नागरिक सरकारमा दलीय छाया: मन्त्री घिसिङ, खरेल र गुप्ता रास्वपा कित्तामा

नागरिक सरकारमा दलीय छाया: मन्त्री घिसिङ, खरेल र गुप्ता रास्वपा कित्तामा

काठमाडौं। राजनीतिक दलका नेताबीच एकता र धु्रवीकरण तीव्र भएसँगै जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारमा दलीय प्रतिधिनित्व बढेको पाइएको छ।

आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसक्दा सरकारमा पनि दलीय छाया प्रष्ट दखिएको छ। ‘नागरिक अगुवा’का रूपमा सरकारमा सहभागी भएकाले राजनीतिक दलको प्रत्यक्ष फेरो र नेतृत्व सम्हालेका सहमति सार्वजनिक भएपछि यस्ता मन्त्रीलाई हटाउन प्रधानमन्त्रीमाथि चर्को दबाबसमेत परेको छ ।

ऊर्जा, सहरी एवं भौतिक पूर्वाधारसहित प्रमुख तीन मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष भएका छन्। युवा तथा खेलकुदमन्त्री भएका बब्लु गुप्तादेखि सूचना तथा सञ्चार एवं सरकारका प्रवक्ता जगदिश खरेलसम्म ‘दलीय गतिविधि’मा प्रत्यक्ष सहभागी हुँदै आएका छन्।

रास्वपा र उज्यालो पार्टी नेपालबीच सोमबार भएको सातबुँदे सहमतिमा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले ‘साक्षी’का रूपमा हस्ताक्षर गरे । सातबु ँदे सहमतिमा ऊर्जामन्त्री घिसिङ अब रास्वपा उपसभापति हुने उल्लेख छ । सहमतिपछि नागरिक सरकारमाथि समेत प्रश्न उठेको छ। उज्यालो पार्टी संरक्षक घिसिङले यसअघि आफ्नो राजनीतिक दलको संलग्नता लुकाउँदै आएका थिए । तर, पार्टी घोषणादेखि एकीकरणसम्म आइपुग्दा घिसिङ दलमा आबद्ध रहेको स्पष्ट भएपछि प्रश्न उठ्न थालेको हो।

सोमबार राति सरकारका ऊर्जामन्त्रीसमेत रहेका उज्यालो पार्टी संरक्षक घिसिङको रोहवरमा पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायले रास्वपासँग सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर समारोहमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासमेत उपस्थित थिए । उनी योसँगै रास्वाप अभियानमा प्रत्यक्ष जोडिएको रास्वपाकै नेताले बताएका छन् ।

गुप्तासँगै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललेसमेत रास्वपाप्रति ऐक्यबद्धता जनाएको ती नेताको भनाइ छ । रास्वपा नेताको भनाइ पुष्टि गर्नेगरी मन्त्री खरेलले पछिल्ला दिन सामाजिक सञ्जालमा रास्वपा र सो पार्टीले गरिरहेको एकीकरण प्रक्रियाप्रति गर्व गर्दै ‘स्टाटस’ लेखिरहेका छन् ।

यता, कांग्र ेस प्रवक्ता डा. प्रकाशशरण महतले अन्तरिम सरकारलाई निर्वाचन गराउनेमात्र ‘म्यान्डेट’ रहेकाले कुनै दलमा सहभागी भएपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा जोड दिए । ‘यो सरकारलाई चुनाव गराउनमात्र म्यान्डेट दिइएको हो, सरकारका मन्त्री नै पार्टीमा लागेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्छ,’ उनले भने, ‘स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्नेमा प्रश्न उठेको छ ।’

नेपाल कम्युनिस्ट पार्टी (एमाले) महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिको दाबी गर्नेले गैरदलीय सरकारका मन्त्रीलाई उपसभापति बनाएकोप्रति प्रश्न उठाए । ‘वैकल्पिक शक्तिको दाबी गर्नेले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिई उपसभापति बनाउनु कति उचित हो ?’ पोखरेलले राजधानीसँग भने।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता गिरिराजमणि पोखरेलले पनि नैतिकतामाथि प्रश्न उठाए । नयाँ शक्तिबीच एकता वा ध्रुवीकरण हुनुलाई सकारात्मक रूपमा लिँदै पोखरेलले ‘यस्ता विषयमा सम्बन्धित व्यक्ति आफैंले बुझ्नुपर्ने’ उल्लेख गरे । ‘आफैं धामी र आफैं झाँक्रीजस्तो भयो । प्रश्न उठाउनेभन्दा पनि सम्बन्धित दल वा व्यक्ति आफैंले बुझ्ने विषय हो,’ उनले भने, ‘मुख्य कुरा निर्वाचन नगरी देशले निकास पाउँदैन । निर्वाचनमा जानैपर्छ । त्यसकै लागि नागरिक सरकार बनेको हो।’

ऊर्जामन्त्री घिसिङ राजनीतिक दलमा आबद्ध रहेको भन्दै यसअघि नै आवाज उठाउँदै आएका आम जनता पार्टी (आजपा) अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले राजीनामा गर्नु पर्ने माग गरे । ‘यस विषयमा मैले पहिलेदेखि नै आवाज उठाउँदै आएको छु,’ उनले भने, ‘यो नागरिक सरकार भनिए पनि दलीय सरकार नै बन्न पुग्यो। अलिकति पनि लाज र नैतिकता छ भने तुरुन्त राजीनामा दिनुपर्छ ।’

सरकारले निष्पक्ष निर्वाचन गराउनेमा चौतर्फी प्रश्न उठेका बेला रास्वपा नेता गणेश पराजुलीले मन्त्री घिसिङले राजीनामा दिनेमा विश्वास व्यक्त गरे। नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउँदै उनले पार्टीमा जोडिएपछि ‘अब पार्टीमा पनि छलफल हुने’ बताए। गत २३ र २४ भदौको जेनजी आन्दोलनपश्चात् सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो।

त्यसयता घिसिङसहित गुप्ता, खरेलसहितका मन्त्रीले ‘दलीय अभ्यास’ गर्दै आएका छन् । मन्त्री घिसिङले गत १७ मंसिरमा आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी घोषणा गरेका थिए। त्यतिबेला पनि मन्त्री घिसिङको ‘नैतिकता’माथि आजपा प्रश्न उठाएको थियो । युवा तथा खेलकुदमन्त्री गुप्तासमेत एकता सहमतिमा सक्रिय सहभागी थिए।

यसअघि रास्वपा र काठमाडौं महानगरपालिका प्रमुख शाहबीच भएको सहमतिलाई समर्थन हुने हिसाबले सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका खरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखिएको ‘स्टाटस’प्रति पनि नागरिकस्तरमा प्रश्न उठ्न थालेको छ । गुप्ता सिरहा र खरेल ललितपुर जिल्ला रास्वपाबाट चुनावमा प्रतिस्पर्धा गर्ने चर्चासमेत छ।

राजधानी दैनिकबाट