नारायणगढ–बुटवल सडक विस्तारको काम तीन महिनामा नसके सरकारले ठेक्का तोड्ने

नारायणगढ–बुटवल सडक विस्तारको काम तीन महिनामा नसके सरकारले ठेक्का तोड्ने

काठमाडौं । निर्माण कम्पनीले नारायणगढ–बुटवल सडक आगामी डिसेम्बरसम्म स्तरोन्नतिको काम सम्पन्न नगरे सरकारले ठेक्का तोड्ने भएको छ।

नारायणगढ– बुटवल सडक विस्तार योजना निर्माणको लागि तेस्रोपटक म्याद थप्दा पनि काम सकिएको छैन। वि.सं.२०७५ माघमा सम्झौता भएर २०७९ साउनमा सडक विस्तारको काम सम्पन्न गर्नुपर्ने भए पनि यसबीचमा तीनपटक म्याद थप गर्दा पनि निर्माण कम्पनीले सडक विस्तारको काम सकेको छैन।

निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको काममा ढिलासुस्ती भएको भन्दै सरकारले अब तीन महिनामा सम्पन्न नगरे ठेक्का तोड्ने तयारी गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले विकास निर्माणका सबै सडक सरकारको नियन्त्रणमा नै रहेको बताए।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले  समय पनि सकिएको र काम पनि कम भएको सडकखण्ड नारायणगढ बुटवल रहेको बताए। उनले त्यसमा पनि निर्माण ठेक्का कम्पनीलाई तीन महिनाको लक्ष्य दिएर डिसेम्बरसम्म नसकिए ठेक्का तोड्ने योजना रहेको बताए। उनले तीन महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का तोड्ने सूचना जारी गरिसकेको पनि बताए।

उनले ठेक्का कम्पनीले जनशक्ति बढाएर सडक बिस्तारको कामलाई तिब्रता नदिए सरकारले पुनःविचार गरी ठेक्का तोडेर अगाडि जानुपर्ने बाध्यता रहेको बताए। उनले भने, ‘विकास निर्माणका काम सरकारको नियन्त्रण भन्दा बाहिर छैनन्। मुग्लिन पोखरा राजमार्ग अहिले सही ट्रयाकमा नै छ। पहिलो प्याकेजको एकलियर करिव सकिएको छ। पाँच किलोमिटर मात्रै बाँकी छ। दोस्रो लियरको पनि काम शुरु भएको छ। त्यो पनि सरकारको नियन्त्रणभित्रै छ। नागढुङ्गा मुग्लिनको समय धेरै नभएकाले पहिलो प्याकेज नागढुङ्गादेखि नौबिसेसम्म हिउँदमा सकिन्छ। नौविसेबाट मुग्लिनसम्मको काम प्रगति कम छ तर समय नागि सकेको अवस्था छैन। मन्त्रालयको टोली स्थलगत भ्रमणमा गएको छ। त्यसलाई पनि ट्रयाकमा ल्याउने प्रयास भइरहेको छ।’

सचिव शर्माले निर्माण व्यवसायीहरुको क्षमताको कमीको कारण विकास निर्माणको काम समयमा सम्पन्न हुन नसकेको बताए। उनले कम क्षमता भएका निर्माण कम्पनीहरुले धेरै ठेक्का लिएर क्यास व्यवस्थापन गर्न नसक्दा विकास निर्माणको काम ढिलासुस्ती भएको बताए। उनले निर्माणको लागि पूर्वतयारी समयमा रुख काट्ने,पोलहरु समयमा ननिकाल्ने गर्दा समस्या आएको बताए।

नारायणगढ–बुटवल सडकको यात्रा सात वर्ष पुग्दासमेत अवस्था उस्तै देखिएको छ। सडक निर्माणको काम अलपत्र रहेकाले नारायणगढ–बुटवल सडकमा यात्रा गर्ने यात्रुले सास्ती भोग्दै आएका छन्। विस्तारको क्रममा रहेको नारायणगढ—बुटवल सडकखण्डको एक सय १४ किलोमिटर दूरी पार गर्न सार्वजनिक सवारीसाधनलाई कम्तीमा चार घण्टा लाग्ने गरेको छ। कोरोनाकालमा निर्माण सामग्रीको कारण देखाएर पहिलोपटक २०८० साउन ११ गते सम्मका लागि म्याद थप भएको थियो। पहिलोपटक थप भएको म्यादमा पनि कामले गति नलिएपछि दोस्रो पटकका लागि २०८१ साउन ८ गते सम्म म्याद थप गरेको थियो। तर दोस्रो पटक पनि काम सम्पन्न नभएपछि तेस्रो पटकका लागि २०८२ साउन ८ गतेसम्मका लागि म्याद थप भएको छ।

नारायणगढ–बुटवल सडक खण्डको हालसम्म ५३ प्रतिशत कार्य प्रगति भएको छ। नारायणगढदेखि दाउन्नेसम्म एकतर्फी ३२ किलोमिटर कालोपत्र गरिएको छ।