रास्वपा सभापति रवि लामिछानेको उद्घोष: ‘देश रास्वपाको हातमा सुरक्षित छ, प्रतिशोध र दम्भभन्दा टाढा रहेर नागरिक जिम्मेवारी पूरा गर्छौँ’

रास्वपा सभापति रवि लामिछानेको उद्घोष: ‘देश रास्वपाको हातमा सुरक्षित छ, प्रतिशोध र दम्भभन्दा टाढा रहेर नागरिक जिम्मेवारी पूरा गर्छौँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी गैरराजनीतिक पृष्ठभूमिबाट आएका आम नागरिकहरूको साझा मञ्च बन्न पुगेको बताएका छन्।

आइतबार चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले राज्य संयन्त्र र पुराना दलहरूसमक्ष आफूहरूले पटक–पटक जनसरोकारका विचार र दृष्टिकोण प्रस्तुत गरे पनि कतै सुनुवाइ नभएपछि बाध्य भएर वैकल्पिक राजनीतिको उदय भएको स्पष्ट पारे। आफूहरूले कहिले टेलिभिजनको पर्दाबाट, कहिले राजनीतिक मैदानमा प्रवेश गर्दाको घोषणापत्रबाट त कहिले जेलको कालकोठरीबाट समेत नागरिकका आवाज उठाए पनि त्यसलाई बेवास्ता गरिएकै कारण आज यो नयाँ राजनीतिक शक्ति निर्माण हुनुपरेको उनको भनाइ थियो।

सम्बोधनका क्रममा लामिछानेले रास्वपालाई कमजोर बनाउन वा लडाउन सक्ने तागत अबको नयाँ युगमा कसैसँग नभएको दाबी गरे। विगतमा आफूले 'रास्वपा लड्यो भने आफ्नै खुट्टामा अल्झिएर लड्छ' भनी दिएको अभिव्यक्ति स्मरण गर्दै उनले अहिलेको परिस्थिति बदलिइसकेको र रास्वपालाई ढाल्न सक्ने शक्ति अब मुलुकमा जन्मन नसक्ने दृढता व्यक्त गरे।

यद्यपि, ‘फुटाउ र राज गर’ भन्ने पुराना राजनीतिक सिद्धान्तअनुसार रास्वपाभित्र पनि फुट ल्याउने अनेकौँ प्रयत्नहरू हुन सक्ने भन्दै उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई सधैँ सचेत र सजग रहन आह्वान गरे।

आफू भैरहवा कारागारमा बन्दी रहँदा ‘एक दिन जनताले तस्करले दिएको घडी खोसेर हतकडी लगाउनेछन्’ भनी लेखेको कुरा उल्लेख गर्दै उनले बदलिएको यही जनलहरले आज रास्वपालाई देशको सबैभन्दा शक्तिशाली राजनीतिक शक्तिका रूपमा स्थापित गराएको जिकिर गरे।

शक्तिशाली हुनुको अर्थ दम्भ देखाउनु वा कसैप्रति प्रतिशोध साध्ने लाइसेन्स पाउनु नभएको प्रष्ट पार्दै लामिछानेले रास्वपा प्रतिशोधको राजनीतिभन्दा निकै माथि उठेर एउटा अदम्य जनमतसहित नागरिक जिम्मेवारी पूरा गर्न आएको बताए। "निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ र देश सुरक्षित छ," उनले भने।

अघिल्लो पुस्ताको नेतृत्व र संघर्षले ल्याएका अमूल्य उपहारहरू जस्तै– लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, मानव अधिकारको प्रत्याभूति, समतामूलक समाज र समावेशिता जस्ता स्थायी मूल्यहरूलाई रास्वपाले सधैँ जगेर्ना, सम्मान र संरक्षण गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। विगतका ऐतिहासिक आन्दोलन र उपलब्धिहरूको तिरस्कार गर्ने दुष्साहस रास्वपाले कहिल्यै नगर्ने र यसले स्थापित लोकतान्त्रिक मान्यताको सीमा कहिल्यै ननाघ्ने उनले स्पष्ट पारे।

सभापति लामिछानेले राष्ट्रिय राजनीति सफा हुनका लागि कुनै एउटा दल मात्र ठिक भएर नपुग्ने भन्दै सबै दलहरू जिम्मेवार हुनुपर्ने धारणा राखे। देशका दुई पुराना र ठूला दल नेपाली कांग्रेस तथा नेकपा एमालेभित्र कतिपय आन्तरिक समस्या र अप्ठ्याराहरू देखिएको टिप्पणी गर्दै उनले ती दलका समस्या सुल्झिएनन् भने त्यसको प्रत्यक्ष नकारात्मक असर समग्र देशलाई पर्ने चेतावनी दिए।

कांग्रेस र एमालेलाई आफ्ना आन्तरिक असमझदारी र अप्ठ्याराहरू चाँडो मिलाउन शुभकामना दिँदै लामिछानेले रास्वपा मुलुकमा लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ र थितिबद्ध बनाउन लागिपर्ने संकल्प दोहोर्‍याए।

छुटाउनुभयो कि ?