भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी दोस्रो पटक राजकीय भ्रमणमा नेपाल आउँदा बेलायती महारानी एलिजाबेथ र ड्युक अफ एडेनबराका लागि पुनःनिर्माण गरिएको शीतल निवासमै राखिएको थियो । एलिजाबेथकै लागि भनेर बेलायतबाटै मगाइएको अस्टिन प्रिन्सेस ठूलो कालो गाडी इन्दिरालाई उपलब्ध गराइएको थियो ।
इन्दिराले क्युरियोका सामान किन्ने इच्छा व्यक्त गरिन् । उनका निजी सचिव उषा र म मन परेको किनेर बाँकी फर्काउने सर्तमा क्युरियोहरु लिन पाटन गयौँ । हेर्दै जाँदा बुद्धले केटीसँग संसर्ग गरेर बसेको मूर्ति देखेपछि उषाले ‘यो प्रधानमन्त्रीलाई देखाउनुपर्छ’ भनी अरु क्युरियोसहित त्यो पनि लिएर हामी शीतल निवास फक्र्यौ।
क्युरियो डिस्प्ले हेर्दै गर्दा जब इन्दिराको आँखा बुद्धको त्यो खास मूर्तिमा पर्यो, रिसाउँदै भनिन्, ‘यो किन ल्याएको ? कुनै पनि हिस्ट्रीमा बुद्धशक्ति (स्त्रीसँग संसर्ग) भएको भए बुद्ध बुद्ध नै हुने थिएनन् । यो कुनै एउटा मूर्तिकारको कल्पनामात्र हो । तत्काल यो मूर्ति फिर्ता गरिदेऊ ।’
एक दिन इन्दिरा शीतल निवासबाट भारतीय दूतावासमा भोज खान जान लागेकी थिइन् । परराष्ट्र राज्यमन्त्री दिनेश सिंहलाई आफैँसँग लैजान मोटरको ढोका खोलेर पटाङ्गिनी (मोटर राखेको ठाउँ)मा कुरेर मलाई बोलाउन भनिन् । मैले चार–पाँचचोटि बोलाएपछि मात्र दिनेश आए । ढोका खुलै राखेर इन्दिराले कुरिरहेको गाडीभित्र पसेनन् । बरु इन्दिराकै बेइज्जत हुने गरी दिनेश अर्को गाडीमा बसेर गए ।
भारतका प्रधानमन्त्री इन्दिराको अनुहार हेर्न लायक थियो ।
‘अब यो गयो,’ दिनेशलाई देखाउँदै परराष्ट्र मन्त्रालयका विश्वेश्वरप्रसाद रिमालले मतिर हेरेर भने । मैले दिनेश कहिले जान्छ भनेर वाच गरिरहेको थिएँ । धैर्य गरेर इन्दिरा गान्धीले छ महिनापछि मात्र राज्यमन्त्रीबाट उनलाई हटाइन् ।
लैनचौरस्थित भारतीय दूतावासमा प्रधानमन्त्री इन्दिरालाई भोजको निम्ता थियो । भारतीय पाहुना लिएर म दूतावास गएको थिएँ । गान्धीका लागि नेपालका तर्फबाट गार्डमा खटिएको मेजर दर्जाको साथी र म दूतावासबाहिरको मेचमा बस्यौँ ।
‘सिभिलमा गएर झ्याउरे भएछौ । हेर म आर्मीमा गएर कति तगडा भएको छु ?’, धेरै दिनसम्म भेट नभएको साथीले भन्यो ।
‘हामीले सिभिलमा कुनै तालिम पाएका छैनौँ । तिमीले आर्मीमा धेरै तालिम पाएर आफूलाई तन्दुरुस्त राखेका छौ । तर, पनि पन्जा लडाउनेमा मलाई सक्दैनौँ,’ मैले भनेँ ।
हामीले पन्जा लडायौँ । मैले जितेँ ।
‘म सिभिल पनि त कम छैन नि । होइन त ?’, मैले ठट्टा गरेँ ।
पछि ऊ नेपाली सेनाको प्रमुख भयो ।
लैनचौरस्थित भारतीय दूतावासमा भोज खान आएका भारतका लागि नेपाली राजदूत यदुनाथ खनाललाई गाडी चाहिएछ । उनले परराष्ट्र मन्त्रालयको एक जना उपसचिवलाई गाडी मिलाइदिन भनेछन् । उपसचिवले जबर्जस्ती गरेर इन्दिरा गान्धीको साथमा आएका सहसचिव भट्नाकरलाई उपलब्ध गराइएको कारपास भएको गाडीमा राजदूतलाई चढाएर पठाइदिए ।
पाहुना भट्नाकरलाई उपलब्ध गराइएको गाडी भएन । र, उनी अलमल परेको देखी मैले अगाडि गएर तपाईंलाई एलर्ट गरेको गाडी बिग्रेर बनाउन गएको छ, म अर्को गाडी मगाइदिन्छु भनेर मोटरपुलमा फोन गरेँ । बिना कारपासको गाडी मगाएर पठाइदिएँ ।
यदि मैले गाडी मगाएर नपठाइदिएको भए एउटा ठूलो समस्या खडा हुने थियो । त्यसरी अरुलाई उपलब्ध गराइएको गाडी चाकडी देखाएर जबर्जस्ती अर्कैलाई पठाएर मनपरी गर्ने व्यक्ति पछि परराष्ट्र सचिव भए ।
इन्दिरा गान्धीले नेपालको शिखरबेसीको चामल र घ्याल्चोकको मासको दालको तारिफ सुनेकी रहिछन् । त्यसैले फर्कंदा आफ्नै साथमा लगिन् ।