चित्रकलाबाट ५१ सैयाको अस्पताल निर्माण

चित्रकलाबाट ५१ सैयाको अस्पताल निर्माण

नवलपुर: चित्र बेचेरै ५१ सैयाको अस्पताल , सुन्दा अचम्म लाग्न सक्छ तर यो कलाकार भिम शर्माको मेहनतले यो वास्तविकतामा परिणत भएको छ । सन् २०११ मा जर्मनीमा भएको एक जना नेपालीको एकल चित्रकला प्रदर्शनीस्थलमा लेखिएकको ‘यदि तपाईँलाई इच्छा लाग्यो भने यहाँका चित्रहरु लैजान सक्नुहुनेछ, बदलामा अस्पतालका लागि आवश्यक पर्ने सामग्रीहरु दिन सक्नुहुनेछ, हामी नेपालमा एउटा सामुदायिक अस्पताल बनाउँदैछौँ’ भन्ने वाक्यले सबैको ध्यान तान्यो र आज नवलपुरको गैँडाकोटमा ५१ सैयाको अस्पताल सञ्चालनमा छ ।

Image may contain: bird

‘कला मानव समुदाय र जीवनका लागि हुनुपर्छ,’ कलाकार भीम शर्मा यही हुटहुटीले स्थायी शिक्षकको पेसाबाट कलाकारितातर्फ मोडिए।चित्रकला सजिलै नबिक्ने समाजमा चित्रै कोरेर अस्पताल सुरु गर्ने भीमको सिर्जनशीलताले फरक तरंग पैदा गर्ने गरेको छ । शर्माको जन्म बागलुङमा भएको हो । सानैदेखि प्रकृति र चराचुरुङ्गीको चित्र कोर्न बढी रुचि राख्ने शर्मा नवलपुरको गैँडाकोटका स्थायी बासिन्दा हुन् ।

सन् २०११ को मार्च र अप्रिल महिनामा जर्मनीका तीन वटा शहर विटमण्ड, स्कोर्टेन्स र विलम्स हेभनमा उनले गरेको एकल चित्रकला प्रर्दशनीमा नेपालका चराहरुको बारेमा कोरिएका चित्र र रंगिएका भावहरु सार्वजनिक भएका थिए । चित्र प्रदर्शनीमा उनले चित्रको कुनै मूल्य राखेनन् बरु उपचार अभावमा अकालमैै ज्यान गुमाउने ग्रामीण नेपाली नागरिकको लामो आयकालागि सहयोग मागे । कलात्मक चित्र साटेर उहाँले अस्पतालका लागि आवश्यक सरसामाग्री जुटाउनुभयो र बन्यो जिल्लाकै एकमात्र ५१ शैयाको सहज सामुदायिक अस्पताल

Image may contain: indoor

भीम भन्छन्, ‘जर्मनीका केही चिकित्सक, त्यहाँको नगरपालिकाका मेयर, लेखकहरू लगायतसँग छलफल गरेर प्रदर्शनी गरेका थियौँ। मेरा सबै चित्र त्यहाँ आउनेले लगे र सट्टामा हस्पिटलका लागि आवश्यक बेड, डिजिटल एक्स–रे मेसिन, अल्ट्रासाउन्ड मेसिन, ल्याबका सामग्री, अपरेसन थिएटरका सामग्री लगायत थुप्रै सामग्री जुट्यो।’ शर्माले त्यहाँ प्राप्त सामग्री नेपाल ल्याउन धुलिखेल अस्पतालका डा. रामकण्ठ माकजूको सहयोग लिए। भीम नवलपुरको ‘सहमति’ नामक संस्थाको नेतृत्वमा रहँदा अस्पताल खोल्ने सोच राखेका थिए। त्यसपछि गैँडाकोट क्षेत्रका व्यक्तिसँगको सहकार्यमा गैँडाकोटमा ‘सहज सामुदायिक अस्पताल’ खोलियो। जसमा चित्र प्रदर्शनीबाट जुटाइएका अत्याधुनिक सामग्री छन्। यहाँका चित्र लैजान सक्नुहुन्छ र बदलामा अस्पतालका लागि आवश्यक सामग्री दिन सक्नुहुन्छ। हामी नेपालमा सामुदायिक अस्पताल खोल्दैछौँ– यही नोटका कारण प्रदर्शनीमा राखिएका एक सय १९ चित्र कुनै पनि बाँकी रहेनन्।

आफ्नो रुचि अनुसार संघर्ष गर्दै जाँदा उनी सफल चित्रकार भए। देशमा मात्र नभएर उनले हालसम्म जर्मन, क्यानडा, डेनमार्क, अफगानिस्तान, भारत, कोरिया लगायत देशमा आफ्ना चित्रकलाको प्रदर्शन गरिसकेका छन्। भीम कलाकारिता क्षेत्रमा लाग्नुको कथा पनि रोचक छ । विक्रम संवत २०४० सालको कुरा हो, मुस्ताङको एक विद्यालयको प्रधानाध्यापक रहेका शर्माले जाडो बिदामा घर आएका बेला गैँडाकोटमा चलेको ‘मिनी सर्कस’का लागि पोस्टरहरु बनाउनुपर्ने भयो । त्यही बेला वरिष्ठ कलाकार एवं साहित्यकार गोविन्दराज विनोदीसँग शर्माको भेट भयो र उनिसंग मिलेर झण्डै दुई महिना कार्यक्रमका लागि पोूटर बनाए ।

Image may contain: 1 person

फोटोग्राफी, साइनबोर्ड लेख्ने काम पहिलेदेखि नै गर्दै आएका शर्मालाई साहित्यकार विनोदीले कलाकारिताको प्यास देखेर स्कुल छोड्न सुझाए । आफ्नै रुचीमा फर्कन गरेको विनोदीको आग्रहलाई स्वीकारेर शर्माले तत्काल जागिर छोडर औपचारिक रुपमा नै चित्रकलातर्फको यात्रा सुरु गरे । अहिलेसम्म नौवटा एकल चित्रकला प्रदर्शनी गरिसकेका शर्मा भन्छन्, ‘नेपालमा कलाकृतिको बिक्री निकै कम हुन्छ। नेपालमा बिक्री हुनेमध्ये करिब ६० प्रतिशत चित्रकला विदेशीले किन्छन्।’सन् २०१५ मा अफगानिस्तानमा नेपालको प्रतिनिधित्व गर्दै उनीसहित १० नेपाली कलाकारले सार्क चित्रकला प्रदर्शनी गरेका थिए। जसमा उनका तीन चित्र समावेश थिए।

Image may contain: bird

प्रदर्शनीमा एउटै चित्र ७० हजारको हाराहारीमा बिक्री भएको उनी बताउँछन्। त्यस्तै, सन् २०१६ एनआरएनले डेनमार्कमा आयोजना गरेको नेपाली सांस्कृतिक तथा सामाजिक अभ्यास विषयमा आधारित प्रदर्शनीमा पनि उनका चित्र बिक्री भएका थिए। गत वर्ष कोरियामा आयोजना भएको प्रदर्शनीमा उनका दुई चित्र ६ सय डलरमा बिक्री भएका थिए। हालसम्म तीन हजारभन्दा बढी चित्र कोरेको र पाँचवटा चित्रकथा प्रकाशित गरेको शर्मा बताउँछन् । विशेषगरी प्रकृति, मानिसको दैनिकी, चराचुरुंगी आदिलाई उनले चित्रमा उतार्न रुचि राख्छन्।

No photo description available.

अहिले उनी चराचुरुंगीको जीवनमा आधारित चित्रहरूको प्रदर्शनी गर्ने तयारीमा छन्। नवलपुरको गैँडाकोट–५ मा रहेको ‘कलावती आर्ट काउन्सिल’मा उनका एक हजारभन्दा बढी चित्रकला छन्। काठमाडौं उपत्यकाबाहिर यो नै ठूलो आर्ट ग्यालरी भएको उनको भनाइ छ। पेन्टिङ किन्ने र सजाउने प्रवृत्ति नेपालमा विकसित नभइसकेको उनको अनुभव छ। काठमाण्डौमा आर्ट किन्ने संस्कारको सुरुमात्रै भएको छ । तर राजधानीबाहिर यसको प्रचलन छैन’ शर्माले भने ।