काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले बेलाबखत शुभकामना सन्देश जारी गर्छन्। विभिन्न सन्दर्भमा जारी हुने वक्तव्यमा केही न केही ‘अर्थपूर्ण सन्देश’ हुन्छ, जसले नेपाली राजनीतिलाई केही समय तरंगित बनाएरै छोड्छ।
अझ पछिल्ला केही वर्षदेखि त उनले अलि खुलेरै विभिन्न सन्देश दिन थालेका छन्। कहिले देशमा विग्रहको संकेत पाएको भन्दै चिन्ता व्यक्ति गर्छन् त कहिले ‘आफू र दलहरूबीच फेरि सहकार्य हुनुपर्ने’ आवश्यकता औँल्याउँदै सन्देश जारी गर्छन्।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा उनले जारी गरेको सन्देशले अहिले फेरि राजनीतिक वृत्त केही तातिएको छ। शुभकामना सन्देशमार्फत उनले आफू पुनः सक्रिय बन्ने संकेत दिएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको हो।
शाहले पहिलोपटक देशको रक्षा, प्रगति र समृद्धिका लागि आफूलाई साथ दिन आहृवान गरेका छन्। ‘देशको रक्षा, प्रगति र समृद्धिका लागि सबै नागरिक एकताबद्ध हुन जरुरी छ ।
अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आहृवान गर्दछौँ,’ शाहले सन्देशमा भनेका छन्।
पूर्वराजाको आहृवानले राजतन्त्रको वकालत गरिरहेका दलहरू उत्साहित भएका छन्। अब राजतन्त्र पुनःस्थापनका लागि निर्णायक संघर्ष हुने भन्दै उनीहरू जुर्मुराएका हुन्। राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले शाहको सन्देशलाई पहिलो साहसिलो सम्बोधन बताएका छन्। लोहनीले तत्काल पार्टीले कार्य सम्पादन समितिको बैठक डाक्नु पर्ने र यस विषयमा छलफल हुनुपर्ने बताए।
‘राजा ज्ञानेन्द्रबाट राष्ट्रियता, प्रजातन्त्र र जनताको पक्षमा भएको साहसिलो सम्बोधन प्रशंसनीय र सबै पक्षबाट मननीय छ। यसबारे राष्ट्रियता, प्रजातन्त्र र जनताको हित र सर्वोच्चतालाई केन्द्रबिन्दुमा राखेर गम्भीर छलफल गर्न राप्रपाले चाँडो कार्य सम्पादन समितिको बैठक डाक्नु जरुरी भएको छ,’ उनले भने।
तर, परिवर्तन पक्षधर दलका नेताहरूले भने पूर्वराजा शाहको आहृवान अर्थहीन भएको टिप्पणी गरेका छन्। अवस्थाले निम्त्याएको समस्याभित्र शाहले खेल्न खोजेको भन्दै त्यस्तो प्रयास सार्थक नहुने उनीहरूको तर्क छ। पूर्वराजा शाहले व्यक्तिगत रूपमा व्यक्त गरेको चाहनालाई त्यति महत्व दिन आवश्यक नरहेको नेताहरू बताउँछन्।
नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले पूर्वराजालाई जबरजस्ती स्थापित गर्न खोजिएका ओभररेटेट पात्रको संज्ञा दिएका छन्। पोलिसले बुट टल्काए पनि छालाको गुण बदल्न नसक्ने उनको टिप्पणी छ।
‘आज सबै डेमोक्र्याट भएको देखियो, शहीदलाई सलाम। झन् गज्जब यो लाग्यो कि पूर्वराजा पनि डेमोक्रेसी स्थापनामा आफूले गरेको त्याग र योगदान सम्झेर नोस्टाल्जिक होइबक्सेछ’, उनले भनेका छन्, ‘समस्या डेमोक्रेसी होइन, बरु जबरजस्त स्थापित गर्न खोजिएका ओभररेटेट पात्र हुन्। बुट पोलिसले बुट टल्काउन सक्छ, छालाको गुण बदल्दैन।’
उसो त पूर्वराजाबाट देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आफू फेरि शक्तिमा फर्किने चाहना अभिव्यक्त भएको यो पहिलोपटक भने होइन। विभिन्न शुभकामना मन्तव्यहरूमा उनले घुमाउरो तरिकाले यस्तो चाहना मुखरित गर्दै आएका छन्। यिनै वक्तव्यवाजीबाहेक राजतन्त्र पुनःस्थापनाका लागि उनले आफ्नो तर्फबाट हालसम्म ठोस प्रस्ताव अघि बढाउनुभएको छैन।
यद्यपि, घटनाक्रमलाई हेर्दा पूर्वराजाको सन्देशका पछाडि अर्थ भने देखिन्छ। पछिल्लो समय उनी स्वयंको मात्रै होइन राजसंस्था पक्षधर पनि सलबलाइरहेका छन्। शाह विभिन्न शीर्षकमा निरन्तर देश दौडाहा अभियानमा निस्किरहेका छन्।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक परिवर्तन मास्न पूर्वराजालाई उचाल्ने काम भइरहेको टिप्पणी गरेका छन्। एमालेको वडाकेन्द्रित अभियान शुभारम्भ गर्न बुधबार कपिलवस्तु पुग्नुभएका महासचिव पोखरेलले २०६२/६३ को जनआन्दोलनबाट राजसंस्था हटाएर राजीतिक आन्दोलन सफल भए पनि आजभोलि फेरि पश्चगामीहरू सलबलाउन थालेको बताए।
केही शक्तिले उचालेर पूर्वराजालाई वक्तव्य निकाल्न लगाई राजनीतिक परिवर्तन मास्न खोजेको महासचिव पोखरेलको टिप्पणी थियो। ‘राजालाई वक्तव्यबाजी गर्न लगाएर राजनीतिक परिवर्तन मास्न खोजिँदै छ। अब राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै पूर्ण क्रान्ति सफल बनाउनुपर्छ,’ उनले भने।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले देशलाई संकटबाट निकास दिने पूर्वराजा ज्ञानेन्द्रको सदिच्छामा राप्रपाको पूर्ण समर्थन रहेको स्पष्ट गरेका छन्। देशलाई गम्भीर संकटबाट निकाल्न सबै पार्टी, समूह र नेपाली मिलेर अघि बढ्न महामन्त्री राणाले आग्रह गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले देश र जनता बचाउन राजा र जनताबीच साझेदारी आवश्यक रहेको बताएका छन्।
बिहीबार राप्रपा नेपाल राजनीतिक विभागले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा लिएर अगाडि बढ्नुपर्ने बताए। राजाले फेरि निरंकुश व्यवस्था र राजासंस्था स्थापना गर्ने चाहना व्यक्त नगरेको थापाको भनाइ छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही अब राजतन्त्र र गणतन्त्रको छिनोफानोका लागि जनमत संग्रह गराउन निर्णायक दबाब दिने बताए। उनले संसद्देखि सडकसम्म जनमत संग्रहको आवाज उठाउने बताए। उनले राजावादी सबै शक्ति र गणतन्त्रवादी पार्टीहरूमा रहेका राजाका शुभेच्छुकहरू एक ठाउँमा आएर आन्दोलनको आँधिबेहेरी ल्याउने उद्घोष गरे। उनले सबैलाई तयारी अवस्थामा रहन पनि आहृवान गरेका छन्।
हिमालय टाइम्स दैनिकबाट