प्रकाश बस्याल, काठमाडौं : काठमाडौंबाट ७ किमि पर दक्षिणकाली जाने बाटैमा पर्छ टौदह। ‘टौ’ भनेको नाग वा सर्प र ‘दह’ भन्नाले पोखरी अर्थात् नाग बस्ने स्थल हो। उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक तालमध्ये टौदह पनि एक हो।
करिब सय रोपनी क्षेत्रफलमा यो फैलिएको छ। टौदह रातो मच्छिन्द्रनाथको भोटो जात्राको किंवदन्तीसँग प्रत्यक्ष जोडिन्छ। राजधानीको नजिकै रहेर पनि चर्चामा आउन नसकेको टौदहको सन्दरता अहिले बढको छ। उपत्यकामा घुम्नलायक गन्तव्यमा यो पनि पर्न थालेको छ।
मञ्जुश्रीले चोभारको डाँडो काटेर उपत्यकाको पानी बाहिर पठाउँदा कर्कोटक नाग पनि बाँहिर जाने भएकाले यसबाट अनिष्ट हुने भएपछि टौदहमा विराजमान गराइएको जनविश्वास छ।
उनै नागराजकी रानी आँखा दुख्ने रोगबाट ग्रस्त हुँदा ललितपुर निवासी एक ज्यापूले दहसम्म पुगी रानीको आँखा दुख्ने रोग निको बनाइदिएको बताइन्छ। त्यस घटनाबाट खुसी भएका नागराजले उपहारस्वरूप नवरत्न जडित भोटो ज्यापू जातिको भित्री पोशाक उपहार पठाइदिएछन्।
ज्यापूले भोटो फुकालेर खेतमा काम गरिरहेको बेला आँखा छलेर एक ख्याक (नराम्रो आत्मा भएको मावन)ले ज्यापूको भोटो चोरी भागेछ। केही दिनपछि आफ्नो भोटो लगाई आइरहेको ख्याक र ज्यापूबीच जम्काभेट हुँदा घमासान युद्ध भएछ। आपसमा लडिरहेका ख्याक र ज्यापूलाई देखेपछि रातो मच्छिन्द्रनाथले दुवैलाई छुट्याएर प्रमाणसहित भोटो लिन आउनू भनेछन्।
जबसम्म प्रमाण ल्याउँदैनौ तबसम्म रत्नजडित यो भोटो मसँगै रहनेछ। ख्याकको त भोटो नै थिएन उसले त्यसको पृष्ठभूमि जान्ने कुरै भएन। ज्यापूले पनि टौदहमुनि नागराजसम्म पुग्ने बाटो नै थाहा पाएनछ। त्यसै बेलादेखि प्रत्येक वर्ष रातो मच्छिन्द्रनाथको जात्रामा जावलाखेलको च्वासका नर्नीमा भोटो सुरक्षित छ है भनी देखाउने परम्परा छ।
टौदह काठमाडौँ मुख्य बजारक्षेत्रभन्दा केही बाहिर शान्त र रमणीय ठाउँ खोज्ने जोकोहीका लागि दिन बिताउने राम्रो ठाउँ बनेको कीर्तिपुर ७ का निरोज महर्जनले बताए। उनले भने, ‘बिदाको दिन परिवारसँग टौदह आउने गरेको छु, निकै आनन्द आउँछ, यहाँ शान्त पनि छ, म त प्रायःजसो आइरहन्छु यहाँ आयो माछालाई आहारा दियो परिवारसँग गफगाफ ग(यो, साँझ भएपछि घर गयो,’ दिनभरि व्यापारमा व्यस्त निरोजको बिदा र फुर्सदको दिन सदुपयोग गर्ने ठाउँ टौदह बनेको छ।
गएको शनिबार उनी आफ्नो परिवारसँगै टौदह पोखरी फन्को मार्दै थिए। ०६१र६२ पछि टौदहले मुहार फेरेको छ। संरक्षणविहीन टौदहलाई स्थानीयले समिति गठन गरेर संरक्षण गरे। स्थानीयको प्रयासलाई सरकारले पनि सहयोग पु(याएको छ। शहरी विकास तथा भवन निमार्ण विभागले समितिको योजनाअनुसार सहयोग दिएको समितिकी लेखापाल सरला नेपालले बताइन्। हाल टौदह पोखरी क्षेत्रमा विभिन्न थरीमा चराचुरुंगी पाइने हुनाले पंक्षीविज्ञहरु पनि अध्ययनका लागि पुग्ने गरेको सरलाले सुनाइन्।
टौदहमा अहिले दैनिक करिब २ सय टिकट बिक्री हुँदै आएको छ यसबाट मासिक २ लाख आम्दानी हुने गरेको लेखापाल नेपालले बताइन्। पोखरी व्यवस्थापन तथा कार्यालय प्रयोजनका लागि ११ जना कर्मचारी छन्।
त्यहाँ घुम्न जानेहरुले पोखरी छेउको बेन्चमा बसेर आहारा खुवाइरहेको दृश्य रोमाञ्चक लाग्छ, त्यसैले पनि स्थानीयले माछाको आहारा बेच्न पोखरी छेउमै ससाना नाङ्ले पसल थापेका छन्।शान्त तलाउको छेउमा बसेर पीडा भुलाउन मानिसहरु यहाँ पुग्ने गरेको स्थानीय बताउँछन्। तनावमा हुने मान्छे तलाउ छेउमा बस्नकै लागि पुग्ने गरेको घुम्न पुगेकी ज्योति शर्माले बताइन्।
‘म काठमाडौँ नै बस्छु। कहिलेकाहीँ काम र साथीभाइको तनाव भयो भने स्कुटर लिएर यही आउछु एक्लै बस्छु र फ्रेस भएर फर्किन्छु।’ क्षत्रीले भनिन्। यहाँ अधिकांश प्रेमिल जोडीहरुले दिन बिताउने गर्छन्। पोखरीमा पुग्ने पर्यटकको सुविधाका लागि छेउछाउमा आकर्षक डिजाइनका खाजा घरहरु बनाइएको छ।
अधिकांश खाजाघर स्थानीयले नै सञ्चालनमा ल्याएका छन्। दिनभर खाजाघर चलाएर साँझ बन्द गरेर घर फर्किन्छन्, उनीहरु। प्राकृतिक पोखरीलाई संरक्षण गर्न सुरु गरेदेखि अहिलेसम्म दैनिक आउने पर्यटकको संख्या त्यत्ति उत्साहजनक भने छैन।
समितिका अनुसार घुम्न आएकाहरुले पोखरीछेउमा पिकनिक क्षेत्र, बालउद्यान, बगैँचा भैदिए भन्ने चाहना राख्छन्। पोखरीलाई बस्तीले घेरेको छ। वरिपरि निजी जग्गा भएकाले भने समिति आफैले घुम्न आउनेहरुको चाहना पुरा गरिदिन सकेको छैन।
टौदह पोखरी पुग्ने मुख्यमार्ग चोभारको बाटो हो चोभार कटेपछिको सडक कच्ची र धुलाम्मे छ सडकछेउका बस्ती त्यही व्यवस्थीत छैनन्। पर्यटकीय क्षेत्र बनाउने र बढीभन्दा बढी पर्यटक भित्र्याउन प्रवेशस्थलमा स्वागतद्वार, सडक मर्मत र बसोबास व्यवस्थापनलाई पनि ध्यान दिने हो भने टौदह पोखरी आकर्षक पर्यटकीय क्षेत्र बन्न सक्छ।