रमेशनाथ पाण्डेले किन लेखे 'माई मेजेस्टी' ?

रमेशनाथ पाण्डेले किन लेखे 'माई मेजेस्टी' ?

शाह खानदानका अपदस्थ अन्तिम राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवको जन्मदिन थियो, असार २३ मा । जन्मदिनको उपलक्ष्यमा उहाँलाई शुभकामना दिनेहरूका पोस्टले फेसबूकका भित्ताहरू भरिएका छन् । आफ्ना प्रिय र आदरणीय महानुभावलाई शुभकामना व्यक्त गर्नु स्वाभाविक मानवीय कार्यव्यापार हो र सामाजिक शिष्टाचार प्रणालीको एउटा अंश पनि हो यो । 

जन्मदिनका अवसरमा सर्वसाधारण मानिसलाई शुभकामना दिनेहरू पनि धेरथोर हुन्छन् । ज्ञानेन्द्र त राजा भइसकेको व्यक्ति, उहाँलाई विस् गर्नेहरू धेरै हुनु कुनै ठूलो कुरो होइन । ज्ञानेन्द्र राष्ट्रप्रमुख रहेका बेलामा उहाँको हातबाट दशैँमा टीका थाप्न नारायणहिटीको विशाल पटाङ्गिनीमा लामबद्ध हुन जाने जनता हज्जारौंको संख्यामा हुन्थे । तीमध्ये कतिलाई सरकारी पदमा बहाल भएकाले जानैपर्ने बाध्यता हुन्थ्यो होला । कति जना श्रद्धाकै कारणले र कतिपय भने रमाइलोका लागि पनि टीका थाप्न जान्थे होलान् । एकथरी त्यस्ता मानिसहरू पनि टीका थाप्न चाहनेहरूको त्यो लाममा सामेल हुने गर्थे होलान्, जसका लागि राजाको हातका औँलाहरूले आफ्नो निधार छोएको क्षण जीवनभरिकै सबैभन्दा सुखानुभूतिको क्षण बन्थ्यो होला । अधिकांश नेपाली रैतीहरूका लागि राजा दकस र श्रद्धाको संयुक्त प्रतीकका रूपमा रहेको जो छ !

ज्ञानेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिनेहरूले उहाँलाई अनेक किसिमका सम्बोधन र विशेषण दिएका छन् । रमेशनाथ पाण्डेले 'माई मेजेस्टी' लेखेर सम्बोधन गरेको चाहिँ मलाई अर्थपूर्ण लाग्यो । हो त ज्ञानेन्द्र शाह रमेशनाथहरूको मेजेष्टी नै हो । उहाँ सबै नेपालीको मेजेष्टी भएको भए त बडो विषम परिस्थितिमा सम्वैधानिक राजाको सिंहासनमा बस्ने सौभाग्य पाएको उहाँले थपक्क आफ्नो थान्कामा बसेर नेपालको उन्नति र प्रगतिमा सकारात्मक योगदान दिएको देख्न पाइन्थ्यो ! हाम्रो र उहाँको पनि दुर्भाग्य ! उहाँले समयको गति र निर्देशलाई बुझ्न सक्नु भएन । उहाँ तुलसी गिरि, कीर्तिनिधि बिष्ट, टंक ढकाल र रमेशनाथ पाण्डेहरूको "आवर मेजेष्टी' बन्नुभयो । त्यसको परिणाम के भयो मैले भनिरहनु पर्दैन ।

अधिकांश फेसबूके राजावादीहरूका कुरा बुझ्दा उनीहरूले ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा हुन आह्वान गरेको देखिन्छ । ज्ञानेन्द्र स्वयम्ले पनि धेरै पटक 'नेपाली जनताले चाहे भने हामी नेतृत्व लिन तयार छौँ' भन्नुभएको छ । उहाँ र उहाँका अन्धभक्तहरूले १३ वर्षअघि नारायणहिटीबाट निकाली नागार्जुनमा थन्क्याइएका गद्दीच्युत राजा फेरि कुन तरिकाबाट गद्दीनशीन हुने भन्ने कुराको भने खुलासा गरेका छैनन् । कुनै उपाय भए पो त्यसको खुलासा हुनु ! आजको युगमा जनताले चाँदीको किस्तीमा हालेर कसैलाई पनि सत्ता सुम्पिंदैनन् । 

आजको नेपालमा सत्ता कब्जा गर्ने दुई वटा तरिका छन् । वर्तमान संविधानको परिधिभित्रबाट सत्ता कब्जा गर्ने हो भने संसदमा आफ्नो पक्षमा बहुमत हुने गरी चुनाव जित्नु पर्यो, संविधानको परिधिबाहिरबाट कब्जा गर्ने हो भने आफ्नो नेतृत्वमा आमूल परिवर्तनकारी क्रान्ति गरेर वर्तमान प्रणालीको नामोनिशान मेटाउन सक्नु पर्यो । ज्ञानेन्द्र शाहमा यी दुईमध्ये एउटा पनि बाटो समातेर सत्तामा वापसीको लक्ष्य-भेदन गर्ने ल्याकत देखिंदैन । 

केही भक्तहरूको हृदयको सत्तामा भने उहाँले कब्जा जमाउनु भएको रहेछ । मेरो विचारमा यो पनि ठूलै उपलब्धि हो । शाह राजाहरूमध्ये सबैभन्दा लामो आयु पाउनुभएका उहाँलाई म पनि ७४औँ जन्मदिनको हार्दिक शुभकामना दिन्छु । उहाँसँग दोहोरो चिनजान नभएकाले मेरो शुभकामना उहाँसम्म पुग्ला जस्तो भने लाग्दैन । म उहाँको भक्त पनि होइन । उहाँकी बुहारी हिमानीको सौन्दर्य, शालीनता, सेवा-भाव र सहनशीलताको चाहिँ म ठूलो प्रशंसक हुँ ! उहाँले दृढ अठोट र हिम्मतका साथ आफ्नो नेतृत्वमा राजनीतिक दल खोल्नुभयो र राजनीतिको मैदानमा आउनुभयो भने मेरो हार्दिक समर्थन रहने छ ।