लकडाउन जनताको जीवनका लागि हो, सरकारका लागि होइन : प्रधानमन्त्री ओली

लकडाउन जनताको जीवनका लागि हो, सरकारका लागि होइन : प्रधानमन्त्री ओली

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणको दायरालाई जिल्ला–जिल्लामा विस्तार गरेको छ ।

सरकारले जारी गरेको लकडाउनलाई सबै दल, नागरिक क्षेत्र र आम जनताले समर्थन गरेका छन् । बाध्यात्मक यस लकडाउनका कारण समग्र आर्थिक गतिविधि र खासगरी ज्यालादारी, श्रमिक र गरिखाने वर्ग समस्यामा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उपचार नपाएर रोग वा खान नपाएर भोकका कारण कुनै पनि नागरिक मर्नु नपर्ने घोषणा गर्दै आउनुभएको छ, तर सम्बन्धित तहमा कार्यान्वयन तथा समन्वयका क्षेत्रमा कतिपय गुनासो र कमजोरीहरु देखिएका छन् ।

यिनै सन्दर्भमा केन्द्रित रहेर प्रधानमन्त्री ओलीसँग राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक श्याम रिमाल र वरिष्ठ समाचारदाता प्रकाश सिलवालसहित सरकारी स्वामित्वका सञ्चारमाध्यमका प्रतिनिधिले शनिबार साँझ गरेको कुराकानीको सम्पादित विवरण ः विश्वका कतिपय मुलुकको तुलनामा नेपालमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमै भए पनि पछिल्लो समयमा आएका रिपोर्टहरुले सङ्क्रमितको सङ्ख्या बढेको देखाएको छ, यसले कतै समयमा परीक्षण नगरेका कारण सङ्ख्या बढेको त होइन भन्ने प्रश्न पनि खडा गरेको छ । तपाईँ स्वयंको मूल्याङ्कनचाहिँ के छ ? कोरोना भाइरस आज विश्वमै मानव जातिले भोगेको गम्भीर प्रतिकूलता हो । यस भयावह महामारीले सिङ्गो विश्वलाई यसले लपेटेको छ ।

यो शताब्दिऔँपछिको एक गम्भीर चुनौती हो । यस सङ्मणबाट सुरक्षित हुन नेपालले बेलैमा रोकथामका उपायहरु अवलम्बन गरेको थियो । विदेशबाट हवाईमार्ग आउने नागरिकलाई हामीले अझै अगाडि रोक्न सक्ने थियौँ तर हामी विश्व व्यवस्थाभन्दा अलग्गै वा एक्लै अघि बढ्न सक्ने स्थिति पनि थिएन । कतिपय मुलुकले उडानहरु नरोकेको समयमा नेपालमा मात्रै रोकिँदा किन रोकियो ? भन्ने प्रश्न पनि आउन सक्ने थियो । अन्तर्राष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएकाले नेपालमा यस महामारीले विशाल रूप लिनसकेको छैन ।

जे होस्, हामीले बन्दाबन्दी जारी ग¥यौँ । सामाजिक दूरी कायम गरी अन्य सचेतना अपनाउँदै स्वास्थ्य सुरक्षा, विश्व स्वास्थ्य सङ्गठनका मापदण्डको पालना, हाम्रा सिकाइहरुलाई लिएर परीक्षण र उपचारका काममा हामीले तदारुकता दिएका छौँ । म विस्तृत तथ्याङ्कमा जान चाहन्न तर अहिलेसम्म सङ्क्रमित भएका ३० मध्ये दुई जना उपचारपछि निको भएर फर्किएका छन् । सङ्क्रमितमध्ये एक जनाबाहेक सबै विदेशबाट नेपाल आउँदा सङ्क्रमित भएको देखिएको छ । यो कुनै पूर्वसङ्केतबिना आएकाले हामी कसैले यसको रोकथामका लागि पूर्वाभ्यास र तयारी गर्न पाउने कुनै भएन । विश्वका ठूला–ठूला शक्तिशाली मुलुकलाई पनि लपेटिरहेको छ ।

नेपालमा अहिले कोभिड–१९ परीक्षणलाई ७७ जिल्लामा नै विस्तार गरिएको छ । सबै ठाउँमा स्वास्थ्य सामग्री र जनशक्ति पु¥याइएको तथा सङ्क्रमित र सङ्क्रमण सम्भावितको खोजीखोजी आरडिटी र पिसीआर दुवै परीक्षणलाई तीव्रता दिइएको छ, जबकि पहिलो सङ्क्रमितको ‘केस’लाई हामीले हङकङबाट परीक्षण गरेका थियौँ । दोस्रो सङ्क्रमतिपछि मात्रै नेपालमा परीक्षण गराउन थाल्यौँ । लकडाउन त आवश्यक नै देखिन्छ तर यसबाट परेका अरु असर पनि देखिन थालेका छन् । हुन त, विश्वका ठूला मुलुकमा पनि यो समस्याको विषय भएको छ । के लकडाउनलाई फरकरुपमा वा खुकुलो पार्ने सोच्नुभएको छ ? यस महामारीले नेपालमा विकराल रूप लिन नसकोस् भनेर हामीले काम गरिरहेका छौँ । जनतामा स्वास्थ्यसम्बन्धी सचेतना गराएका छौँ ।

सीमानाकालाई कडाइ गरेका छौँ । लुकीछिपी प्रवेश गर्नेलाई पनि हामीले कडाइ गरेका छौँ । अब लुकेर बस्ने प्रवृत्ति पनि मानिसहरुमा भएका कारण सम्भावित सङ्क्रमितलाई खोजेर परीक्षण गरी उपचार गराउनुपर्ने स्थिति छ । यद्यपि यो लुकाउन सकिने रोग होइन । यो रोग लुकाउँदा झन् विस्फोटक भएर फैलन सक्छ । जसरी आगोले भेटेपछि कसैलाई पोल्न छोड्दैन यसले पनि कुनै ठूलो, सानो, धनी गरिब र जात वा लिङ्ग भनेर चिन्दा पनि चिन्दैन । यसले सबैलाई लपेट्न सक्छ । कोरोना पनि एक प्रकारको ढडेलो हो ।

नेपाल सरकारले मानवीय मूल्य र तिनको जीवनरक्षालाई पहिलो प्राथमिकता दिएको छ, यसमा हामी राजनीति गर्दैनौँ, अर्थतन्त्रको नाफाघाटा हेर्दैनौँ, नेपाली जनता, मानव र नागरिक बचाउनेतिर मात्र हाम्रो ध्यान छ । यसबाट कसैको ज्यान नजाओस् र बिरामीले राम्रोसँग उपचार पाओस् भनेर पहलहरु गरेका छौँ । लकडाउन पनि त्यसैको उपज हो । मानिस बचेमा अर्थतन्त्र पुनः उठाउन सकिन्छ । अर्काे वर्ष आर्थिक उपार्जन गर्न सकिन्छ तर यस वर्ष मानिस मरेका अर्काे वर्ष उठाउन सकिन्न । बालबच्चाका अभिभावक गुमेर टुहुरा भए भने हामीले तिनलाई अर्को वर्ष अभिभावक उपलब्ध गराउन सक्दैनौँ । बूढाबूढी गुमे पनि हामीले छोराछोरीलाई सहारा दिलाउन सक्दैनौँ ।