‘जंगबहादुरको बेलाइतयात्रा’ नामक पुस्तकका चार संस्करण निस्कँदासम्म पनि लेखकको थाहापत्तो लागेन । २०१४ सालमा 'जंगबहादुरको बेलाइतयात्रा'को प्रथम प्रकाशन हुँदा भूमिकामै लेखिएको थियो, 'अफसोसको कुरा छ, यस्ता लेखकको नाम हामीलाई थाहा छैन ।' झन्डै चार दशक यसबारे कुनै सोधीखोजी हुन सकेन । यात्रा वर्णनमै लेखकको नाम नठेकिएकाले यसको अनुमान र अड्कल मात्र भइरह्यो ।
प्रथम राणा प्रधानमन्त्री जंगबहादुरले १९०६ (सन् १८५०) तिर बेलायत भ्रमण गरेका थिए । कोलकाताबाट चार महिनाको पानीजहाज यात्रापछि बेलायत पुगेका उनी त्यहाँ ८०–८१ दिन बसे भने ४० दिन फ्रान्स । जंगबहादुर बेलायत भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुन् ।
इतिहासकार ज्ञानमणि नेपालका अनुसार भीमसेन थापा आफैं बेलायत जान कस्सिएका थिए । पछि माथवरसिंह थापा पनि बेलायत जाने चक्करमा लागे । काठमाडौंबाट कोलकाता हिँडेको आठ जनाको त्यो भ्रमण दलमा सबभन्दा कान्छो सदस्यका रुपमा जंगबहादुर पनि थिए । तर, कलकतामा रहेको इस्ट इन्डिया कम्पनीको मुख्यालयमा 'तिमी नेपालको राजप्रतिनिधि होइन, पर्यटकका रुपमा मात्र बेलायत जान सक्छौ' भनिएपछि माथवरसिंह रन्थनिँदै नेपाल फर्किए ।
त्यही अधुरो यात्राका कारण जंगबहादुरले सत्तारोहणलगत्तै बेलायत पुग्ने तयारी थाले । राजप्रतिनिधिका रुपमा १९ तोपको सलामी पाउने पक्कापक्की गरेर बेलायत हिँडेका उनी खासमा केही माग्न होइन, दिन र देखाउन गएका रहेछन् । शिरदेखि पाउसम्म हिरा, जवाहरत, मणिमाणिक्यले झकिझकाउ भएर गएका उनले महारानी भिक्टोरियालाई दिन भारीका भारी उपहार लगेको इतिहास पाइएको छ ।
युरोप यात्रामा धनदौलत छरेको देखेर सल्लाहकारहरूले 'खर्च बढी भयो कि महाराज' भन्दा जंगबहादुरले भनेका थिए रे, ‘म यहाँ दिन र देखाउन आएको हुँ ।' जंगबहादुरले महारानी भिक्टोरियालाई कति गैंडाका खाग, हस्तीहाडका सामान, असर्फी, देवदेवीका प्रतिमा, गहना उपहार दिए भन्ने चाहिँ नखुल्ने इतिहासकार नेपालको भनाइ छ ।
बेलायतपछि फ्रान्स आएका जंगबहादुर रासलीलामा रुचि राख्छन् भन्ने थाहा पाएर दलालहरूले बेश्यालय लगेको र वेश्यागमनपछि पतिया (प्रायश्चित्त)का उपाय सोधेर विजयराज पण्डितलाई पत्र लेखेको प्रमाण छ । यद्यपि जंगबहादुरले युरोपबाट युवतीहरु भने ल्याएको देखिँदैन । नेपालमै उनका ३५–३६ जना विवाहित पत्नी थिए ।
जंगबहादुरले बेलायतमा रवाफ देखाउन त्यो समयकी सबैभन्दा महँगी 'कलगर्ल' लाउरा बेललाई अढाई लाख रुपैयाँ दिएको भनिए पनि त्यो नगद नभएर त्यति बराबरका मूल्यका हिरालगायतका बहुमूल्य रत्न दिएको इतिहासकारहरुको तर्क छ । नाइट पार्टीमा उनले ह्वार–ह्वार असर्फी छरेको पनि सुनिन्छ । कमलमणि दीक्षितले झकिझकाउ भएर बेलायत गएका जंगबहादुर फुस्रा भएर फर्किएको टिप्पणी गरेका छन् । खल्ती छामछुम गर्दा केही नभेटिएपछि घाँटीमा बाँकी रहेको माला फुकालेर बाँड्ने गरेको पनि चर्चा हुन्छ ।
यति रोचक र महत्वपूर्ण पुस्तकको अघोषित लेखकबारे माथापच्ची हुने क्रममा २०६२ मा 'उन्नयन' पत्रिकामा इतिहासकार चित्तरञ्जन नेपालीले सुब्बा सिद्धिमान राजभण्डारीको नाम अगाडि ल्याए । सुब्बापछि कर्नेल भएका सिद्धिमान काम भने निजामतीकै गर्थे । उनलाई सरदारमा पदोन्नति गरी खजान्चीको जिम्मेवारी दिएका थिए जंगबहादुरले ।
पछि दीक्षितले ‘बेलाइतयात्रा’ लेखिएको लेखोट (फोटो कपी)का पहिलो, ३१ र ३२ पृष्ठ फेला पारे । त्यसको मुखपृष्ठमा लेखिएको थियो, 'श्री ३ महाराज। जंगबहादुर कुँवर राणाका बेलायत् साथ जाने. षरिदार. हरीज्यूले. लेषेको डायेर।' । यद्यपि धुइँपत्ताल खोज्दा पनि दीक्षितले हरि नामक खरिदारको हुलिया फेला पार्न सकेनन् ।
जंगबहादुरको बेलाइत जाने टोलीमा जम्मा २५ जना किटिए पनि जंगबहादुरबाहेक अरु १२ जनाको मात्र नाम भ्रमणवृत्तान्तमा छ । तर, हरि नामक खरिदारबारे उल्लेख छैन । खरिदारमा एक जना पृथ्वीधर पाध्या मात्र देखिन्छन् । दीक्षितको दाबीमा डायरी लेख्ने मान्छेले आफ्नो नाम लिनु जरुरी ठानेन सायद ।
त्यसो त दीक्षितले फेला पारेको फोटोकपीको चार पाना कसैले सारेको थियो । आफ्नो नामका अगाडि पक्कै कसैले ‘ज्यू’ जोड्दैन, ओहदाको फुँदा गाँसे पनि । खरिदार हरिले बत्तीसौं पृष्ठमा एउटा कविता श्लोक पनि लेखेका छन्, जंगबहादुरको प्रशंसामा । त्यो कविता पहिलेको मूल प्रतिमा थिएनन् ।
कमल दीक्षितले २०१४ ताका अन्दाजमकै भरमा जंगबहादुरको यात्रा वर्णनको किताब १९१० तिर लेखिएको अनुमान गरेका थिए । त्यो लेखोट भेटेपछि यकिन भयो, 'संवत् १९०७ साल कात्र्तिक ३. शुभम् ।' त्यसपछि अघोषित लेखकबारे कमल दीक्षितले माथापच्ची गरे । आखिर को हुन् त सुब्बा सिद्धिमान, सुब्बा शिवनरसिंह वा खरिदार हरिज्यू ?
दीक्षितले जंगबहादुरसँग बेलायत गएकामध्ये दुई जना सम्भावित लेखकका रुपमा अंग्रेजी पढेका लेफ्टिनेन्ट लालसिंह खत्री र जंगबहादुरका विश्वासपात्र सुब्बा सिद्धिमान राजभण्डारीलाई अगाडि सारे । किताबको लन्डन सहरमा डेरा खोज्ने प्रसंगपछि खत्री सम्भावित लेखकको सूचीबाट हटे ।
त्यसपछि आए, जंगबहादुरको यात्रादलमा रहेका सुब्बा शिवनरसिंह । यी सुब्बाको नाम जंगबहादुरको बेलाइतयात्रामा 'सुवा शिवनरसि' र उनकै छोरा पद्मजंग राणाको जंगबहादुरको जीवनीमा 'सुवा सुम् नरसिंह' अनि जगन्मोहन बर्माको पुस्तक 'राणा जंगबहादुर' मा 'सुवा शंकर सिंह' लेखिएको छ भने पुरुषोत्तमशमशेरको 'श्री ३ हरुको तथ्यवृत्तान्त' मा 'सुवा साम नरसिंह' ।
इतिहास शिरोमणि बाबुराम आचार्यले यिनै सुब्बा शिवनरसिंहलाई लेखकको ताजपोष पहिरिदिएका छन् । उनको भनाइमा सिद्धिमान विद्वान र लेखक थिएनन् । तर आचार्यको दाबीलाई चित्तरञ्जनले ठाडै अस्वीकार गरेका छन् । आचार्यलाई उद्धृत गर्दै शिवनरसिंहका सन्ततिले त्यसमा दाबी छाडेका छैनन् ।
त्यसपछि दीक्षितले निर्णय दिएका छन्, जंगबहादुरको पालामा लेख्नेवर्ने काम निजामतीतर्फको हुन्थ्यो । अंग्रेजी पढेकाले भन्दा संस्कृत पढेकाले नै 'कमलपत्रजस्तो आँखा' भनी स्त्रीको तारिफ गर्न सक्छन् । २०६३ वैशाख १ मा चित्तरञ्जनले दीक्षितलाई पत्र पठाउँदै 'जंगबहादुरको बेलाइतयात्रा'को नयाँ संस्करणमा ‘सुब्बा सिद्धिमान राजभण्डारीकृत’ थप्ने निर्णयमा समर्थन जनाएका छन् ।