‘पूर्णबहादुरको सारंगी’लाई उपन्यासको कथा चोरेको आरोप!

‘पूर्णबहादुरको सारंगी’लाई उपन्यासको कथा चोरेको आरोप!

काठमाडौं। यही कात्तिक १५ देखि प्रदर्शनरत चलचित्र ‘पूर्णबहादुरको सारंगी’लाई एक उपन्यासको कथा चोरेको आरोप लागेको छ। सिनेमाघरहरूमा आक्रमण व्यापार गरिरहेको यो चलचित्रलाई डा.शिवशंकर बस्यालले आफ्नो उपन्यासको कथा चोरेको आरोप लगाएका हुन्।

लेखक डा.बस्यालले दश बुँदे कथाको प्लट सार्वजनिक गर्दै चलचित्रको मूल कथा आफ्नो उपन्यास ‘संग्रामपुर’सँग मिलेको दाबी गरेका हुन्। चलचित्रको ट्रेलर हेर्दा नै शंका लागेको र चलचित्र हेरेपछि आफ्नो उपन्याससँग जुधाउँदा चलचित्रको मूल कथासँग मिलेको उनको भनाइ छ।

लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ। प्रदर्शनको दुई दिन खासै दर्शकको साथ नपाएको यस चलचित्रले कैयौं कीर्तिमान बनाएको यो चलचित्रलाई डा.शिवशंकर बस्यालले आफ्नो उपन्यासको कथा चोरेको आरोप लगाएका छन्।

चलचित्रका निर्देशक तथा कथाकार सरोज पौडेलले चर्चाका लागि अनावश्यक विवाद उब्जाउन खोजिएको भन्दै कडा आपत्ति जनाएका छन्। पौडेलले कथा टिप्दा एकाध प्रसंग मिल्नसक्ने भए पनि ‘कथा चोरी’को आरोप नाजायज र फजुल रहेको बताएका छन्।

उपन्यासमा मूल पात्र रूपमान भरिया रहेको र पूर्णबहादुरको सारंगीमा पूर्णबहादुर गन्धर्व चरित्रमा रहे पनि बाबु-छोराको सम्बन्धलगायत चलचित्रको मूल भावसँग मेल खाएको बस्यालले दाबी गरेका छन्। ‘पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसंग, आफ्नो तिघ्रामा बल छ भन्ने दृश्यहरू उपन्यासको छायाँ चित्रसँग मिल्छन्।

केही प्रसंगहरू विल्कुलविपरीत रूपमा प्रयोग गरिएका छन्। पूर्णबहादुरको सारंगीमा क्रान्तिका कुरा गर्छ तर क्रान्तिलाई नफरत गर्छ। तसर्थ यो संयोग होइन, यो नियोजित हो,’ लेखक बस्यालले सामाजिक सञ्जालमा लेखेका छन्।

एउटा स्रष्टाको जन्मदाताको हैसियतले रुपरङ मिल्दा बोल्ने नैतिक दायित्व भएको उनले उल्लेख गरेका छन्। सरोज पौडेलको कथा र निर्देशन रहेको यस चलचित्रको पटकथा र संवाद महेश दवाडीले लेख्नुभएको हो भने मुख्य भूमिकामा विजय बराल छन्।

चलचित्रमा विजयसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ। चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी छन् भने कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन्। बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको यस चलचित्रले नेपालमा अत्यधिक शो पाउने चलचित्रको रेकर्डसमेत बनाइसकेको छ।

नाजायज र फजुल आरोप : निर्देशक पौडेल
 

चलचित्रका निर्देशक तथा कथाकार सरोज पौडेलले चर्चाका लागि अनावश्यक विवाद उब्जाउन खोजिएको भन्दै कडा आपत्ति जनाएका छन्। उपन्यासकारको दाबीलाई निर्देशक पौडेलले पूर्णरूपमा अस्विकार गरेका छन्। एउटै समाजभित्रको कथा टिप्दा एकाध प्रसंग मिल्न सक्ने भए पनि ‘कथा चोरी’ को आरोप नाजायज र फजुल रहेको उनको भनाइ छ।

आफूले अहिलेसम्म संग्रामपुर उपन्यास नपढेको मात्र नभएर नामसमेत नसुनेको पौडेलले जिकिर गरे। ‘पूर्णबहादुरको सारंगी’को कथा आफ्नो पिताको देहान्तपछि लेखेको र यो विशुद्ध रूपमा आफ्नो मौलिक सिर्जना भएको पौडेलको भनाइ छ। ‘यो पूर्णरूपमा काल्पनिक कथा हो। कतैबाट पनि प्रभावित छैन। यदि मिल्न गएको खण्डमा त्यो संयोग हुने छ,’ पौडेलले भने। यदि साँच्चै चोरी गरिएको लाग्छ भने कानुनी उपचारको खोजी गर्न पनि पौडेलले चुनौती दिएका छन्।

‘यो फेसबुकमा रैला मच्चाएर पुस्तक बिकाउने फण्डा र चलचित्रलाई हानी पुर्‍याउने षड्यन्त्र हो । रेकर्ड मा रेकर्ड हुँदैछ, अब चलखेल सुरु हुँदैछ। तर, हामीलाई दर्शक को साथ छ। बाँकी त हामी अरूलाई टेरिँदैन,’ पौडेलले भनेका छन्।

लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ। प्रदर्शनको दुई दिन खासै दर्शकको साथ नपाएको यस चलचित्रले कैयौं कीर्तिमान बनाएको छ।

चलचित्रले शनिबार कुनै पनि नेपाली चचित्रले एकै दिन पाएको शो को नयाँ कीर्तिमान बनाएको छ। यो चलचित्र निर्माण कम्पनी सेभेन सिज सिनेमाका अनुसार फिल्मले देशभरका ९८ हलमा ४६५ भन्दा बढी शो पाएर नयाँ कीर्तिमान बनाएको हो।

यसअघि यस चलचित्रले बिहीबार मात्र देशभरका ८९ हलमा ३८० भन्दा बढी शो पाएर कीर्तिमान बनाएको थियो। यो कीर्तिमान यसअघि यो रेकर्ड दशैंको घटस्थापनाको दिन चलचित्र ‘बेहुली फ्रम मेघौली’को नाममा थियो, यस फिल्मले पहिलो दिन ३४० शो प्राप्त गरेको थियो।
‘पूर्णबहादुरको सारंगी’ले पहिलो सातामा आठ करोड २५ लाख ग्रस कमाई गरेको थियो भने त्यस यता हाउस फुलका साथ चलिरहेकाले यो चलचित्रले बक्स अफिस कलेक्सनमा पनि नयाँ कीर्तिमान बनाउने निश्चित देखिन्छ।

अहिले पनि चलचित्रको टिकटको अभाव देखिएको छ। यो चलचित्रले अहिले पनि दर्शकको व्यापक साथ पाइरहेका कारण आगामी शुक्रबारदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘केटी हराएको सूचना’को रिलिज स्थगन गरिएको छ।

बस्यालले मिल्दोजुल्दो दाबी गरेका १० प्रसंग
 

१.पूर्णबहादुर र कमल चलचित्रका दुईमात्र मूल पात्र हुन् । जसरी संग्रामपुर उपन्यासमा रूपमान र समीर !

२. पूर्णबहादुरको स्त्री बिछोडको रहस्यमयी प्रसंग संग्रामपुरमा रूपमानको स्त्री बिछोडको प्रसंग जस्तै रहस्यमयी छ ।

३. छोराको पालनपोषणमा दिलोज्यान मरिमेटी पूर्णबहादुरको शैली रूपमानसँग मिल्दा छन् ।

४.आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटक-पटक रूपमानलाई समीरले निरन्तर सोधिरहने प्रसंग मिल्दो छ ।

५. जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यंग्य गरेका छन्, समीरलगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात् मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन् ।

६. पूर्णबहादुरको सारंगीको कमल पनि संग्र्रामपुर उपन्यासको समीर जस्तै टप विद्यार्थी हुनु ।

७. त्यही टप भएको खबर संग्र्रामपुर उपन्यासको समीरकै शैलीमा दौडिँदै पूर्णबहादुरको सारंगीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु ।

८. संग्रामपुर उपन्यासको समीरले जस्तै पूर्णबहादुरको सारंगीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु ।

९. बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर संग्र्रामपुर उपन्यासको समीरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु ।

१०.रूपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गएजस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु ।