकलोहोटा पानी पनि शरीरभरि नपरेर भुइँमा पोखिएको हुन्थ्यो भने जनैलाई सुकिलो देख्न निकै मुस्किल पथ्र्यो । गाउँघरमा खानेपानीको न्यूनतम व्यवस्था नभएका समयमा त्यसरी नुहाउनुपर्ने एउटा बाध्यता थियो तर त्यही बाध्यतालाई देखासिकी परम्परा ठानेर गाउँघरमा अझै पनि एकलोहोटा पानीले स्नान गर्ने व्यक्तिहरू भेट्टाउन सकिन्छ । जनै र शरीर सुकिलो देख्न नपाए पनि एकलोहोटा पानीले दिनहुँ नुहाउने हाम्रा पूर्वजहरू वर्तमानका तुलनामा निकै स्वस्थ नै थिए ।
व्रतबन्ध गरेको दुईहप्तापछि म संस्कृत पढ्न ललितपुरको पुरानो शान्तभवनमा सञ्चालित तत्कालीन महर्षिक वेदविज्ञान विद्यापीठमा पुगेँ । त्यहाँ पुग्नुभन्दा अघि मैले बिहान दिनदिनै नुहाएँ कि नुहाइनँ भन्ने कुरा मलाई अहिले सम्झना छैन तर संस्कृत पढ्न थालेदेखि हालसम्म पनि मैले बिहान दिनदिनै नुहाउन छाडेको छैन । जस्तोसुकै जाडो याममा पनि बिहान ४ बजे चिसो पानीले ननुहाएसम्म मेरो शरीर तात्दै तात्दैन । दिनदिनै किन नुहाउनुपर्छ ? भन्ने कुरा नबुझीकन भए पनि मैले बाल्यकालदेखि नै नित्यस्नानलाई जीवनको एउटा अभिन्न संस्कारका रूपमा अँगाल्दै आएको छु । यसले मलाई कुनै किसिमको घाटा भएको छैन र यसले मेरो जीवनमा नाफैनाफा कमाइरहेको छ । कहीँकतै पाहुना भएर जानुपरेका बेलामा वा पानीको अभाव भएको राजधानीजस्ता ठाउँमा जाँदा मलाई खानाभन्दा नुहाउने भोक बढ्ता जाग्छ र राम्रोसँग स्नानको भोक तृप्त नहुने ठाउँमा कहिल्यै जानै नपरे हुन्थ्यो जस्तो लाग्छ ।
हिन्दु संस्कृतिमा सबैजसो सामाजिक र धार्मिक कार्यहरूमा स्नानलाई एउटा अनिवार्य अङ्ग बनाइएको छ । स्नान नगरीकन कुनै पनि कार्यको आरम्भ हुँदैन । बिहान दिनदिनै नुहाउनाले पछिल्लो २४ घण्टामा बाह्य शरीरमा जम्मा भएका पसिना र मयलहरू पखालिन्छन् । जन्मँदा बित्तिकै बच्चालाई नुहाइदिने र मृत्युपछि पनि चितामा चढाउनुभन्दा अघि शवलाई एकपटक स्नान गराएर मात्र मानव शरीरलाई बिदाइ गरिन्छ । त्यसैले हिन्दु संस्कृतिमा जन्मदेखि मृत्युसम्म स्नानको विशेष महत्त्व छ ।
आइतबारका दिन, श्राद्धका दिन, सङ्क्रान्तिका दिन, ग्रहण लागेका दिन, तीर्थमा, उपवास बस्ने दिन र आशौच परेका बेलामा पनि तातो पानीले नुहाउन निषेध गरिएको छ (शिवपुराण २.१.१३.११-१२) । त्यसैगरी जन्मदिनका दिन पनि तातो पानीले नुहाउन हुँदैन (वार्षिक व्रतरत्नावली, पृष्ठ १५८) आजकल धेरैजसोले वाथरुममा नुहाउँदा कसैले देख्तैनन् भनेर निर्वस्त्र स्नान गर्ने गर्दछन् । वास्तवमा शास्त्रीय दृष्टिले त्यसरी निर्वस्त्र स्नान गर्न पनि निषेध गरिएको छ :
न नग्नः कर्हिचित् स्नायान्न निशायां कदाचन ।
स्नात्वा च नावमृज्येत गात्राणि सुविचक्षणः ।।
(महाभारत १३.१०४.५१)
अर्थात् विद्वान् व्यक्तिले कहिल्यै पनि नाङ्गै भएर स्नान गर्न हुँदैन । रातमा समेत स्नान गर्न हुँदैन । स्नान गरिसकेपछि अङ्गहरुमा तेल आदिले मालिस गर्न पनि हुँदैन । स्नान गरिसकेपछि चिसो कपडा पहिरिनु हुँदैन ।
‘नित्यं स्नात्वा शुचिः कुर्याद् देवर्षिपितृतर्पणम्’ (मनुस्मृति २.१७६)अर्थात् प्रतिदिन नुहाएर पवित्र भई देवताहरू, पितृहरू र ऋषिहरूको पूजा तथा तर्पण गर्नुपर्छ भन्ने कुरा धर्मशास्त्री मनुले बताएका छन् । ‘नैर्मल्यं भावशुद्धिश्च विना स्नानं न युज्यते’ (भविष्यपुराण ४.१२३.१)अर्थात् स्नानविना शारीरिक पवित्रता र विचारको शुद्धि पनि हुँदैन । स्नान नगरीकन सन्ध्यावन्दन गर्नु हुँदैन भने नित्यकर्मका रूपमा स्नान, सन्ध्या र दैनिक पूजा नगरीकन नैमित्तिक गङ्गा स्नान गर्न पनि हुँदैन तर कतिपय व्यक्तिले कुनै पर्वविशेषमा घरमा ननुहाईकन एकैचोटि गङ्गास्नान गर्न जाने गर्दछन् । त्यस्ता व्यक्तिलाई गङ्गास्नानको फल प्राप्त हुँदैन । दैनिक नित्यकर्मपछि गङ्गाको दर्शन गर्दा बित्तिकै मोक्ष प्राप्त हुने र गङ्गास्नान गर्दा त्यसको फल अद्वितीय हुन्छ भन्ने कुरा पनि हाम्रा वैदिक सूक्तहरूमा उल्लेख भएको पाइन्छ स् ‘गङ्गे त्वद्दर्शनान्मुक्तिर्न जाने स्नानजं फलम् ।’
सधैँ नुहाउनुको पहिलो फाइदा भनेको शारीरिक शुद्धि हो भने दोस्रो फाइदा भनेको शरीरमा जल अंशको पूर्ति गर्नु र प्राणशक्तिको तिर्खालाई मेटाउनु हो ।
पृथ्वी, जल आदि पञ्चतत्त्वले बनेको हाम्रो शरीरमा छिनछिनमा यस्ता तत्त्वको क्षीण हुने भएकाले तिनको परिपूर्ति गरिरहनुपर्छ । हाम्रो शरीरमा तापक्रम वा अग्नितत्त्व बढ्दा शरीरमा विद्यमान जलतत्त्व घट्तै जाने भएकाले हामीले सधैँ नुहाउनुपर्छ । ‘आपो वै प्राणाः’ (शतपथब्राह्मण ४.८.२.२० अर्थात् पानीमै हाम्रा प्राणहरू टिकिरहेका हुन्छन् । त्यसैले पनि सदैव स्नान गर्नुपर्ने विधान हाम्रा ऋषिमुनिहरूले गरेका छन् । स्नान गर्दा स्फुर्ती बढ्छ र नवीन चेतनाको उदय हुन्छ भने आलस्य भागेर जाने भएकाले हाम्रो मन प्रफुल्ल हुन्छ ।
बिहान दिनदिनै नुहाउँदा कुनै पुण्यप्राप्ति त भइहाल्दैन तर धर्मको आचरण गर्न योग्य बनाउने प्रारम्भिक कार्य भएकाले त्यसलाई धार्मिक कार्य नै मान्न सकिन्छ । कसले लोहोटाभरिको पानीले नुहायो र कसले गाग्रीभरिको पानीले नुहायो भन्ने कुराको भन्दा पनि नुहाउनुको तात्पर्य के रहेछ ? भन्ने कुरा बुझ्नेतिर हाम्रो ध्यान जानु आवश्यक छ ।
नुहाउँदा सर्वप्रथम टाउको भिजाउनाले शरीरमा बढ्दै गएको तापक्रम क्रमशः खुट्टाबाट निक्लँदै जान्छ तर यसका विपरीत हातखुट्टा पहिला भिजाएर अन्तमा टाउको भिजाउनाले शरीरको तापक्रम टाउकामा सङ्कलित हुने भएकाले त्यस्ता व्यक्तिलाई मस्तिष्कसम्बन्धी स्वास्थ्य समस्या देखिन सक्छ । बारम्बार टाउको दुखिरहने समस्या भएका व्यक्तिले र साह्रै जाडामा अन्य व्यक्तिले पनि हातखुट्टा भिजाएपछि मात्र टाउको भिजाउनु उपयुक्त हुन्छ । नुहाउने क्रममा पूरै शरीर भिजाइसकेपछि सुतीको गम्छाले शरीरमा एकछिन रगडेर शरीरको मयल निकाल्दै जान सकिन्छ ।
नुहाउन नदी वा गङ्गामा गएका अवस्थामा सर्वप्रथम नदी वा गङ्गाको प्रार्थना गर्नुपर्छ । घरमा वा नदीमा स्नान गर्दा आफूले स्नान गर्ने जलमा सम्पूर्ण तीर्थहरूको जल समावेश हुन सकोस् भन्ने कामनाका साथ निम्नलिखित श्लोक उच्चारण गरिन्छ:
गङ्गे च यमुने चैव गोदावरि सरस्वति ।
नर्मदे सिन्धु कावेरि जलेऽस्मिन् सन्निधिं कुरु ।।
यसका साथै आफूलाई मनपर्ने जुनसुकै स्तोत्र पाठ गर्दै स्नान गर्नु राम्रो मानिन्छ । मैले भने आफ्ना इष्टदेव शिवजीसँग सम्बद्ध रुद्राष्टक, शिवपञ्चाक्षरस्तोत्र र शिवमानसपूजाका श्लोकहरू उच्चारण गर्दै स्नान गर्ने संस्कारलाई पछ्याउँदै आएको छु । कहिल्यै गीत नगाउने व्यक्ति पनि पानीको गतिसँग क्रीडा गर्दा अनायासै गुन्गुनाउने गरेको सुनिन्छ ।
सम्भवतः गीतको सृष्टि वरुणदेवताकै प्रेरणाबाट भएर होला जलप्रवाहमा र त्यसमा पनि झरनामा वा धाराबाट खसिरहेको पानीमा नुहाउँदा वाणीको प्रस्फुटन स्वाभाविक रूपमा गुन्जिरहेको हुन्छ । वाणीकी प्रतीक सरस्वती एउटा नदीकै नाम भएकाले पनि जलप्रवाहमा वाणीको प्रस्फुटन स्वाभाविक रूपमा भएको हुनुपर्छ । यसरी संस्कृत कुनै स्तोत्रको पाठ गर्दै वा आफूलाई मन परेको कुनै गीत गुन्गुनाउँदै स्नान गर्दा हामीले शारीरिक शुद्धिका साथै आफ्नो मन र वाणी पनि शुद्ध हुँदै गएको अनुभूति गर्न सक्छौँ ।
दैनिक स्नान गर्दा हाम्रो शरीरलाई नयाँ रस, नयाँ जीवन र नयाँ ऊर्जा प्राप्त हुन्छ । यसरी नयाँपन आउनु भनेकै हामीहरूलाई शारीरिक र बौद्धिक भोक जाग्नु हो । भोक नजागीकन खाएको खानेकुराले हामीलाई अस्वस्थ बनाउने भएका कारण स्नानका माध्यमबाट भोक जगाएर खाना खाँदा हामीहरू शारीरिक रूपमा र बौद्धिक रूपमा समेत स्वस्थ हुन सक्छौँ । आजकल खाना खाएर नुहाउने प्रचलन देखिन थालेको छ ।
खाना खाएर नुहाउँदा खाना खाएपछि प्रदीप्त भइरहेको जठराग्नि निभ्ने र हाम्रो शरीरलाई विभिन्न किसिमका रोगहरूले आक्रमण गर्ने प्रबल सम्भावना रहन्छ । त्यसैले खाना नखाईकन बिहानै नुहाउनुपर्छ भनेर हाम्रा ऋषिमुनिहरूले हामीहरूलाई निर्देशन दिएका हुन् ।
ऊखुको रस, पानी, दूध, फलफूल, पान र औषधी भने खाएर पनि स्नान र दान गर्न सकिने (चाणक्यनीति ८.२) छुट हाम्रा ऋषिमुनिहरूले हामीलाई दिएका छन् ।
प्रत्येक दिन बिहानै स्नान गर्नाले दरिद्रता, रातमा देखिएका नराम्रा सपनाहरूको प्रभाव, नराम्रा विचारहरू र पापसमेत हट्छ । पवित्रता आन्तरिक र बाह्य दुई किसिमका हुन्छन् । प्रतिदिन स्नान गर्नाले बाह्य पवित्रता कायम हुन्छ । ‘अस्नातस्ते क्रिया सर्वा भवन्ति विफला यतः, तस्मात् प्रातश्चरेत् स्नानं नित्यमेव दिने दिने’ (रुद्राक्षमाहात्म्य, श्लोक ७) अर्थात् स्नान नगरीकन गरिने सम्पूर्ण कर्महरूमा सफलता प्राप्त गर्न नसकिने भएकाले सदैव दिनदिनै बिहान स्नान गर्नुपर्छ । तसर्थ जतिसुकै व्यस्त भएको अभिनय गरे पनि हामीले प्रत्येक दिन बिहान नुहाउने समय निकाल्न सक्यौँ र त्यसलाई सदैव निरन्तरता दिइरहन सक्यौँ भने हामीमा प्राकृतिक ऊर्जा थपिँदै जानेछ, हामी पनि स्वस्थ हुनेछौँ र हाम्रो संस्कृतिको पनि सम्मान हुनेछ ।
(सहप्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय, गैँडाकोट, नवलपरासी)