काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले कटान गर्दा बीपी राजमार्ग अवरुद्ध छ । राजमार्ग अवरुद्ध भएपछि यात्रुहरू पैदलै घर फर्किन र काठमाडौंतिर जान थालेका छन् ।
काभ्रेको पात्लेखेतदेखि नेपालथोकसम्म विभिन्न स्थानको सडक कटान र पहिरोले अवरुद्ध भएपछि फसेका यात्रु पैदलै फर्किन थालेका हुन् ।तीन दिनसम्म पनि सडक खुल्न नसकेपछि बाध्य भएर पैदलै फर्किनुपरेको यात्रुहरूले गुनासो गरेका छन् ।
उनीहरूले सडक खोल्न ढिलाइ भइरहेको पनि गुनासो गरेका छन् । काभ्रेको १३ वटा स्थानीय तहमध्ये रोशी गाउँपालिका, पनौती नगरपालिका, तेमाल गाउँपालिका र बेथानचोक गाउँपालिका बाढी र पहिरोबाट धेरै प्रभावित भएका छन् ।
बीपी राजमार्गमा अहिले पनि सयौँ यात्रु बीच बाटोमै तीन दिनदेखि अलपत्र परेका छन् ।बाढी र पहिरोले तीन दिनसम्म सडक अवरुद्ध भएपछि राजमार्गमा फसेकाहरू पैदलै फर्केका हुन् । उनीहरूले सहज रुपमा पानी र खाना कहीँ नपाएको बताएका छन् ।
राजमार्गमा अलपत्र यात्रुलाई उद्धार गर्न आइतबार बिहानबाट नेपाली सेनाले खाद्यान्नसहितका सामग्री हेलिकप्टरमार्फत उपलब्ध गराएको थियो । तर हेलिकप्टरबाट हजारौँ यात्रुको उद्दार सम्भव भएको छैन । काभ्रेमा मात्रै बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ५४ पुगिसकेको छ ।