काठमाडौं : प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ३० स्थानमा विजय हासिल गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले १३ स्थानमा चुनाव जितेको छ । समाजवादी पार्टी नेपालले चार र राष्ट्रिय जनता पार्टी (राजपा) ले तीन स्थानमा विजयी हासिल गरेका छन् भने एक स्वतन्त्र उम्मेदवारले पनि उपनिर्वाचनमा बाजी मार्न सफल भएका छन् ।
नेकपाले प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष ३ र विभिन्न पालिकाका २४ वडाका अध्यक्ष पद जितेको छ । त्यस्तै कांग्रेसले प्रदेश सभा सदस्य १, उपहानगरपालिकाको मेयर १ र विभिन्न पालिकाका ११ वडाध्यक्षमा जित हात पारेको छ । प्रतिनिधिसभातर्फ उपचुनाव भएको एक मात्र कास्की २ मा नेकपाले जित दोर्होयाएको छ । यसअघि रवीन्द्र अधिकारीले जितेको यो ठाउँमा यसपटक विद्या भट्टराई निर्वाचित् भएका हुन् ।
उनले कांग्रेस उम्मेदवार खेमराज पौडेललाई हराएकी हुन् । त्यस्तै प्रदेश सभाअन्तर्गत भक्तपुर १ (क) मा नेकपाले आफ्नो सिट गुमाएको छ । कांग्रेस उम्मेदवार कृष्ण भँडेलले नेकपाका उम्मेदवार देवीप्रसाद ढकाललाई हराएका हुन् ।यसअघि यस क्षेत्रबाट नेकपाका उम्मेदवार हरिशरण लामिछानेले जितेका थिए । त्यस्तै प्रदेश सभातर्फ भने दाङमा नेकपाले र बागलुङ २ ‘ख’मा राष्ट्रिय जनमोर्चाले जित दोहोर्याएका छन् । दाङ क्षेत्र नम्बर ३ (ख) मा नेकपाका उम्मेदवार विमलाकुमारी ओली विजयी भएकी हुन् ।
उनि नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई पाँच हजार १सय४ मत अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा विजयी भएकी हुन् । बागलुङ २ ‘ख’ मा नेकपाको समर्थनमा जनमोर्चाका उम्मेदवार खिमविक्रम शाही विजयी भएका हुन् । त्यस्तै पहिले तत्कालीन एमालेले जितेको धरान उपहानगरपालिको मेयर पनि नेकपाले गुमाएको छ । धरान उपहानगरपालिकामा कांग्रेस उम्मेदवार तिलक राई विजयी भएका हुन् ।
उनले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराएका हुन् । उपचुनाव भएको तीन गाउँपालिकाको अध्यक्षमा संखुवासभाको मकालुमा नेकपाले जित दोर्होयाएको छ । यसअघि कांग्रेसले जितेको पाँचथरको फाल्गुनन्द र राजपाले जितेको महोत्तरीको पिपरामा पनि नेकपा विजयी भएको छ । एक प्रदेश सभा गुमाएको नेकपालाई दुई गाउँपालिकामा फाइदा भएको छ ।
एउटा गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा विजयी भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकामा नेकपा विजयी भएको हो । यसअघि यहाँ कांग्रेसले जितेको थियो । साझा र विकेकशील पार्टीले चर्चाअनुसार कहीँ पनि उल्लेखनीय मत ल्याउन सकेनन् । पहिलोपटक चुनावमा भाग लिएको सिके राउतको पार्टीको मत पनि नगण्य आयो ।