उमेर हदबन्दी विवादले अखिल क्रान्तिकारीमा ‘भद्रगोल’

उमेर हदबन्दी विवादले अखिल क्रान्तिकारीमा ‘भद्रगोल’

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को जारी २३औं राष्ट्रिय सम्मेलनको बन्दसत्र बुधबार स्थगित भएको छ । उमेर हदबन्दीको विषयलाई लिएर महाधिवेशनमा ‘भद्रगोल’ अवस्था सिर्जना भएपछि बन्दसत्र आज (बिहीबार) समस्या समाधान गर्दै सुरु हुने बताइएको छ ।

अखिल क्रान्तिकारीको अध्यक्षमण्डलले विज्ञप्ति जारी गर्दै बुधबारका लागि तय भएको बन्दसत्र स्थगित भएको र आज (बिहीबार) बिहान १० बजे पुनः सञ्चालन गरिने जानकारी दिएको हो । गत १० असोजमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको महाधिवेशनमा नेतृत्व चयन विषयमा समेत विवाद भएको छ ।

अखिल क्रान्तिकारीमा नेताहरूको उमेरहद २८, ३० वा ३२ वर्षे राख्ने भन्ने विवाद रहेको छ । उमेरहद लागू भएमा अहिले नेतृत्वको दाबी गरेका लगभग सबै नेताको विद्यार्थी राजनीति समाप्त हुने बताइएको छ । आफ्नो राजनीतिक करिअर नै सकिने भएपछि धेरै सिनियर विद्यार्थी नेता उमेरहदको विपक्षमा उभिएका छन् । उमेरहद नै नराख्ने भन्ने विषयमा विवाद अल्झिएर लम्बिइरहेको हो । विवाद नटुंगिएपछि त्यसको समाधान गर्ने जिम्मेवारी उपमहासचिव शक्ति बस्नेतले पाएका थिए ।

बस्नेतले मंगलबार रातिसम्म बागबजारस्थित होटल हार्दिकमा अखिल क्रान्तिकारीका पूर्वअध्यक्षहरू हिमाल शर्मा, रमेश मल्ल, नरेन्द्र न्यौपाने र वर्तमान अध्यक्ष पञ्चा सिंहसहितका नेतासँग छलफल गरेका थिए । तर, सो छलफलबाट पनि समाधान निस्कन नसकेपछि बन्दसत्र नै स्थगित गरिएको हो ।

गत बिहीबारदेखि सुरु महाधिवेशनको एक साता हुँदा पनि नेतृत्व चयनको निर्वाचन प्रक्रियामा जान सकेको छैन । संगठनमा उमेरहद’boutको विवाद चुलिएपछि महाधिवेशन नै अन्योलमा परेको हो ।

यसअघि पार्टीको निर्देशनमा मंगलबार उमेरहदको विवाद मतदानबाट टुंग्याउने तयारी गरिए पनि विभिन्न गुटको विवादका करण निर्वाचन प्रक्रिया नै सुरु हुन सकेन । उमेरहद विवाद नै टुंगिन नसकेपछि नेतृत्व चयनको विषय त अझै धेरै पछाडि रहेको महाधिवेशनमा सहभागी प्रतिनिधिले बताएका छन् । कयौं प्रतिनिधि त महाधिवेशन अन्योल बनेपछि घर फर्किन थालेका छन् ।

उमेरहदको विवादमा आपसमा कुर्सी हानाहानको अवस्था सिर्जना भएको थियो । अनेरास्ववियु क्रान्तिकारीमा विवाद बढेपछि पार्टीले हस्तक्षेपको तयारीसमेत गरेको छ । अब महाधिवेशन हलले उमेरहदको विवाद टुंग्याउन नसकेपछि पार्टीले निर्णय लिन लागेको बताइएको छ । क्रान्तिकारीको महाधिवेशन’bout निर्णय लिन अध्यक्ष प्रचण्डले बुधबार खुमलटार निवासमा पदाधिकारीसँग छलफल गरेका छन् । पार्टीले उमेरहदका विषयमा निर्णय लिएर नेतृत्व चयनको प्रक्रिया सुरु गर्नसक्ने बताइएको छ ।

अखिल क्रान्तिकारीमा अहिले १९ जना उपाध्यक्ष छन् । तीमध्ये १३ जनाले आगामी कार्यकालका लागि अध्यक्षमा दाबेदारी गरेका हुन् । नेता उत्पादन गर्ने नर्सरीका रूपमा लिइने विद्यार्थी संगठनको नेतृत्व लिन धेरै विद्यार्थी नेताले आकांक्षा राखेका छन् । ती विद्यार्थी नेताले पार्टी शीर्ष नेताहरूको विश्वास जित्ने प्रयाससमेत गरिरहेका छन् । साथै, उमेर हदबन्दीको विरोधमा समेत कतिपय उम्मेदवार नै रहेका छन् ।

अहिलेसम्म निर्वाचनबाट नेतृत्व चयन नगरी पार्टी अध्यक्ष प्रचण्डकै निर्देशन र हस्तक्षेपबाट नेतृत्व चयन गर्दै आएको अखिल क्रान्तिकारीमा यसपटक निर्वाचनबाट नेतृत्व चयन गर्ने सम्भावना बढी देखिएको नेताहरू बताउँछन् । तर, जारी महाधिवेशनमा उमेर हदबन्दीका कारण भद्रगोल अवस्था सिर्जना भएपछि पुनः पार्टी नेतृत्वबाटै अखिलको नेतृत्व चयन गर्न सकिने तयारीसमेत भइरहेको छ ।

अगामी नेतृत्वका लागि अखिलका १७ जना उपाध्यक्ष र एक महासचिवसहित १८ जना प्रतिस्पर्धामा रहेका बताइएको छ । संगठनका उपाध्यक्ष राजकुमार लिम्बु पारिवारिक कामले मुलुकबाहिर रहेका र कल्पना मियाँ प्रतिनिधिसभाको सांसद भइसकेकाले दुई जना भने अध्यक्षको प्रतिस्पर्धामा छैनन् ।

संगठनका उपाध्यक्षहरू जीपी मैनाली, इन्द्र भुसाल, मिलन एमसी, तुकमान महरा, लक्ष्मी जोशी, प्रविणा अधिकारी, मदन भुल, पवन कार्की, नरेश रेग्मी, सूर्यनारायण साह, नारायण खनाल, गजेन्द्र देव, क्षितिज सापकोटा, मदन भट्टराई, अमरजंश शाही, केशव रावल र महासचिव दीपेश पुन अध्यक्षका लागि प्रतिस्पर्धामा छन् ।

यस महाधिवेशनमा २ हजार ३ सय २३ प्रतिनिधि सहभागी रहेका छन् भने अखिल क्रान्तिकारीले प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने बताएको छ । सम्मेलन ३३ पदाधिकारीसहित २ सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्दै सम्पन्न हुनेछ ।

यसअघि १३ असोज बिहान ८ बजेदेखि नयाँ नेतृत्व चयनका लागि मतदान हुने कार्यक्रम रहेको भए पनि उमेर हदबन्दीको विवादका कारण लम्बिँदै गइरहेको छ । ‘भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चितताका लागि हाम्रो आन्दोलन, रोजगार, उत्पादन र समाजवादी शिक्षाका लागि २३औं राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ सुरु भएको सम्मेलनले नेतृत्व चयन सर्वसम्मत गर्न नसकेको अवस्थामा लोकतान्त्रिक प्रक्रियानुसार निर्वाचनबाट नेतृत्वको चयन गरिनेछ ।