ब्रुमर खरिद प्रक्रियाको छानबिन सुरु

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाले खरिद गरेको ब्रुमरको मूल्य र खरिद प्रक्रिया शंकास्पद भएको भन्दै यसबारे अनुसन्धान थालेको छ। महानगरले झन्डै ११ करोड रूपैयाँमा बु्रमर खरिद गरेको थियो।

न्यूनतम बोलकबोल गर्ने कम्पनीलाई ठेक्का नदिई एक करोड ७० लाख रूपैयाँभन्दा बढी रकम प्रस्ताव गर्ने तेस्रो नम्बरमा रहेको बोलपत्रदातालाई बदनियतपूर्ण तरिकाले ठेक्का दिने निर्णय भएपछि अख्तियार  कागजात लगेको महानगरपाकिलाका प्रवक्ता ईश्वरमान डंगोलले बताए। ।

त्यस्तै, अख्तियारले स्मार्ट पार्किङ, विज्ञापन बोर्ड, स्मार्ट सोलार, डस्टबिन र सिसी टिभी क्यामेरा सहितको ट्राफिक लाइट जडान खरिदको पनि कागजात मागेको छ।महानगरपालिकाले प्रदूषणरहित वातावरण र फोहोर मुक्त सहरका निर्माणका लागि भन्दै गत चैत १२ गतेदेखि ५ वटा ब्रुमर खरिद गरेको थियो।

ब्रुमरका विषयमा गत साउनमै उजुरी परेपछि अख्तियारले महानगरलाई साउन २८ गते पत्राचार गर्दै १५ दिनभित्र बु्रमर खरिदबारे तथ्यसहित प्रतिक्रिया माग गरेको थियो। उक्त प्रतिक्रिया चित्त नबुझेपछि गत असोज १९ गते अख्तियारले ब्रुमर खरिदको कागजात ७ दिनमा बुझाउन महानगरपालिकालाई पत्र काटेको थियो।