स्वास्थ्यमा समस्या आएपछि शिक्षामन्त्री पाँच दिनेदेखि अस्पतालमा

स्वास्थ्यमा समस्या आएपछि शिक्षामन्त्री पाँच दिनेदेखि अस्पतालमा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई विगत पाँच दिनदेखि अस्पतालमा भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि गत शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी हुन् । 

ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि अस्पताल भर्ना भएरै उपचार गराइरहेकी हुन् । भोकल कर्ड (श्वर नली) मा समस्या आएपछि एक हप्ता नबोलेर आराम गर्न चिकित्सकहरूले सुझाव दिएका हुन् । 

अहिले क्रमिक रूपमा सुधार आइरहेको मन्त्रीको सचिवालयले जनाएको छ । उनमा क्षयरोगको समेत आशंका गरिएको थियो । तर, परीक्षणको क्रममा क्षयरोगको रिपोर्ट भने नेगेटिभ आएको छ । 

उनको स्वास्थ्य अवस्थाबारे बुझ्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल आज बिहान अस्पताल पुगेका थिए । अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।