काठमाडौं। केही महिना शान्त जस्तो देखिएको नेपाली कांग्रेसको आन्तरिक विवाद पुनः सार्वजनिक हुन थालेको छ। स्थानीय तहको उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा हारलगत्तै कांग्रेसमा किचलो सुरु भएको हो।
रामग्राममा संस्थापन पक्षको असहयोगका कारण हार बेहोर्नु परेको इतर पक्षले आरोप लगाएको छ। रामग्रामको चुनावी परिणामले आक्रोशित बनेको केन्द्रीय सदस्य डा.शेखर कोइराला नेतृत्वको इतर समूहले पार्टीको प्रदेश सम्मेलनलाई प्रभावित पार्न समानान्तर भेला गरेको छ।
इतर पक्षको भेलासँगै कोशी कांग्रेसमा थप किचलो बढेको छ। मंगलबार डा.कोइराला पक्षको भेला विराटनगरको जैन भवनमा भएको हो। पालिका सभापतिहरूको भेला भनिएको कार्यक्रममा संस्थापन पक्ष सहभागी भएनन्।
संस्थापन पक्षले इतर समूहको भेलालाई अवैध भनेको छ। सोमबार केन्द्रीय कार्यालयले कोशी प्रदेशमा २२ मंसिरबाहेक भेला सम्मेलन नभएको बताएको थियो। २२ गते विराटनगरमा प्रथम प्रदेश सम्मेलन हुँदै छ।
नेपाली कांग्रेस प्रदेश महामन्त्री भूपेन्द्र राईले कोशी प्रदेशमा २२ मंसिरबाहेक अन्य कार्यक्रम नभएको बताए। नेपाली कांग्रेस विराटनगर नगरसभापति तथा कोइराला पक्षका नेता दीपक चापागाईंले सभापतिको भेलामा प्रदेशभरका पालिका सभापतिहरू आएको दाबी गरे।
पाँचवटा महानगरसभापति पनि कार्यक्रमका लागि आएको चापागाईँको दाबी छ। चापागाईँले भेलामा प्रदेशका १३७ मध्ये ११३ पालिकाका सभापतिहरू सहभागी भएको दाबी गर्दै भने, ‘यो दशैँ अगाडि नै निर्णय भएको कार्यक्रम भएकाले निर्देशन आए पनि भेला रोक्ने कुरा भएन।’
नेपाली कांग्रेस कोशी प्रदेश समितिको सम्मेलन मंसिर २२ गते गर्ने तयारी रहेको छ। सो सम्मेलनलाई प्रभाव पार्नेगरी सभापतिहरूको भेला आयोजना गरेको भन्दै विरोध भएको छ। प्रदेश सभापति उद्धव थापाले पालिकाको सभापतिहरूको भेलाका बारेमा आफूलाई थाहा नभएको बताए।
प्रदेश समितिसँग सल्लाह नगरी भेला राखिएको भन्दै नेपाली कांग्रेस केन्द्रले सोमबार विज्ञप्ति जारी गर्दै मंसिर २२ गतेभन्दा अगाडि कोशी प्रदेशमा नेपाली कांग्रेसको कुनै कार्यक्रम नभएको जनाएको थियो।
सभापतिहरूको भेलाका संयोजक चापागाईँले यो कुनै गुटको भेला नभएर नेपाली कांग्रेसको कार्यक्रम भएको दाबी गर्दै भने, ‘गुटको भेला भएको भए १३७ वटा पालिका मध्ये ११३ वटा पालिकाका सभापतिहरू डा. शेखर पक्षका हुन्? यो भेला पार्टी बलियो बनाउनका लागि हो।’
भेलाको प्रमुख अतिथि डा.शेखर कोइरालालाई बनाइएको थियो। पार्टी सभापति शेरबहादुर देउवासहितका पदाधिकारीलाई उपस्थित गराएर सम्मेलन गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। इतर पक्षको भेलासँगै कांग्रेस कोशीभित्रको गुटगत विवाद छताछुल्ल हुन पुगेको छ।
संस्थापन पक्षका नेताहरू शेखर पक्षले पार्टी कार्यक्रम असफल पार्न समानान्तर भेला गर्न लागेको आरोप लगाइरहेका छन्। संस्थापनइतर पक्षको भेलाको वैधानिकतामैै प्रश्नसमेत उठेको छ।
संस्थापन समूहका नेता सभापति, उपसभापति र महामन्त्री रहेको प्रदेश समितिले आयोजना गर्ने प्रदेश भेलाअघि नै शेखर पक्षले अर्को भेला गरेर १५औँ महाधिवेशनको तयारी थालेको आरोप संस्थापन पक्षका नेताहरूले लगाएका छन्। १४औँ महाधिवेशनमा सभापतिमा देउवासँग पराजित कोइरालाले १५औँ महाधिवेशनमा फेरि सभापति लड्ने घोषणा गरिसकेका छन्।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पालिका सभापतिहरूको संरक्षण आफूले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विराटनगरमा आफ्नो पक्षले राखेको पालिका सभापतिहरूको भेलालाई सम्बोधन गर्दै डा.शेखरले भने, ‘कुनै किसिमको डर, धाक, धम्कीबाट उहाँहरू आत्तिनुभएन। तपाईंहरू निष्फिक्री भएर घर जानुस्। तपाईंहरूको संरक्षण म गर्छु।’ यो कार्यक्रम धेरै पहिले नै टुंगो लगाएकाले विवाद गर्नुपर्ने विषय नरहेको उनको दाबी छ। विराटनगर र सुनसरी बाहेकका पालिका सभापतिलाई अलि टाढा रहेकाले प्रशिक्षणको उद्देश्यले भेला डाकिएको कोइरालाको दाबी छ।
सरकार बनेको चार महिना लाग्दासमेत सत्तापक्ष र अन्य दलसँग संविधान संशोधनबारे छलफल हुन नसकेको जिकिर गर्दै कोइरालाले भने, ‘त्यसको लागि कसले के रोकेको छ? र, किन भइराखेको छैन।’ १५औँ महाधिवेशनबाट गलत कुरा हुन नदिने र कार्यकर्ताको संरक्षण गर्न जिम्मेवारी लिने दाबी गर्दै कोइरालाले भने, ‘२०८३ को मंसिरसम्म १५औं महाधिवेशन हुने सम्भावना देखेको छैन। अधिवेशनमा समयमा हुनुपर्छ भनी गाउँ-गाउँमा भन्नु जरुरी र दबाब सिर्जना गर्नुपर्ने अवस्था रहेको छ। क्रियाशील सदस्यताको अहिले जुन भइरहेको छ। यो तरिकाले अधिवेशन समय हुने सम्भावना छैन।’
नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले सभापति शेरबहादुर देउवालाई देखाएर पार्टीभित्र तीक्तता नबढाउन आग्रह गरेका छन्।
विराटनगरमा मंगलबार आयोजित इतर पक्षको भेलालाई सम्बोधन गर्ने क्रममा उहाँले पार्टीभित्रै आपसमा मुन्टो बटार्ने समय अहिले नभएको जिकिर गर्दै भने, ‘पार्टीभित्रै आपसमा मुन्टो बटार्ने काम नगरौं। सभापति आफ्नो अन्तिम कार्यकालमा हुनुहुन्छ । सभापतिलाई देखाएर पार्टीमा तीक्तता बढाउने काम नगरौँ । सभापतिजीसँग लामो संगत गरेको मान्छे हुँ । उहाँ नेविसंघको अध्यक्ष हुँदा उहाँले मनोनीत गरेको केन्द्रीय सदस्य पनि थिएँ । सभापतिलाई देखाएर शत्रुता र तीक्तता बढाउने काम नगरौं। पार्टीमा एकता आवश्यक छ, संवाद आवश्यक छ। सबैजना काम गरौँ, एक–अर्कालाई किन गाली गर्दै हिँड्ने ?’ मुलुकमा निराशा बढ्दै गएको उल्लेख गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका डा.रिजालले भन्नुभयो, ‘आज मुलुकमा जनतामा निराशा छ । देशको अवस्था खराब छैन, परिस्थिति धेरै खराब छैन । मान्छेहरूको काम गर्ने शैलीमा खराबी छ । जतिसक्दो राम्रो हुँदा पनि चुलिएको निराशाबाट हामीले मूल्य चुकाउनुपर्ने हुन्छ । कांग्रेस र अहिलेको सरकारले जनतामा सुशासनको प्रत्याभूति गर्नका लागि पनि संवाद आवश्यक छ । घर–घरमा पुग्नुपर्ने अवस्था छ।’