काठमाडौं । अमेरिकामा विना कागजात बसोवास गर्दै आएका भारतीय अवैध आप्रवासीहरूलाई लिएर अमेरिकी सेनाको एक विमान भारत आइपुगेको छ । उक्त विमान बुधबार अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि पहिलोपटक भारतीय नागरिकहरूको अमेरिकाबाट निर्वासन भएको हो। उनीहरुमध्ये केही नेपाली नेपाली पनि रहेको आशंका गरिएपनि पूर्ण विवरण सार्वजनिक भएको छैन ।
के भन्छन् भारतीय अधिकारीहरू ?
बीबीसीसँग भारतीय सुरक्षा अधिकारीहरूले भारत ल्याइपुर्याइएका व्यक्तिहरूको सूची जाँच गरिसकेको र त्यसमा कुनै कुख्यात अपराधी नरहेको जानकारी दिएका छन् ।
उनीहरूका अनुसार अमृतसर आइपुगेका केही व्यक्तिहरूलाई प्रहरीका गाडीमा उनीहरूका गाउँ लैजाने तयारी छ भने अरू राज्यका नागरिकलाई विमानमार्फत् घर पठाइनेछ ।
सञ्चार माध्यमहरूलाई विमानस्थलभित्र जान अनुमति नरहे पनि सञ्चारकर्मीहरूले उनीहरू बाहिर निस्किएपछि कुराकानी गर्न सक्नेछन् ।
पञ्जाब सरकारको प्रतिक्रिया
पञ्जाब सरकारका मन्त्री कुलदीप सिंह धालीवालले भारतीय नागरिकहरूलाई अमेरिकाबाट डिपोर्ट गरिएको खबरबारे प्रतिक्रिया दिंदै यसलाई ‘गम्भीर विषय’ भनेका छन्।
उनले भारत सरकारलाई पनि यस विषयलाई गम्भीर रूपमा लिन आग्रह गरेका छन्।
उनले धेरै भारतीयहरू वैधानिक रूपमा वर्क परमिट लिएर अमेरिका गएका थिए, तर त्यो अनुमति म्याद समाप्त भएपछि उनीहरू अवैध आप्रवासीको श्रेणीमा परेका स्पष्ट पारेका छन् । ‘यी भारतीयहरूले अमेरिकी अर्थतन्त्रलाई योगदान दिएका छन्, त्यसैले उनीहरूलाई डिपोर्ट गर्नुभन्दा नागरिकता दिनुपर्थ्यो,’ उनले भने ।
धालीवालले विदेश मन्त्री एस जयशंकरसँग यस विषयमा छलफल गर्न आगामी साता भेट्ने सम्भावना रहेको बताए। उनले पञ्जाबका नागरिकहरूलाई वैधानिक रूपमा मात्र विदेश जान सल्लाह दिए ।
उनले आफ्ना फेसबुक पेजमा पोस्ट गर्दै भनेका छन्, ‘१०४ भारतीय अमृतसर विमानस्थलमा अवतरण गर्नेछन् र उनी स्वयम् ती नागरिकहरूलाई लिन विमानस्थल जानेछन् ।’
त्यस्तै, पञ्जाबका डीजीपी गौरव यादवले मिडियालाई जानकारी दिँदै पञ्जाब सरकार आप्रवासी नागरिकलाई स्वागत गर्ने जानकारी दिएका छन् ।
उनले पञ्जाब सरकार संघ सरकारसँग निरन्तर सम्पर्कमा रहेको र केही नयाँ जानकारी आए सञ्चार माध्यमलाई जानकारी दिने बताए ।
उनले डिपोर्ट गरेका सबै नागरिकहरूको विस्तृत विवरण उपलब्ध नभएको र यसबारे केन्द्रीय निकायहरूसँग छलफल भइरहेको पनि जानकारी दिए । यादवले भने, ‘हामीलाई उनीहरूको पहिचान र मुद्दाहरूबारे अझै स्पष्ट जानकारी छैन।’
डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा अवैध आप्रवासीहरूलाई डिपोर्ट गर्ने कार्यमा अमेरिकी सेनाको प्रयोग गरिएको छ, जसलाई असामान्य कुरा मानिन्छ।
अमेरिका(मेक्सिको सीमामा आप्रवासीहरूका लागि सैनिक कार्यालयहरू बनाइएको छ, जहाँ तिनीहरूलाई डिपोर्ट अघि राखिन्छ। यसअघि ग्वाटेमाला, पेरु र होन्डुरसका आप्रवासीहरूलाई अमेरिकी सेनाको विमानबाट डिपोर्ट गरिसकिएको छ।