रवि र छविमाथि प्रहरीले बढायो निगरानी, पक्राउ गर्ने तयारी !

रवि र छविमाथि प्रहरीले बढायो निगरानी, पक्राउ गर्ने तयारी !

काठमाडौँ । सहकारी ठगीबारे संसदीय छानबिन समितिले सहकारीको रकम अपचलन गरेको विषयमा रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीलाई समेत प्रचलित कानुन अनुसार कारबाही गर्नुपर्ने सिफारिस गरेपछि प्रहरीले उनीहरुलाई निगरानीमा राखेको छ ।

हालसम्म छविलाल जोशीबारे कुनै पनि प्रहरी कार्यालयमा उजुरी नपरे पनि रविविरुद्ध भने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पुरक जोहेरी नै परेको थियो ।

त्यो बाहेक संसदीय छानबिन समितिले नै दुवैजनालाई कारवाही सिफारिस गरेपछि उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने अवस्थामा प्रहरी पुगेको स्रोत बताउँछ । 

त्यसका लागि प्रहरीले प्रतिवेदन हातमा नपुग्दै आन्तरिक तयारीमा जुटेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार रवि लामिछाने विरुद्ध पोखरामा परेको पुरक जाहेरीकै आधारमा अनुसन्धान अघि बढाउन सक्छ ।

त्यस्तै छविलाल जोशीमाथि पनि त्यसैगरी अनुसन्धान थाल्ने प्रहरीले जनाएको छ । सूर्यदर्शन सहकारी मार्फत ग्यालेक्सी टेलिभिजनमा पाँच करोड रुपैयाँ आएको छ । प्रहरी स्रोतका अनुसार जीबी राईमार्फत् ग्यालेक्सी टेलिभिजनमा जुन–जुन सहकारी मार्फत रवि र छवि हुँदा रकम भित्रिएको थियो सोही ठगी कसुरमा उनीहरुलाई प्रतिवादी बनाउने तयारी गरेको हो । 

प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले भने छानबिन समितिले तयार पारेको प्रतिवेदन हेरेर मात्रै प्रहरीले अघि बढ्ने बताए । गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले प्रतिवेदन गृहमन्त्रालय नपुगेको र पुगेपछि अनुसन्धानका लागि प्रहरीलाई बुझाइने बताए । 

छानबिन समितिका संयोजक सूर्य थापाले भने मंगलबार एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै रवि लामिछानेले सहकारीको रकम अपचलनमा जोडिएको भन्दै कारबाही सिफारिस गरिएको बताए ।

छानबिन समितिले सिफारिस गरेकाविरुद्ध सहकारी ठगी, कीर्ते, सम्पत्ति शुद्धीकरण र संगठित अपराध समेत आकर्षित हुने देखिएको उनको दाबी छ ।  रवि लामिछाने ग्यालेक्सी हुँदासम्म जीबी राईले सञ्चालन गरेका पाँचवटा सहकारी मार्फत ग्यालेक्सी टेलिभिजनले ६५ करोड रुपैयाँ अपचलन गरेको देखिएको छ ।

रविले २०८९ असारदेखि ग्यालेक्सी टेलिभिजन छाडेर रास्वपा पार्टी खोलेर राजनीतिमा होमिएका थिए ।  उनी २०७७ माघदेखि ग्यालेक्सीमा जोडिएका हुन् ।   ग्यालेक्सी सुरु गर्दा कुल पुँजी ५ करोड रुपैयाँ राखिएको समितिको छानबिनका क्रममा देखिएको छ । 

पाँच करोड मध्ये रवि लामिछानेले सहकारीकै ७५ लाख रुपैयाँ तिरेर १५ प्रतिशत सेयर पाएको खुलेको हो । त्यस्तै जीबीको ५० र छविलाल जोशीको ३५ प्रतिशत सेयर कायम गरिएको थियो ।

तर, फाइदामै नरहेको ग्यालेक्सी टीभीको पुँजीलाई केही समयमै बढाएर १२ करोड बनाएका थिए । पुँजी १२ करोड हुँदा लामिछानेले थप १ करोड ८० लाख रुपैयाँ थप गरेको देखिएको छ । त्यो रकम समेत लामिछानेले बुटबलको सुप्रिम सहकारी मार्फत हालेको छानबिन समितिका संयोजक थापाको भनाइ छ ।