जेठा बाजे रामानन्दप्रसाद उपाध्याय (आचार्य) को चन्द्रशमशेरसँग के गडबड भयो, त्यसपछि उहाँ ‘नेपालको पानी नै खान्नँ’ भनेर विराटनगर जानुभयो । त्यो बेलामा नेपाल भनेको काठमाडौँमात्रै । पुराना मान्छेलाई सोध्यो भने नेपाल जाने भन्थे । धादिङका मान्छेसमेत नेपाल भनेर यहाँ आउँथे । अझ काठमाडौँ भनेको पनि अहिलेको जस्तो फराकिलो काठमाडौँ होइन । महाराजगन्जको दुई सय रोपनी जमिन रोपनीको २५ रुपियाँमा जम्मा पाँच हजार र ठमेलको घर बेचेको रकम अंशबापत लिएर उहाँ सधैँका लागि बस्ने गरेर जानुभयो विराटनगर ।
हाम्रा जेठा बाजे बीपी कोइरालाको आमाका पिता । कृष्णप्रसाद कोइरालाका ससुरा । कृष्णप्रसाद कोइरालाको सुसुरा मात्र होइन, पछि प्रधानमन्त्री भएका सुशील कोइरालाका पनि बाजे । कृष्णप्रसादकी श्रीमती र सुशील कोइरालाकी आमा दिदीबहिनी । बीपीकी आमालाई हामी मैया दि’ भन्थ्यौँ । र, सुशील कोइरालाकी आमालाई कुमुदिनी दि’ । सुशील कोइरालाका पिता वनमा कन्जरभेटर थिए । कन्जरभेटर भनेको फर्स्ट क्लास हो । कन्जरभेटरलाई सर्कल अफिसर पनि भन्थे । जेठा बाजेका दुई छोरीपट्टिका गरी तीन जना प्रधानमन्त्री भए, बीपी कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला । कृष्णप्रसाद कोइरालाले सालीलाई पनि कोइरालासँगै बिहे गराइदिएका थिए ।
मेरा बाजे कृष्णप्रसाद कोइरालाका कान्छा ससुरा हुन् । उनको मेरा बाजेसँग बढी आत्मीयता थियो । पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीका पिता रामचन्द्र मालअड्डाका हाकिम थिए । कृष्णप्रसादको नजिकका नातेदार भएकाले उनी हाम्रो घरमा कैयौँपटक आएका थिए । कृष्णप्रसादकी छोरीपट्टिकी नातिनी शैलजा आचार्य जन्मेका बेला आमा इन्दिरालाई हाम्रै घरमा सुत्केरी स्याहारेको ।
बीपीको आमा र मेरा पिताजी सहोदर दाजुभाइका छोराछोरी हुन् । बीपीकी आमा मैयाँ दि’ (दिव्या कोइराला)ले मेरा पिताजीलाई ठूलो भाइ भनेर असाध्यै माया गर्नुहुन्थ्यो । बीपीले पनि ठूलो मामा भनेर आदर गर्थे । भान्जा भए पनि पिताजीले बीपीलाई पनि प्रधानमन्त्री हुनु पहिलेदेखि नै निकै आदर गर्नुहुन्थ्यो ।
बीपी गृहमन्त्री भएर रङ्गमहल (हालको मल्ल होटल) मा बस्दा मेरा बाजे बिरामी भएर ठमेलमा बस्नुभएको थियो । बीपी बरोबर हिँडेर भेट्न आउनुहुन्थ्यो । पिताजी कार्यालय जानुअगाडि प्रायः रङ्गमहल जानुहुन्थ्यो । र, फर्केर आउँदा बाजेका लागि त्यहाँबाट कुरिलो लिएर आउनुहुन्थ्यो । रङ्गमहलको कुरिलो ।
एक बिहान पिताजी र म रङ्गमहल गएका थियौँ । बीपी र पिताजी गफिँदै हुनुहुन्थ्यो । त्यत्तिकैमा काङ्ग्रेसका एक जना ब्राह्मण थरका वरिष्ठ नेता त्यहाँ आउँदा बीपीले पिताजीलाई चुप लाग्न इसारा गरे । ती नेता फर्किसकेपछि पिताजीले सोध्नुभयो, ‘यो मान्छे त तपार्इंहरुको एकदम नजिकको मान्छे हो, किन चुप लाग्न इसारा गर्नुभएको ?’ बीपीले भने, ‘पार्टी चलाउन सबै किसिमका मानिस चाहिन्छ । सबै विश्वासिला हुँदैनन् । सबैलाई सबै कुरा सुनाउन हुँदैन ।’
अर्को एक बिहानको कुरा हो । कुरैकुरामा डिल्लीरमण रेग्मीको प्रसङ्ग आउँदा गणेशमानजीले आफू हेपिएको सुनाए, ‘म भागेर बनारस पुगेँ । जाने ठाउँ कतै थिएन । डिल्लीरमणकहाँ गएँ । मैले उनीकहाँ खाए–बसेबापत ठूलो मूल्य तिर्नुपर्यो । बिहान शौच गर्न जाँदा उनको लोटा बोक्नुपर्यो । नदीमा नुहाउन जाँदा उनको धोती पनि बोक्नुपर्यो ।’
रङ्गमहल आउनुअघि बीपी त्रिपुरेश्वरको सरकारी गेस्ट हाउसमा बसेका बेला (पछि त्यहाँ भन्सार विभाग र अन्तःशुल्कको कार्यालय बस्यो । राणाजीको बेला विदेशी राजदूतहरु ओहादाको प्रमाणपत्र पेस गर्न आउँदा बस्नका लागि त्यो गेस्ट हाउस बनाइएको थियो) खुकुरी दलले हमला ग-यो । बीपी भन्ठानेर ढुण्डीराज कोइरालालाई गोरखा दलको हूलले पिट्यो । त्यसपछि त्यो हूल बीपी बसेको कोठातिर गयो । आफ्नो बचाउका लागि बीपीले पेस्तोल हान्दा सुकुलध्वज भन्ने मान्छे मारियो भन्ने व्यापक हल्ला चल्यो । पेस्तोल हानिसकेपछि हूल भाग्यो ।
पछि बीपीकी आमा (मैयाँ दि’)ले भनेअनुसार त्यहाँ गोली लागेर कोही मरेको थिएन । तर्साउनका लागि मात्र सुकुलध्वज मारिएको भनेर हल्ला चलाइएको थियो । अरु मानिसले मेरा पिताजीलाई खुसी पार्न हो वा अरु नै कारणले हो ? ‘मामालाई पनि केही गर्नुपर्यो गृहमन्त्रीज्यू’ भन्दा ‘मैले आफ्नो मामालाई गरेँ भने दुनियाँले के भन्छ ?’ भन्ने जवाफ बीपीले दिए । उनले आफू गृहमन्त्री र पछि प्रधानमन्त्री हुँदा पनि सबभन्दा मन परेका मामालाई केही गरेनन् । बीपी निष्पक्ष भएकाले पिताजी उनीसँग कहिल्यै पनि रिसाउनु भएन ।
मोहनशमशेरले राजीनामा दिएपछि बीपी प्रधानमन्त्री हुने हल्ला चलेको थियो । ‘मातृका दाइ प्रधानमन्त्री हुने भए, गार्डहरु सबै दाइकहाँ पठाइदिनुस् मामा’ भनेर बीपीले मेरा पिताजीलाई भने । पिताजीले बीपीका गार्डहरु मातृकाप्रसाद कोइरालाकहाँ पठाइदिनुभयो ।
मातृकाप्रसाद प्रधानमन्त्री भएपछि मेरा बिरामी बाजेलाई भेट्न अगुवा तीनपाङ्ग्रे मोटरसाइकल र मोटरको पछुवा गार्डहरु लिएर ठमेलमा आएको मलाई राम्ररी सम्झना छ ।
एक दिन पिताजी प्रधानमन्त्री मातृकाप्रसादकहाँ गएको बेला त्यहाँ भएका अरुले परिचय माग्दा मातृकाकी श्रीमती मञ्जु कोइरालाले ‘उहाँ बीपीको मामा’ भनेर चिनाएपछि पक्ष लगाएको ठानी मातृकाप्रसाद प्रधानमन्त्री हुन्जेल सरकारी जागिरदार भएर पनि प्रधानमन्त्री निवास कहिल्यै जानु भएन । राणाकालमा केशरशमशेर कृषिको तालुकदार हुँदा मातृकाप्रसाद अङ्ग्रेजी जान्ने खरिदारका रुपमा कर्णेल टङ्कबहादुर बस्नेतको मातहतमा कार्यरत थिए ।
भीमशमशेर प्रधानमन्त्री हुँदा बीपी कोइराला बीए पास गरेपछि मातापितालाई भेट्न वीरगन्ज गएका थिए । ढोगेभेटपछि पिता कृष्णप्रसादले सोधेछन्, ‘अब के गर्छस् ?’
‘हजुरले एउटा छोरो देशका लागि त्यागेँ भन्ठान्नुहोस् ।’
भीमशमशेरले सुब्बाको जागिर खान आऊ भनी बोलाउँदा उनी जागिर खानुपर्छ भनेर नेपालबाटै भागे ।
मैयाँ दि’ले हामीलाई सुनाएअनुसार, बीपीले पाँच वर्षको हुँदा सिसीमा पिसाब फेरेर छर्किंदै हिँडेका थिए । किन छर्किंदै हिँडेको भनी सोध्दा उनले गाईको पिसाब छर्किनुहुन्छ भने मेरो पिसाब किन छर्किनु हुँदैन भन्ने जवाफ दिए रे !
बीपीका भाइ तारिणी र उनकी श्रीमती रोशा नक्साल नागपोखरीनजिक झ्याउँकीरी उस्तादसँग किनेको शङ्करनाथ रिमालको घरमा भाडामा बस्थे । (रिमालको घरको फोटो) तारिणी कल्पना प्रेस र पत्रिका चलाउँथे । उनकी छोरीको नाम पनि कल्पना थियो । काठमाडौँ आउँदा कोइराला परिवारका सबै त्यहीँ बस्थे । त्यहाँ तुलसी गिरी, उनकी श्रीमती किशोरी र विश्वबन्धु थापा पनि बरोबर बस्ने गर्थे । एकपटकको कुरा हो । त्यहाँ भात खाने थाल थोरै तर खाने मानिसचाहिँ धेरै भयौँ । एकैनास गर्न हामी सबैले पत्रिकामा खाएको भर्खरजस्तो लाग्छ ।
त्यसैताका मेरो नौ वर्षको भाइले तुलसी गिरीको सेफर्ड कलम लिएर गएछ । रोशा भाउजूले भाइलाई अर्को राम्रो कलम किनिदिन्छु, भाइलाई बोलाइदिनु पर्यो भनिन् । मैले भाइको साथमा कलम लिएर गएपछि रोशा भाउजूले सभ्य भाषामा भनिन्, ‘बाबु, तपाईंले डाक्टर साहेबको कलम लिएर जानुभएछ । डाक्टर साहेबले त्योबाहेक अरु कलमले लेख्न जान्नुहुन्न । त्यो कलम फिर्ता गरिदिनोस् । म अर्को राम्रो कलम किनिदिन्छु ।’ नभन्दै उनले त्यो कलम फिर्ता लिएर नयाँ किनेर दिइन् ।
केही वर्षपछि म परराष्ट्र मन्त्रालयमा हुँदा तिनै गिरीले मलाई नचिनेजस्तो गरे । राजा महेन्द्रले शासनसत्ता लिएको १ पुस ०१७ सालपछि तुलसी गिरी मन्त्रिपरिषद्को उपाध्यक्ष र परराष्ट्र मन्त्री भएका थिए । उनका तर्फबाट सिंहदरबारको बेलायती बैठकमा हुने रात्रीभोजको निम्ताको चिठी तयार गरी राजा महेन्द्रकहाँ पठाउन गिरीको सही गराउनुपथ्र्यो । नक्सालमा कति पटक सँगै खाना खाएको भए पनि सायद बीपीको मामाको छोरासँग चिनेको जस्तो ग-यो भने समस्या पर्ला भनेर हो वा अरु कुनै कारणले उनले मलाई नचिनेजस्तो गरे ।
मैले पनि अरु केही कुरा गरिनँ ।
कोइराला परिवार सुरुदेखि नै सभ्य र शालीन हो । कृष्णप्रसाद कोइराला हाम्रो घरमा आउँदा बुहारी नाताका हाम्रा आमाहरुलाई देख्नेबित्तिकै नमस्ते गर्थे र तपाईं भनेर सम्बोधन गर्थे । हाम्रा आमाहरु भिनाजु पर्ने मान्छेले नमस्ते गरेर तपाईं भन्ने सम्बोधन गर्दा लाजले भुतुक्क हुन्थे रे १ उनको मृत्युपछि सम्झेर भावुक हुन्थे । पिताजीले भनेअनुसार एकपटक भेटेर कुरा गरेको मान्छे कृष्णप्रसादको भक्तै हुन्थ्यो रे !
कृष्णप्रसादलाई पक्रेर काठमाडौँ पठाउनू भनेर चन्द्रशमशेरले त्यस बखतको विराटनगरका बडाहाकिम जीतहादुर खत्रीलाई हुकुम प्रमाङ्गी (हुप्र) पठाए । चिठी पुग्नासाथ बडाहाकिमले उनलाई बोलाएर पक्रने हुप्र आएको छ भने ।
‘त्यसो भए म भारत जान्छु । मलाई केही समय दिनोस्,’ कृष्णप्रसादले भनेछन् । उनले मागेको समय सकिएपछि उनी भारत गएको पक्का सम्झेर अमिनी र गोश्वारा बोलाएर बडाहाकिमले कृष्णप्रसादलाई पक्रेर ल्याउने आदेश जारी गरे ।
कृष्णप्रसाद भारत कसरी गए ? कसले भनेर गए ? त्यो छानबिन गर्ने र कृष्णप्रसादलाई फर्काएर ल्याउने दुइटा कार्यका लागि चन्द्रशमशेरले गङ्गाबहादुर बस्नेतलाई विराटनगरमा दौडाहा पठाए । बस्नेतले कृष्णप्रसादका कान्छा ससुरा मेरा बाजेलाई पनि सँगै लगे ।
कुनै पनि हालतमा न्यायनिसाफ गरेरै छाड्ने गङ्गाबहादुर छानबिन गर्न आएको थाहा पाएर बडाहाकिम जीतबहादुरले हिरा खाएर आत्महत्या गरे । कृष्णप्रसाद कोइरालालाई सहयोग गर्दा बडाहाकिमले ज्यान गुमाउनु पर्यो ।
गङ्गाबहादुरले कृष्णप्रसादलाई आफूसँगै चन्द्रशमशेरकहाँ ल्याउन प्रयत्न गरे । त्यसपछि कृष्णप्रसादले मेरा बाजेलाई भारतमा बोलाएर ‘कर्णेलसाहेबले जाऊँ, तपाईंलाई केही हुँदैन भन्नुभएको छ । तर, म जानु उचित हुन्छ कि हुँदैन रु तपाईंलाई के लाग्छ ?’ भनेर सोधेछन् ।
‘नेपाल सरकार बेइमान छ । म जानोस् भनेर भन्न सक्दिनँ,’ बाजेले भन्नुभएछ ।
‘म कदापि नेपाल फर्कने होइन । तपाईं के राय दिनुहुन्छ भनेर मैले जाँच्न खोजेको मात्र हुँ । तपाईं मेरो साह्रै हितैषी हुनु हुँदो रहेछ,’ कृष्णप्रसादले भनेछन् । त्यसरी कान्छा ससुरा र ज्वाइँको सम्बन्ध झन् प्रगाढ भयो ।
कृष्णप्रसाद भारतको स्टेसनमा घुम्न आउँदा तानेर बोर्डरपारि ल्याउने गोश्वाराको योजना थाहा पाएपछि उनले भारतको सुरक्षा अधिकारीसँग सुरक्षाको माग गरेछन् ।
यताबाट कृष्णप्रसादलाई तान्न गएका मानिसलाई इन्डियन पुलिसले पिटेर धपाइदिएछ ।
चन्द्रशमशेरले कृष्णप्रसादको सर्वस्व (हरण) गर्न उनको जग्गा देखाइदिनेलाई आधा उसैले पाउने गरी आदेश गरेछन् । कृष्णप्रसाद लोकप्रिय भएकाले कसैले पनि उनको जग्गा देखाइदिएनछन् । पछि उनका सहोदर दाजुले नै देखाएर आधा जग्गा लिएछन् ।
त्यस बखतमा उनलाई कस्तो लोभी ? आफ्नै भाइको जग्गा देखाएर लिने अधम मान्छे रहेछ भन्ने इत्यादि लान्छना लगाएको व्यापक हल्ला भयो ।
सर्वनास्तिभन्दा अर्धनास्ति हुनु जाती भनेर भाइको आधा जग्गा जोगाइदिन उनले जग्गा देखाइदिएर आफ्नो नाममा पारेका रहेछन् । धेरै वर्षपछि मात्र यो कुरा खुल्न आयो । हाल विराटनगरमा कोइरालाहरुको घरसहित सबै जग्गा दाजुले जोगाइदिएको आधामध्येकै हो ।
मैले पिताजीबाट सुनेको प्रसङ्ग हुबहु लेखेको हुँ ।
पछिको कुरा हो । कृष्णप्रसादलाई पक्रेर भद्रगोल जेलमा राखिएको थियो । पिताजी उनलाई भेट्न जाँदा त्यहाँ पालो बसेका सिपाहीले पनि ‘हजुर ! म सामल लिन घर जान्छु । मलाई बिदा पाऊँ’ भनेर बिदा मागेको सुन्दा पिताजी छक्क पर्नुभएको थियो । त्यसरी थुनुवासँग पालेले बिदा मागेको पहिलो र अन्तिम थियो होला ।
जेलमा कृष्णप्रसाद बिरामी भएपछि जेलबाट निकालेर जाडो महिनामा चीसो स्याँठ लाग्ने बाग्मती नदी किनारको कालमोचन घाटमा जुद्धशमशेरले लगेर राखे । त्यहीँ उनको परलोक भयो ।
बीपीको सहोदर मामा रुद्रहरि आचार्य मेरो बाजेका जेठा दाजुको छोरा । उनी राणाजी पक्षका विराटनगरका जमिन्दार थिए । उनको घरको पर्खाल विराटनगर गोश्वारासँग जोडिएको थियो । बीपीको नेतृत्वमा मुक्ति सेनाले ००७ सालमा विराटनगर आक्रमण गरेर बडाहाकिमको कम्पाउन्ड घेरी रसदपानी बन्द गर्दा पनि धेरै दिनसम्म बडाहाकिम अडेर बसे । के भएको भनेर बुझ्दा आफ्नै मामाले कम्पाउन्डमा बडाहाकिमलाई रसदपानी आपूर्ति गरेको जानकारी हुन आएछ । पछि बडाहाकिमको कम्पाउन्ड लिन लाग्दा बीपीले मामालाई थुन्नुप-यो ।
त्यहाँ मुक्ति सेनाका कमान्डर ज्ञानबहादुर याकथुम्बाले भाइलाई मार्ने डर भएकाले सुरक्षाका लागि थुनेको बीपीकी आमाको भनाइ थियो । तर, त्यो घटनापछि मामा–भान्जाको बीचमा कहिल्यै संवाद भएन । मेरो पिताजीले भाइ रुद्रहरि (नगेन्द्रप्रसाद आचार्य) लाई भान्जाहरुसँग द्वैष गर्नु हुँदैन भनी सम्झाउँदा पनि उनले मानेनन् ।
...
ठूलो भिनाजु द्वारिकाप्रसाद अधिकारीले सानो छँदा मलाई सपार्न धेरै प्रयास गरे । उनी साह्रै भलाद्मी थिए । जे पायो त्यही नगर्ने । उनी विद्युत् विभागको खरिदबिक्री अफिसरमा पोस्टिङ भएका थिए । अरु कुनै पनि थर्ड क्लास अफिसर तहका कर्मचारी भन्सार, कर आदि लाभका ठाउँमा सरुवा हुन खोज्थे । तर, उनी त्यसको उल्टो । उनी सो पद छोडेर नेपाल ब्याङ्क लिमिटेडको प्रमुख क्यासियर भएर विराटनगर गए ।
हामी कोइराला परिवारको नातेदार । त्यसैले भिनाजु पनि स्वतः कोइराला परिवारका नातेदार ठहरिए ।
केही वर्षपछि गिरिजाप्रसाद कोइरालालगायतले गरेको विमान अपहरणका लागि सूचना दिएको हो कि भनी उनलाई निगरानीमा राखी दरबारबाटै इन्क्यावरी हुँदा होइन भनी छुटकारा पाए ।
...
बीपी प्रधानमन्त्री भएपछि त्रिपुरेश्वर गेस्ट हाउसमा बस्दा कुमारमणि आदी र पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माका पिता केशवराज पिँडाली निजी सचिव थिए । एक जना आर्मीको महत थरका क्याप्टेन बडिगार्ड इन्चार्ज थिए । बीपीले सुशीला भाउजूलाई त्रिपुरेश्वर गेस्ट हाउसमा लगिसकेका थिएनन् । उनी नक्सालकै कल्पना प्रेस भएकै घरमा बस्थिन् ।
उनी एक्लै भएकाले बीपीले ‘मामा, सुशीलालाई साथी मदन पठाइदिनु पर्यो’ भनेकाले म साथी बस्न गएको थिएँ । कति दिन गएँ । ठ्याक्कै भन्न सक्दिनँ ।
एक रात म बाथरुम गएका बेला बाल्टिनमा ठक्कर लागेको आवाज आयो । ‘को हँ ?’, बीपी एक हातले लाइट देखाउँदै अर्को हातले पेस्तोल ताक्दै आए । मलाई देखेपछि ‘तिमी पो’ भनेर फर्किए । उनी त्यही रात आएका रहेछन् ।
त्यस बखत पनि बीपीलाई केही सुरक्षा शङ्का लागेर नै सुशीला भाउजूलाई प्रधानमन्त्री हुनासाथै त्रिपुरेश्वर गेस्ट हाउसमा नलगेको हो कि भन्ने मलाई लाग्छ ।
'बीपीको बेडरुमसम्म जान रोकतोक थिएन'
...
मेरा फुपूका चार छोरा बीपी, केशव, तारिणी र गिरिजा । केशव कोइराला विराटनगरै बस्थे । उनी काठमाडौँ आएको मलाई थाहा छैन । मेरा पिताजी छोरी भेट्न विराटनगर गएको थाहा पाउनेबित्तिकै सोही दिनै मामालाई भेट्न आउँथे । तर, गिरिजा कहिल्यै मेरा पिताजीलाई भेट्न आएको मलाई थाहा छैन ।
गिरिजाले केही महिनाको बच्चासहितकी श्रीमती बिनापारपाचुके घरमा ल्याएका बेला पिताजी र म विराटनगर पुगेका थियौँ । त्यसरी ल्याएको मैयाँ दि’लाई मन परेको थिएन । तर, उनले बुहारी स्वीकारिन् ।
०४६ सालको जनआन्दोलन सफल भएको एक वर्षपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । उनी प्रधानमन्त्री भएका बेला नोना भाउजूलाई हर्टअट्याक भएको थाहा पाएर म त्रिवि शिक्षण अस्पताल गएको थिएँ । ‘गिरिजाबाबुलाई नभेट्ने ? भेट्नुपर्छ नि,’ त्यहाँ एक जना नातेदार कोइरालाले मलाई भने ।
मैले ढोकामा कुरेर भेट्न नजाने कुरा गरेँ ।
‘म एप्वाइन्टमेन्ट मिलाइदिन्छु, भेट्न जानुस् ।’
उनले प्रधानमन्त्रीका सचिव हरि शर्मालाई त्यहीँबाट फोन गरे र एप्वाइन्टमेन्ट मिलाएर घरमा खबर गर्न भने ।
हरि शर्माले एप्वाइन्टमेन्ट मिलाएर मलाई घरमा खबर गरे । मैले पिताजीलाई एप्वाइन्टमेन्टको कुरा सुनाए । पिताजी धेरै खुसी हुनुभयो र भन्नुभयो, ‘हाम्रै भान्जा प्रधानमन्त्री भएकाले पाएसम्मको ठूलो माला किनेर ल्याउनू ।’
त्यही बेला गैरीधाराकी सहोदर ठूली फुपू (आमोद अर्यालकी आमा) आइपुग्नुभयो । पहिले उहाँहरुको बङ्गाली टोलनजिकै भोसिकोमा घर थियो ।
०१७ सालमा बीपीलाई थुनेपछि कोइराला परिवारलाई उहाँले आफ्नो घरमा लगेर राख्नुभएको थियो । बीपीको परिवारलाई घरमा राखेकाले ढुङ्गा हानेर उहाँको घरको एउटा पनि ऐना सहीसलामत थिएन ।
फुपूले पनि हामीसँगै जाने कुरा गर्नुभयो ।
पिताजी, फुपू, भाइ, मेरो जेठो छोरा र म प्रधानमन्त्री निवास बालुवाटार गयौँ । हामी बैठकमा बस्नासाथै प्रधानमन्त्री आए । पिताजीले माला लगाइदिनुभयो । माला लगाउन लाग्दा सेक्युरिटीले रोक्न खोजेको थियो ।
‘मामा हो, रोक्नु पर्दैन,’ उनले भने ।
‘मामालाई केही भन्नु छ ?’, उनले पटकपटक सोधे ।
‘मलाई केही भन्नु छैन । मलाई केही चाहिँदैन । भान्जा प्रधानमन्त्री भएको खुसीयालीमा माला लगाइदिनमात्र आएको हुँ,’ पिताजीले भन्नुभयो ।
‘बरोबर आउनु है,’ प्रधानमन्त्रीले हामी सबैलाई भने ।
तर, उनले बीपीले जस्तो पीएलाई बोलाएर रोकताक नगर्नु, छाडिदिनु भनेनन् । हामीलाई बीपीको बेडरुमसम्म जान रोकतोक थिएन ।
सुशील कोइराला पनि प्रधानमन्त्री निवासमै बसेका रहेछन् । फुपूले सुशीललाई पनि भेट्छु भन्नुभयो । एउटा दुब्लो पातलो, छुस्स दाह्री पालेको, पुरानोजस्तो देखिने लुगा लगाएको, पुरानो छिन्न लाग्याजस्तो चप्पल लगाएको मान्छे आए । उनको लवाइ देखेर म जिल्ल परेँ ।
फुपूले हामी सबैलाई चिनाइन् । अरु पाँच जना दाजुभाइसँग मेरो राम्रो सम्बन्ध भए पनि मैले सुशील दाइलाई त्यसअघि चिनेकै थिइनँ । उनीसँग भेट पनि भएको थिएन ।
त्यसपछि म कहिल्यै प्रधानमन्त्री गिरिजाप्रसादलाई भेट्न गइनँ ।
पछि अप्रत्यक्ष रुपमा त्यहाँबाट बोलावट हुँदा पनि जाने जाँगर चलेन । बिहेवारीको निम्तोमा आएको बेलाबाहेक अरु बेला उनीसँग कहिल्यै भेट भएन ।