पशुपति आसपासका सडकमा सवारी जाम, यी हुन् वैकल्पिक मार्ग

पशुपति आसपासका सडकमा सवारी जाम, यी हुन् वैकल्पिक मार्ग

काठमाडौँ । महाशिवरात्रि पर्व बुधबार पशुपतिनाथ क्षेत्र आसपासका सडकमा सवारी जाम भएको छ । गौशाला, तिलगंगा, पशुपति, रातोपुल, बत्तीसपुतली, पुरानो बानेश्वर, मित्रपार्क, चाबहिल, गौरीघाट लगायतका सडकमा जाम लागेको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयकुमार राउतले सवारी जाम भएको बताए । “आज महाशिवरात्रिका दिन सवारी जाम बढेको छ । बिहान सहज रूपमा सवारी आवागमन भइरहेको थियो । तर, अहिले सवारी जाम छ,” उनले भने ।

प्रहरीका अनुसार काठमाडौंका अन्य सडकहरूमा भने सवारी आवागमन सामान्य छ । राउतले हालसम्म सवारी ‘डाईभर्सन’ गर्न नपरेको बताए । “बिहानभन्दा अहिले भक्तजनहरूको चाप बढ्दा सवारी जाम पनि बढेको छ । सवारी डाईभर्सन गर्नुपर्ने अवस्था आउनसक्छ,” उनले भने ।

तीनकुनेबाट सिनामंगलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालवाहक सवारीसाधनलाई निषेध गरिएको छ । 

यी हुन् वैकल्पिक मार्ग ?
ट्राफिक प्रहरीका अनुसार गौशाला चोकमा भिडभाड धेरै भइ सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रूटमा चल्ने सवारीलाई वैकल्पिक मार्गको प्रयोग गर्न लगाइनेछ । 

दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भइ चक्रपथमा चल्ने सवारीसाधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गबाट सवारी डाईभर्सन गरिनेछ ।

त्यसैगरी, चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा सवारीसाधन चल्न दिने तर, भक्तजनको भिडभाड अत्यधिक भइ सवारी आवागमनमा समस्या हुने अवस्था आएमा सवारी डाईभर्सन गरी वैकल्पिक मार्गको प्रयोग गर्नुपर्नेछ ।

वैकल्पिक मार्गका रूपमा खोला किनाराका सडक र भित्री गल्लीका सडक र एयरपोर्ट पछाडिको सडक प्रयोग गर्दा छिटो गन्तव्यमा पुग्न सकिने ट्राफिकले जनाएको छ ।