संस्कृतिमा हामी जे-जति चीजहरू गर्छौँ, त्यसको एउटा वैज्ञानिक पक्ष रहेको छ ।
हाम्रो संस्कृतिमा भोजनको सन्दर्भमा पनि उत्तिकै ध्यान दिइएको छ । हामी के खान्छौँ भन्ने मात्र नभई कसरी खान्छौँ भन्ने कुराले समेत निकै महत्त्व राख्दछ । यहाँ केही सरल उपायहरू बताइएका छन्;
१ कति खाने र कति पटक खाने ?
अध्ययनहरूबाट यो पत्ता लागेको छ कि मानिसको दिमागले पेट खाली भएको बेला मात्र उच्च ढङ्गले काम गर्छ । अनुसन्धानकर्ताहरूले के पत्ता लगाएका छन् भने, पेट खाली हुँदा घ्रेलिन भनिने रसायन उत्पन्न हुन्छ, जसले मस्तिष्कमा पेट खाली भएको सन्देश पुऱ्याउँछ ।
रोचक कुरा के छ भने, यो हर्मोनले अन्य कामहरू समेत गर्दछ । मस्तिष्कमा हिप्पोक्याम्पस भन्ने भाग हुन्छ, जसले केही सिक्ने, स्मरण वा याद गर्ने, सतर्क र सक्रिय रहने अनि कुनै चीजमा ध्यान केन्द्रित गर्ने जस्ता कामहरू सञ्चालन गर्दछ । घ्रेलिन हर्मोनले हिप्पोक्याम्सलाई उत्तेजित गराउँछ र यसको कार्यक्षमता बढाँउछ ।
यसको अभिप्राय हामीले कहिल्यै खाना खानुहुँदैन भन्ने पक्कै होइन, बरु यसले यो सङ्केत गर्दछ कि हामी कति खान्छौँ भन्नेप्रति सचेत हुनुपर्छ ।
तपाईंले दिनैभरी खाइरहनु हुँदैन । यदि तपाईं तीस बर्षभन्दा कम उमेरको हुनुहुन्छ भने, दिनमा तीन पटक भोजन गर्नु पर्याप्त हुन्छ । यदि तपाईंको उमेर तीस वर्षभन्दा बढी छ भने, दिनमा दुई छाक खाना खानु उत्तम हुन्छ । हाम्रो शरीर र दिमागले तबमात्रै सर्वश्रेष्ठ तरिकाले काम गर्छन्, जब पेट खाली हुन्छ ।
यदि तपाईं सचेत भएर खानुभयो भने, खाना खाएको साढे दुई घण्टामै खाना तपाईंको आमाशय वा पेटबाट बाहिर निस्किनेछ, अनि बाह्रदेखि अठार घण्टामै तपाईंको शारीरिक प्रणालीबाट बाहिर निस्किनेछ । यदि तपाईं यो सरल कुराप्रति सचेत रहनुभयो भने, तपाईंले आफूभित्र अझ बढी ऊर्जा, स्फूर्ति र सतर्कता महसुस गर्नुहुनेछ ।
२ खाना राम्रोसँग चपाउनुहोस्
राम्रोसँग चपाएर खाना खानाले पाचन-प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छ । अध्ययनहरूले यो देखाएका छन् कि पूरै पाचन प्रक्रियाको लगभग तीस प्रतिशत पाचन ऱ्यालले हुने गर्दछ । खाना खाइसकेपछि कम्तीमा पनि दुई घण्टासम्म नसुत्नुहोस् । पाचनले तपाईंको मेटाबोलिक प्रक्रिया (खानालाई ऊर्जामा बदल्ने प्रक्रिया) लाई सक्रिय बनाउँछ ।
यदि तपाईं पेट टन्न भएको अवस्थामा पल्टिनुभयो भने, तपाईं न त राम्रोसँग सुत्न सक्नुहुन्छ, न त पाचन नै राम्रोसँग हुन्छ । यदि तपाईं खाना खानेबित्तिकै सुत्नुभयो भने, तपाईंले खानुभएको खानाको ठूलो हिस्सा नपचिकनै जान सक्छ । साथै, खाना खाइरहेको बेलामा पानी नपिउनुहोस् । खाना खानु केही समयअघि र खाना खाइसकेको ३० देखि ४० मिनेटपछि थोरै मात्रामा पानी पिउन सकिन्छ। तामाको भाँडामा राखिएको पानी पिउनु लाभदायक हुन्छ ।
योगमा भनिन्छ कि तपाईंले एक गाँसलाई २४ पटक चपाउनुपर्छ ।″ यसको पछाडि थुप्रै वैज्ञानिक आधारहरू छन् । मुख्यतः तपाईंले खानुभएको खाना मुखमै लगभग पच्न सुरु हुन्छ, जसले गर्दा तपाईंको शरीरमा अल्छीपन र सुस्तता आउन दिँदैन ।
३ समय अनुसारको सही भोजन
यस संस्कृतिमा कुन समयमा कुन वनस्पतिहरू उपलब्ध छन् अनि शरीरको लागि के उचित छ भन्ने कुरामा आधारित रही गर्मीयाममा एक तरिकाले खाना बनाइन्थ्यो, वर्षायाममा अर्कै तरिकाले अनि जाडोयाममा भिन्दै किसिमले खाना बनाउने गरिन्थ्यो । यो समझदारीलाई आफ्नो जीवनमा लागू गर्नु राम्रो हुन्छ, साथै शरीरको आवश्यकता र बदलिँदो मौसम अनुसार खाना खानु उचित हुन्छ ।
उदाहरणको लागी जाडोयाममा गहुँ, गहत, तील जस्ता खाद्य पदार्थ खान सकिन्छ, जसले शरीरमा गर्मी बढाउँछ । जाडोयाममा, चिसो मौसमको कारण छाला फाट्ने समस्या हुन्छ ।
पहिले मानिसहरूले क्रिम वा लोसनको प्रयोग गर्दैनथे । उनीहरू दैनिक रूपमा तिलको प्रयोग गर्दथे; तिलले शरीरमा गर्मी बढाउँछ अनि छालालाई नरम राख्छ । यदि शरीरमा पर्याप्त मात्रामा उष्ण वा गर्मी भयो भने, छाला फाट्ने समस्या हुँदैन । त्यसैगरी, गर्मीयाममा शरीरमा धेरै गर्मी हुनाले शरीरलाई चिसो बनाउने खानेकुराहरू खाइन्थ्यो ।
४ सन्तुलित आहार
आज चिकित्सकहरू यो भनिरहेका छन् कि थुप्रै मानिसहरूमा मधुमेहको (डायबिटिज) समस्या रहेको छ । यसको एउटा प्रमुख कारण हाम्रो आहार हो, किनकि हामीहरूको आहारमा प्रायः एउटै अनाज हुने गर्छ ।
मानिसहरू कि त चामल मात्रै खान्छन् वा गहुँ मात्रै खाइरहेका हुन्छन् । यसले निश्चय नै स्वास्थ्यमा समस्या उत्पन्न गर्छ । आफ्नो भोजनमा फरक-फरक अनाजहरू प्रयोग गर्नु अपरिहार्य छ ।
५ दुई भोजनको बीचमा अन्तराल हुनुपर्छ
योगमा यो स्पष्ट भनिएको छ कि पहिलो भोजनपछि, लगभग ८ घण्टापछि मात्रै अर्को भोजन गर्नुपर्छ । यसलाई तपाईं घरबाट बाहिर भएको बेलामा समेत पालन गर्न सक्नुहुन्छ । यो त भयो योगमा भनिएको कुरा, तर सामान्य स्थितिमा समेत तपाईंले दुई भोजनको बीचमा कम्तीमा पनि ५ घण्टाको अन्तराल राख्नैपर्छ ।
यसको कारण के हो भने, पेट खाली हुँदा मात्रै हाम्रा मल-उत्सर्जन तन्त्रहरूले राम्रोसँग काम गर्न सक्छन् । यदि तपाईंको पाचन प्रणालीमा खाना पचाउने क्रिया निरन्तर चलिरह्यो भने, शरीरको केही ऊर्जा स्वतः त्यसैमा लागिरहन्छ, जसले गर्दा तपाईंको शरीर र दिमाग उत्तम तरिकाले काम गर्न सक्दैनन् ।
६ भोजनको सन्दर्भमा बानी नबसाल्नुहोस्
स्वस्थबर्धक खानपिनको बारेमा कुरा गर्दै सद्गुरु हामीलाई यो स्मरण गराउँदै हुनुहुन्छ कि भोजनको सम्बन्ध शरीरसँग हुन्छ । त्यसैले के खाने र के नखाने भनेर जान्ने सबैभन्दा राम्रो तरिका भनेको आफ्नै शरीरलाई सोध्नु हो । भोजनको सन्दर्भमा हामीले कुनै बानीको विकास गर्न जरूरी छैन, बरु समझदारीले सचेत भई आफ्नो आहार रोज्नु राम्रो हुन्छ ।
त्यही खानुहोस्, जे शरीरको लागि उचित छ । तपाईंले आफ्नो शरीरसँग प्रयोग गर्न सक्नुहुन्छ । आज, एक प्रकारको खाना खानुहोस् अनि हेर्नुहोस् कि तपाईंको शरीरमा कति स्फूर्ति र सतर्कता आउँछ । यदि तपाईंले खानुभएको खानाले तपाईंलाई सुस्त बनाउँछ भने, त्यो सही खाना होइन । यदि तपाईंले खानुभएको खानाले तपाईंलाई अझ जीवन्त बनाउँछ भने, त्यो सही खाना हो । (कफि बाहेक, किनकि त्यसले तपाईंको स्नायु-प्रणालीलाई उत्तेजित गर्दछ ।)
७ खाना खानुअघि केहीबेर पर्खिनुहोस्
मानिलिनु होस् कि तपाईं एकदमै भोकाउनु भएको छ अनि तपाईंको अगाडि खाना राखिएको छ— तब के हुन्छ ? तपाईं एकै गाँसमा निल्न चाहनुहुन्छ ! वास्तवमा, जब तपाईं एकदमै भोकाउनु भएको हुन्छ, त्यतिखेर तपाईंको शरीरले एउटा मात्र कुरा चाहन्छ— चाँडोभन्दा चाँडो खाना खान । तर, त्यसबेला तपाईं एकछिन पर्खिनुहोस् ।
खान शुरु गर्नु पहिले ती प्रत्येक व्यक्ति र चीजप्रति आभार व्यक्त गर्नुहोस्, जसमार्फत यो भोजन तपाईंसम्म आइपुगेको छ— त्यो खेत, ती किसान, ती व्यक्ति जसले खाना पकाए अनि ती व्यक्ति समेत जसले खाना पस्किए ।
योबाहेक, खानालाई समेत धन्यवाद दिनुहोस्, किनकि यसले तपाईंको लागि आफ्नो जीवन बलिदान गरेको छ । भलै, तपाईंलाई यो कुरा सामान्य लाग्न सक्छ, तर यो अभ्यासले शरीरसँग रहेको तपाईंको बन्धनलाई खुकुलो बनाउँछ । यो अभ्यासबाट तपाईंमा यो बोध हुन्छ कि तपाईं शरीर मात्र होइन । जब तपाईं एकदमै भोकाउनु हुन्छ, तपाईं केवल शरीर बन्नुहुन्छ । आफूभित्र अलिकति स्थान दिनुहोस्, तब तपाईंले यो महसुस गर्नुहुनेछ कि तपाईंमा भोक कम भएको हुन्छ । भोक जहीँको त्यहीँ हुन्छ, तपाईं पनि त्यहीँ हुनुहुन्छ, तैपनि यस्तो लाग्दछ कि मानौँ सबै ठीकठाक छ ।