काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुर कार्यालयमा तालाबन्दी गरिएको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रदेश ३ भक्तपुर क्षेत्र नं. १ (क) का लागि पार्टीले देवीप्रसाद अर्थात डीपी ढकाललाई उम्मेदवारी बनाएकोमा आपत्ति गर्दै आज कार्यालयमा तालाबन्दी गरिएको हो ।
नेकपा जिल्ला कमिटी सदस्य मन्दरा मिश्र, साधुराम दाहाललगायत जिल्ला कमिटीका पदाधिकारी, सदस्य, चाँगुनारायण क्षेत्रका नेकपाका सयौँ कार्यकर्ताको टोलीले उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेका हुन् । टोलीले सूर्य्विनायकस्थित पार्टी कार्यालयको ढोकामा प्रेस विज्ञप्ति टाँसेर दुईवटै ढोकामा तालाबन्दी गरी नाराबाजी गरेका छन् ।
पार्टी कार्यालय बाहिर पनि पार्टीको निर्णयविरुद्ध चर्को नाराबाजी गरिएको थियो । पार्टीले निर्णय फिर्ता लिएर अर्को उम्मेदवार चयन नगरेसम्म तालाबन्दी जारी राखिने आन्दोलनरत् पक्षले बताएका छन् । नेकपा भक्तपुर जिल्लाले रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, डीपी ढकाल र नारायणी दङ्गालको नाम सिफारिस गरेको थियो ।