दाउन्नेमा दुईतर्फी सडक सुचारु हुन समय लाग्ने,घण्टौंको सवारी जामले कष्टकर बन्दै यात्रा

दाउन्नेमा दुईतर्फी सडक सुचारु हुन समय लाग्ने,घण्टौंको सवारी जामले कष्टकर बन्दै यात्रा

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको दाउन्नेमा पटक-पटक सडक भासिएर सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ। सडक भासिएपछि हिजो साँझदेखि अवरुद्ध सडक आज बिहान १० बजे तिर बाट एकतर्फी रुपमा संचालनमा ल्याइएको छ।

तर सवारी साधनको चाप धेरै भएकाले सवारी साधनहरु घण्टौं जाममा पर्ने गरेका छन् भने यात्रुलाई सास्ती पनि उस्तै छ। पश्चिमतर्फ बर्दघाट क्षेत्रबाटै सवारी साधनको लाईन छ भने दुम्किबास तर्फ पनि लामो लाईन रहेको छ। लामो समय सम्म जाममा बस्नुपर्दा यात्रुलाई सास्ति भएको हो।

हिजोदेखि जाममा रहेको सवारी साधन १५ घण्टा पछि बल्ल आज दिउसो दाउन्ने पार गरेर गन्तव्य तर्फ लागेका छन्। जाममा बस्नुपर्दा खाना त परै जाओस् प्रर्याप्त पानी समेत पिउन नपाएको यात्रुले दुख पोखेका छन्। धनगढीबाट काठमाडाैंका लागि हिँडेकी यात्रु प्रतिमा बडुले १२ घण्टा गाडीमा बिताउँदा निकै सास्ती भएको बताइन्।

अझै बालबच्चा सहित यात्रा गर्नेहरुको अवस्था त झनै कहालीलाग्दो छ। रातभर एकै स्थानमा खानपिनको समेत व्यवस्था नहुँदा समस्या भएको यात्रुहरुले बताएका छन्। यस्तो सास्तीका बिच तत्कालै दाउन्ने सडक सहज रुपमा सुचारु हुने सम्भावना छैन।

बर्दघाट ४ दाउन्ने उकालो स्थीत खुर्सानीखोलामा सडक भासिएपछि सवारी आवागमनमा समस्या भएको हो। गत असोज १४ गते सडक भासिएर अवरुद्ध भएको सडक १५ गते देखि सुचारु भएको थियो।

१५ गते रातभर सवारी रोकेर काम गरिएपनि हिजो फेरि अवरुद्ध भएपछि दाउन्ने क्षेत्रको यात्रा कष्टकर बनेको छ। तत्कालै दुईतर्फि सडक खुल्ने सम्भावना नरहेको प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले जानकारी दिइन्। ठूलो पहिरो सहित सडक भासिएकाले काम गर्न समस्या भएको उनको भनाइ छ।

सडक भासिएको माथिल्लो भागमा हाईटेन्सन लाईनको टावर पनि ढलेको छ। उक्त टावरमा रहेका बिजुलीका तार हटाईसकिएकाले अब टावर पनि हटाएर पहाड काटेर दुईतर्फि यातायात सुचारु गर्न पहल भईरहेको श्रेष्ठले बताइन्।

”माटो गिलो छ जसका कारण सडक दबिरहेको छ, सडक पुरै बन्द गरेर काम गर्न सक्ने अवस्था छैन्, बेलाबेलामा केही समयका लागि बन्द गर्ने र खोल्ने गरी पहाड काटेर बाटो फराकिलो बनाउने काम भईरहेको छ” श्रेष्ठले भनिन्।

सडक समस्याका कारण हिजोदेखि दाउन्ने क्षेत्रमा लामो जाम छ। जसका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । जथाभावि गाडी ओभरटेक गर्ने प्रयास गर्दा पनि जाम भएको भन्दै यात्रुले ट्राफिक प्रहरीको संख्या बढाएर व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनशक्ति अभावले समस्या भएको बताएको छ । चाडपर्वको बेलामा दाउन्ने क्षेत्रमा सडक समस्याले यात्रा कष्टकर बनेको छ।