फेरि पूर्वी नेपालबाट भित्रँदैछ अर्को मौसमी प्रणाली, मेघ गर्जनसहित भारी वर्षाको  सम्भावना

फेरि पूर्वी नेपालबाट भित्रँदैछ अर्को मौसमी प्रणाली, मेघ गर्जनसहित भारी वर्षाको  सम्भावना

मनसुन बाहिरिनुपर्ने सिजनमा पूर्वी भेगबाट पुनः वर्षा सुरू हुन लागेको हो। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेल घटस्थापनाको दिनसम्म पानी पर्ने बताउँछन्।

उनकाअनुसार सोमबार अपराह्नदेखि फेरि अर्को मौसमी प्रणालीले पूर्वी नेपालबाट प्रवेश गर्न लागेको हो। ‘नेपालमा अर्को केही दिनसम्म हल्कादेखि मध्यम वर्षा हुने छ। हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ तर केही क्षेत्रमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना छ,’ उनले भने।

गत बिहीबारदेखि शनिबारसाँझसम्म बंगालको खाडीबाट विकास हुँदै आएको न्यूनचापीय प्रणालीका कारण घनघोर वर्षा भएको थियो। उक्त प्रणालीले देशका २५ स्थानमा यसअघिको वर्षाको रेकड ब्रेक गरेको थियो।

बाहिरिने बेलामा मनसुन पुनः सक्रिय हुने भएको छ। नेपालमा मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो। जुन १० अर्थात् जेठ २८ गते मनसुन नेपाल प्रवेश गरेको थियो।