अरिँगालको टोकाइबाट एकै घरका दुई बालबालिकाको मृत्यु

अरिँगालको टोकाइबाट एकै घरका दुई बालबालिकाको मृत्यु

बझाङ । बझाङमा अरिँगालको टोकाइबाट एकै घरका दुईजना बालबालिकाको मृत्यु भएको छ।  थलारा गाउँपालिका–२ डोरगाउँकी डम्मरा खातीका ३ वर्षीय छोरा सुरवीर खाती र ५ वर्षीया छोरी सिया खातिको अरिँगालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 

बझाङका प्रहरी प्रमुख डीएसपी युवराज भण्डारीका अनुसार गत शनिबार दिउँसो घर नजिकै बारीमा डम्मरा र उनकी सासु घाँस काट्न जाँदा बालबालिका पनि सँगै गएका थिए । बिच्किएको अरिँगालको टोकाइबाट दुई बालबालिकाको तत्कालै मृत्यु भएको भण्डारीले बताए । 

सोही घटनामा अरिँगालको टोकाइबाट डम्मरा, उनकी सासु र डम्मराकी सात वर्षीया छोरी सुमी पनि घाइते भएका छन्।

उनीहरुको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भैरहेको भण्डारीले बताए। यसअघि बझाङकै गुन्देल र तलकोटमा पनि अरिँगालको टोकाइबाट दुईजनाको मृत्यु भएको थियो।