संस्मरण

राजा महेन्द्रको क्राउन-गाडी कुच्याइदिएँ

राजा महेन्द्रको क्राउन-गाडी कुच्याइदिएँ

राजा महेन्द्रकी जेठी शाहजादी शान्तिको बिहेको दिन थियो । ड्राइभरले म चढेको गाडी क्राउन भएको राजाको गाडीको नजिकै लगेर राखिदियो । राजाको गाडीलाई लाग्ला भन्ने हेक्का नराखी मैले ढोका फोर्सले खोलेँ । ह्यान्डिलले लागेर ठूलो आवाज आएर राजाको गाडी कुच्चियो । त्यस बखत ह्यान्डिल फलामको डल्लाजस्तो कडा हुन्थ्यो । दरबारको ड्राइभरले गाडी छाडेर गएको भनेर गाली खायो ।   

शीतल निवासमा जर्नेलदेखि सबैले यो देखे ।
म थर्कमान भएँ । तीन–चार दिनसम्म प्रतिक्रिया नआएपछि म ढुक्क भएँ ।
शाहजादीको बिहे बझाङी राजाको खलकसँग भएको हो । बझाङका गाउँलेसमेत जन्ती आएका थिए । कफी दिँदा डढेको चिया भनेर उनीहरुले बबाल गरेपछि हामीले सम्झाउनुपरेको थियो ।     

बिहेको बेलाकै शीतल निवासको घटना हो । राजा महेन्द्रको गाडी हाँक्ने ड्राइभर एक दिन खान पाइनँ, भोक लाग्यो भनेर रोयो । अतिथि सत्कारका डाइरेक्टर रामप्रसाद रिमाल र एडीसी जर्नेल पछिपछि लागे । तर, ऊ घुर्काइरहेको थियो । यो क्रम निकै बेरसम्म चल्यो । तमासा नै भएको थियो । 
बल्लबल्ल फकाएर खान लगे । 

त्यसपछि मैले जर्नेल दानगम्भीर रायमाझीलाई भनेँ, ‘तपाईं जर्नेलजस्तो मान्छे भएर जाबो डाइभरले घुर्की लगाउँदा पछिपछि लागेर फकाउने ?’
उनले जवाफ दिए, ‘फकाएर नख्वाए गाडी हाँकेका बेला सुँक्कसुँक्क गरेर रुन्छ । राजा महेन्द्रले किन रोएको भनेर सोधिबक्सन्छ । खान नपाएकाले आँखा तिरीमिरी भएर सरकार सवारी भएको गाडी एक्सिडेन्ट होला भन्ने डरले रोएको भन्छ । सरकारबाट हामीले गाली खानुपर्छ भनेर फकाएर खुवाएको ।’
...
जेठी शाहजादी शान्तिको बिहेको बेला पाहुनाहरुलाई स्वागत सत्कारको लागि १५ दिन अन्नपूर्णको नौ नम्बर कोठामा परराष्ट्र मन्त्रालयको म र अर्को साथी बसेका थियौँ । पाहुनालाई आवश्यक पर्दा कोठामा स्टक राखिएको रक्सी र चुरोट उपलब्ध गराउने र घुमाउने जिम्मा हाम्रो थियो ।

त्यस बखत भारतका बिहार, उत्तर प्रदेश र पश्चिम बङ्गालका गभर्नरहरुलाई पनि निम्ता गरिएको थियो । त्यसमध्ये बङ्गालकी गभर्नर पद्मजा नायडू र उनका एडीसी कप्तानको प्रसङ्ग सम्झन्छु । पद्मजा नायडू मोटी र भयङ्कर अग्ली थिइन् ।

एक दिन उनले एडीसी कप्तानलाई बोलाएर ल्याउन भनिन् । खोज्दा कप्तान कहीँ फेला परेन । गोदावरी, बूढानीलकण्ठलगायत सम्भावित सबै ठाउँमा उसलार्ई खोज्न मोटर पठाएँ । तैपनि ऊ कहीँ फेला परेन । 

नायडूले जहाँबाट जसरी भए पनि खोजेर ल्याऊ भनिरहिन् । 
अन्नपूर्णको रिसेप्सनिस्टलाई सोध्दा अन्नपूर्णमै काम गर्ने रसियन केटीसँग  बाहिर गएको थाहा भयो । खोज्दै जाँदा साँझतिर अन्नपूर्ण होटलको दक्षिणपट्टिको चौरको अँध्यारो कुनामा दुई जना भेटिए । गभर्नरले बोलाएका छन् भन्दा मलाई भेटिएन भनिदेऊ भन्यो । 

‘तिमी गएनौ भने केटीसँग बस्या छ भन्दिन्छु’ भनेपछि ऊ मसँगै आयो । मैले गभर्नरको ढोका ढकढक्याएँ । नायडू साह्रै रिसाएकी रहिछन् । कप्तानलाई कठालोमा समाती भित्र तानेर ढ्याम्म ढोका लगाइन् ।
...
बिहेलगत्तै राजा महेन्द्रले गोकर्णको रानीकुञ्जमा इन्फर्मल पिकनिक लन्च आयोजना गरेका थिए । पोखरीले घेरिएको पिकनिकस्थल थियो । राजा महेन्द्र पोखरीमा डुङ्गा चलाइरहेका थिए । भान्जाभान्जीले सानासाना ढुङ्गाले महेन्द्रलाई हानिरहेका थिए ।
‘राजालाई ढुङ्गा हान्ने मान्छेलाई के सजाय हुन्छ ? तिमीहरुलाई थाहा छ ?’, महेन्द्रले भने । 
भान्जाभान्जीको जवाफ थियो, ‘हामीले राजालाई होइन, हामीले त हाम्रो मामालाई पो हानेको !’ 
राजा मुसुक्क हाँसे । 

एडीसी जर्नेलद्वय रङ्गविक्रम र अरुणशमशेर अर्को डुङ्गाको दुईतिर उफ्रे । उनीहरु उफ्रेको देखेर महेन्द्रले भने, ‘पानीमा खस्लाऊ ।’
‘होइन, सरकार हामी खस्दैनौँ’ भन्दै राजालाई हँसाउनकै लागि डुङ्गा पल्टाएर खसे । 
राजा मज्जाले हाँसे ।
राजाको डुङ्गा जताजता जान्थ्यो, चाकडी देखाउन म पनि डिलडिलै त्यतैत्यतै गएँ । 
त्यहाँ एउटा सानो पुल (कल्भर्ट) थियो । पुलमुनि पोलिथिन पाइप छड्के परेको रहेछ । 
महेन्द्रले मलाई भने, ‘यो हटाऊ ।’

पाइप तान्न खाज्दा छेउको काईमा खुट्टा परेर पोखरीमा चिप्लेर खसिसकेको थिएँ । अघिसम्म नदेखिएका जर्नेल शेरबहादुर मल्लले एक्कासि कहाँबाट आएर मलाई कठालो समातेर तानिसकेछन् ।    
मैले मनमनै गाली गरेँ, ‘किन खस्न नदिएको ? किन बचाएको ? खसेको भए मलाई राजाले बचाउनु पथ्र्यो ।’  
...
एक दिन पाहुना लिएर नारायणहिटी जाँदा राती दुई बजे राजा महेन्द्रले तिमीहरुले खायौ भनेर सोधे । 
‘खायौँ सरकार,’ हामीले भन्यौँ । 
त्यसपछि मैले राजाले सोधेका बेला केही भन्न सकिएन भनेर कवितै बनाएँ, फेरि सोधे भनौँला भनेर ।
‘खान त खाएँ सरकार
खानै पुग्दैन के खाने सरकार ?’
तर, राजा महेन्द्रले फेरि कहिल्यै सोधेनन् । 

त्यही पिकनिकमा राजा महेन्द्रले सबैलाई खाए नखाएको सोध्नू भनेर युवराज वीरेन्द्रलाई अह्राए । 
सोध्दै मतिर आउँदै थिए । कविता घोक्न थालेँ । जब उनी मेरै अगाडि आइपुगेर सोधे, मैले सबै बिर्सें । 
छोरालाई त भन्न सकिनँ । बाउलाई झन् भन्न सक्ने कुरै थिएन ।    

त्यही वर्ष माइली शाहजादी शारदाको बिहेलगत्तै राजाले एउटा इन्फर्मल पिकनिक लन्च चोभारको डाँडोमा दिएका थिए । बर्खाको बेला थियो । पानी परेर पाल फुटेपछि हिलोमा गाडिएका हाम्रा खुट्टा आर्मीले तानेर बाहिर निकालेका थिए । 

रानी रत्नलाई मेरो जुँगा देखेर जिज्ञासा भएछ । उनले मेजरलाई सोध्न पठाइन्, परराष्ट्रको अफिसर भएर किन जुँगा पालेको रु त्यसताका मैले तरबार कट् लामो र मोटो जुँगा पालेको थिएँ । र, मलाई सबैले परराष्ट्रको जुँगे अफिसर भनेर चिन्थे । धेरै वर्षपछि जुँगा काट्दा कतिपयले मलाई नचिनेकाले परराष्ट्रको जुँगे अफिसर मै हुँ भनेर आपैmँलाई ठट्टा गर्दै चिनाउनुपरेको थियो ।
...
एकादशीको दिन नारायणहिटी दरबारको नारायणथानमा सङ्गीत कार्यक्रम भएको थियो । राजा महेन्द्र सङ्गीतका सोखिन थिए । छोरी शारदासहित उनी सङ्गीत सुन्न आएका थिए । त्यहाँ आयल स्टोरका म्यानेजिङ डाइरेक्टर केशव जोशी, खड्विक्रम शाह र म पनि पुगेका थियौँ । 
शारदा र खड्गविक्रमको आँखा जुधाजुध र मुस्कान आदानप्रदान भएको देखेँ । खड्गविक्रमलाई मैले के हो भनेर सोधेँ ।
‘केही होइन,’ उसले भन्यो । 

केशवले उनीहरुको बिहे हुने भइसक्यो भने ।
फेरि मैले खड्गविक्रमलाई सोधेँ ।
फेरि पनि उसले होइन भन्यो ।
लगत्तै दरबारबाट उनीहरुको बिहेको घोषणा भयो ।
मैले मसँग किन झुट बोलेको भनेर सोधेँ । 

‘दरबारले घोषणा नगरी मैले बताउन मिलेन । त्यसैले हो नभनेको ।’ 
राजाको ज्वाइँ भएपछि पनि खड्गविक्रमले साथीभाइसँग फरक व्यवहार गरेन । ऊ शिष्ट र साह्रै भलाद्मी थियो । उसलाई राजाको ज्वाइँ हुँ भन्ने दम्भ थिएन ।
राजा महेन्द्रका जेठा ज्वाइँ दीपकजङ्ग र माइला ज्वाइँ खड्गविक्रम दुवै जना मेरा क्लासफेलो नभए पनि साथीहरु हुन् । उनीहरु दुवै जनासँग मेरो राम्रो सम्बन्ध थियो । राजाको छोरी बिहे गरेपछि दीपकजङ्गले मैले नमस्ते गर्छ कि गदैन भनेर हेथ्र्यो । जब कि खड्गविक्रम शाहजादीको साथमा आएका बेला पनि हात उठाएर जान्थ्यो । 

म सानोमा मामाघर नगएको कुरा माथि लेखिसकेको छु । ठूलो भएपछि मामाघर गएर फर्केर आउँदा मलाई पुर्याउन मावलीका मान्छेहरु पनि आएका थिए ।  थानकोटमा दीपकजङ्ग अगाडि र खड्गविक्रम पछाडि रुकस्याक भिरेर ओरालो आर्लने र म उक्लेर आउँदै गर्दा जम्काभेट भयो । 

राजाकी छोरी बिहे गरेपछि दीपकजङ्गको स्वभाव बदलिएकाले मैले उसलाई चिनेको नचिन्यै गरेँ । खड्गविक्रमले देख्ना साथ हात मिलाएर कहाँ गएर आएको भनेर सोध्यो । 
‘दीपक दाइ पनि अगाडि जानुभएको थियो । तिमीले देखेनौ मदन ?’, उसले सोध्यो ।

‘राजाको ज्वाइँहरु भारी बोकेर यसरी हिँडेको भटिन्छ भन्ने हेक्कै राखिनँ ।’ खड्गविक्रम उभिएरै मसँग दस मिनेटजति कुरा गरेर गयो ।
यो खबर मलाई पुर्याउन आउने मानिसहरुले मेरा मामालाई भनेछन् । मामाले बढाइचढाइ मेरा भानिजसँग आधा घन्टा कुरा गरे भनेर महिनौँसम्म जुँगा मुसार्दै धाक लगाएर गफ गर्ने मौका पाए ।

धेरै वर्षपछि एक दिन अमेरिकाको नर्थ भर्जिनियाबाट मेरिल्यान्डको बाल्टिमोरमा छोराको साथीकहाँ भोज खान मोटरमा गइरहँदा बाटोमा दरबार हत्याकाण्ड टीभीमा आयो भनेर नेपाल राष्ट्र ब्याङ्कका भूतपूर्व कर्मचारी रोहिणी ढुङ्गानाले मोबाइलमा बताए । मलाई पत्यार लागेन । बाल्टिमोर पुगेपछि टीभी खोल्न लगाएँ । टीभीमा युवराज दीपेन्द्रले एक हातमा रक्सीको गिलास र अर्को हातमा बन्दुक लिएको फोटो देखाएर दरबार हत्याकाण्डको खबर दोहोर्याइ–तेहेर्याइरहेको थियो । पछि त्यो हत्याकाण्डमा खड्गविक्रमको पनि हत्या भएको खबर सुनेपछि म रोएँ ।


अब फेरि पुरानै दिनतिर फर्कन्छु । परराष्ट्र मन्त्रालयका साथीहरुसहित म सिनेमा हेर्न जयनेपाल चित्रघर गएको थिएँ । चिया खाइरहेका बेला एउटा दुब्लो पातलो केटोले दृष्टिविहीन मोटो बूढो मानिसलाई डो-याएर ल्याएको देख्यौँ । त्यो बूढो मान्छे मेजर उज्ज्वलबहादुर शाही थिए भने केटोचाहिँ उनैका छोरा मोहनबहादुर रहेछन् । 
परराष्ट्र मन्त्रालयकै उपसचिव दरबारका नातेदार गोवद्र्धनविक्रम शाहले त्यस्तो साह्रै भलाद्मी र पितृभक्त मोहनबहादुर शाहीसँग कान्छी शाहजादी शोभा शाहको बिहे तय भइसक्यो भन्दा हामीलाई पत्याउनै गाह्रो भयो ।