रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने पुनः निर्विरोध निर्वाचित भएका छन् ।

असार ७ गतेदेखि चितवनमा जारी पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा सभापति पदका लागि लामिछानेको मात्र एकल उम्मेदवारी परेपछि उनी आगामी दोस्रो कार्यकालका लागि सर्वसम्मत चुनिएका हुन् ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले निर्धारित समयभित्र अन्य कसैको पनि मनोनयन दर्ता नभएकाले लामिछाने निर्विरोध निर्वाचित भएको पुष्टि गरेको छ ।

निर्वाचन आयोगका अनुसार लामिछानेको सभापति पदको उम्मेदवारी मनोनयनका लागि रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह प्रस्तावक बसेका थिए भने ५१ जना केन्द्रीय समिति, सांसद र सचिवालय सदस्यहरूले सो प्रस्तावलाई समर्थन गरेका थिए ।

पहिलो महाधिवेशनमार्फत शीर्ष नेतृत्वमा सर्वसम्मत समझदारी जुटेसँगै बन्दसत्र हल बाहिर नेता-कार्यकर्ताहरूमा उत्साह छाएको छ । सभापति पदमा निर्विरोध चयन भइसके पनि निर्वाचन आयोगले तय गरेको प्रक्रिया पूरा गरेर यसबारे औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।

यस्तै, पार्टीका अन्य केन्द्रीय सदस्य पदका लागि भने आज बिहानदेखि मतदान प्रक्रिया अगाडि बढाउने गरी निर्वाचन आयोगले तयारी थालेको छ ।

छुटाउनुभयो कि ?