उपनिर्बाचन मतदाताको लागी सरकारको मध्यावधि मुल्यांकनको अवसर : प्रदीप पौडेल

उपनिर्बाचन मतदाताको लागी सरकारको मध्यावधि  मुल्यांकनको अवसर : प्रदीप पौडेल

भक्तपुर : नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले यो उपनिर्बाचन मतदाताको लागी सरकारको मध्यावधि मूल्याङ्कनको अवसर भएको बताएका छन् । मङ्गलवार भक्तपुरको ताथलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले वर्तमान सरकारप्रतिको असन्तुष्टि पोख्न पनि मतदाताहरूले नेपाली काँग्रेसलाई भोट दिनुपर्ने धारणा व्यक्त गरे ।

“अब पनि नेकपाले जितेको खण्डमा दुई तिहाइको दम्भ सहित सरकारबाट भएका गलत क्रियाकलापप्रति जनता सन्तुष्ट रहेछन् भन्ने सन्देश जान्छ ” पौडेलले भने । वर्तमान सरकारका गलत गतिविधिलाई रोक्ने कि अनुमोदन गर्ने भन्ने गहन जिम्मेवारी मतदाताको काँधमा आएको बताउँदै नेता पौडेलले विवेक प्रयोग गरेर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरे ।

बेरोजगारी, महँगी, भ्रष्टाचार, असुरक्षा लगायतका समस्याबाट जनता आजित भएको भन्दै पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान काग्रेसको विकल्प नरहेको बताए ।