असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरु गर्ने सरकारको तयारी, शैक्षिक सत्र प्रभावित नहुने

असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरु गर्ने सरकारको तयारी, शैक्षिक सत्र प्रभावित नहुने

काठमाडौं । विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीले आगामी असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरु गर्ने भएपछि विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने भएको छ।

विद्यार्थीले अब २०७७ चैतभित्र यो शैक्षिक सत्रको पढाइ पूरा गर्न सक्ने अवस्था सिर्जना भएको खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले असार १ देखि सबै विद्यालयले वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्ने र चैतभित्र पठनपाठन पूरा गर्ने गरी अगाडि बढ्ने योजना रहेको जानकारी दिए।

कोरोना भाइरस (कोभिड–१९) को बन्दाबन्दीका कारण दुई महिनाभन्दा बढी समय विद्यार्थी घरमा बसे पनि विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। असार १ देखि सुरु गरिने वैकल्पिक विधिको कक्षा सञ्चालन कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण जनजीवन सामान्य नहुँदासम्म जारी रहने छ।

वैकल्पिक विधिबाट कक्षा सञ्चालन हुनुअघि विद्यालयले आफ्ना पुराना तथा नयाँ विद्यार्थीको खोजी गर्नुपर्ने छ। अनलाइन कक्षा सञ्चालन प्रभावकारी बनाउन विद्यार्थीको उपस्थिति हुनुपर्न उनले बताए।

विद्यालयले आफ्ना विद्यार्थीलाई पुस्तक तथा नतिजा उपलब्ध गराउनुपर्ने छ। अघिल्लो शैक्षिक सत्रजस्तो हिसाबले विद्यार्थी भर्ना गर्न व्यावहारिक समस्या भए पनि विद्यालयले आफ्ना विद्यार्थीको अभिलेखीकरण गरेर पठनपाठन अघि बढाउन सक्ने प्रवक्ता शर्माले बताए।

निजी विद्यालयका सञ्चालकहरूले पनि आफ्ना विद्यार्थी खोजी गर्दै उनीहरूलाई वैकल्पिक विधिबाट पढाउने तयारी गरिने जनाएका छन्। असार १ देखि वैकल्पिक विधिबाट पढाउने गरी सरकारले बाटो खुला गरेकोमा निजी तथा आवासीय विद्यालय सम्बद्ध संस्थाहरूले स्वागत गरेका छन्।

जारी बन्दाबन्दीका कारण घरमै रहेका बालबालिकालाई वैकल्पिक विधिबाट सिकाउने निर्णय स्वागतयोग्य भएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले बताए।

अभिभावकसँग सम्पर्क स्थापित गरेर विद्यार्थीको विवरण अद्यावधिक गरेपछि वैकल्पिक विधिबाट पढाउन सुरु गरिने जानकारी उनले दिए। विद्यार्थी भर्ना, मासिक शिक्षण शुल्कलगायत विषय अभिभावकसँगको संवादपछि मात्रै तय हुने र यसमा स्पष्ट हुन केही समय लाग्ने उनको भनाई छ।