धर्मका नाममा राजनीति र अतिवाद हुन हुँदैन : प्रधानमन्त्री

धर्मका नाममा राजनीति र अतिवाद हुन हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने बताएका छन् ।

मंगलबार बालुवाटार पुगेका जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले धर्म निरपेक्ष मुलुक नेपालमा राज्यले सबै धर्मलाई सम्मान गर्ने राजनीतिकरण गरे समाजलाई बिथोल्ने बताए । 

“नेपालमा एकातिर हिन्दु राज्य हुनुुपर्छ भनेर अभियान चलाइएको छ । अर्कातिर क्रिश्चियन धर्म विस्तार गर्ने नाममा मानिसको गरिबीको दुरुपयोग गरिएको छ,’’ प्रधानमन्त्री ओलीले भने । 

उनले यस्ता कुराको नियन्त्रण गर्ने पनि बताए । “यस्ता कुराहरूलाई हामी क्रमशः नियन्त्रण गर्छौँ । हामीले कुनै पनि धर्मका नाममा असहिष्णुुता र सङ्कीर्णता राख्नु हुँदैन । कुन धर्म मान्ने भन्ने मान्छेको व्यक्तिगत आस्थाको कुरा हो । त्यसको हामी सम्मान गर्छौँ, ’’ उनले भने ।