काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सञ्चारगृहबाहिर पार्किङ गरिएका सवारीसाधनमाथि भएको घटनाका दोषीलाई छानबिन गरी कानुनी कारबाही गरिनुपर्नेमा जोड दिएका छन्।
मङ्गलवार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले उक्त घटनाका सम्बन्धमा पार्टीले आफ्नो आधिकारिक धारणा विज्ञप्तिमार्फत स्पष्ट पारिसकेको उल्लेख गर्दै यसमा कुनै सम्झौता नहुने बताए। उनले घटनामा आफ्नो पार्टीका नेता वा कार्यकर्ता जोसुकै संलग्न भएको पाइए पनि कारबाही हुनुपर्ने अडान राखेका छन्।
यसैबिच, सभापति लामिछानेले प्रधानमन्त्रीसँग राष्ट्रिय राजनीति, मुलुकको समसामयिक परिस्थिति र आगामी कार्यदिशाका विषयमा सकारात्मक एवं परिणाममुखी छलफल भएको जानकारी समेत दिए।
भेटका क्रममा उनले देशमा लामो समयदेखि कायम रहेको सुकुम्वासी समस्या समाधानका लागि चालिएका कदमहरूलाई थप प्रभावकारी र गतिलो बनाउन प्रधानमन्त्रीलाई सुझाव दिएको समेत स्पष्ट पारे।