दसैँमा टीका थाप्न जाँदै हुनुहुन्छ? जान्नुहोस् आज देशभरको मौसम कस्तो रहनेछ

दसैँमा टीका थाप्न जाँदै हुनुहुन्छ? जान्नुहोस् आज देशभरको मौसम कस्तो रहनेछ

काठमाडौं। बडादसैँको मुख्य दिन (विजयादशमी) मा मान्यजनको हातबाट टीका र जमरा थाप्न आउजाउ गर्ने तयारीमा हुनुहुन्छ भने मौसमको अवस्थाबारे जानकार रहनु उपयुक्त हुनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

दसैँको मुख्य दिन हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहे पनि तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार दसैँको मुख्य दिन दिउँसो देशको हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यसैगरी, हिमाली भू-भागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटफुट वर्षा तथा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा भने कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने देशका बाँकी हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। यस्तै, तराईका भू-भागमा बिहानपख केही स्थानमा हुस्सु वा कुहिरो लाग्न सक्ने भएकाले यात्रा गर्दा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।