दरबारमार्गको सडक बन्द गर्दा आसपासका क्षेत्रमा चर्को जाम

दरबारमार्गको सडक बन्द गर्दा आसपासका क्षेत्रमा चर्को जाम

काठमाडौं । काठमाडौंका मुख्य सडकहरूमा सवारी जाम भएको छ । संविधान दिवसको दिन दरबारमार्गमा हुने सांगीतिक कार्यक्रमका लागि स्टेज बनाउन सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाएपछि जाम भएको हो ।

बानेश्वर, माइतिघर, नारायण गोपाल, उत्तर ढोका, गैरीधारा, हात्तिसार, पशुपति, दिल्लीबजार सडक, कान्तिपथ लगायतमा क्षेत्रमा जाम रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्रिपुरेश्वर, थापाथली, माइतीघर, टुँडिखेल आसपास पनि जाम छ । यसअघि बुधबार बिहानै ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गर्दै ट्राफिक डाइभर्सन गरिएको जनाएको थियो ।

केशरमहल चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई जमल तर्फ, जयनेपाल चोकबाट दक्षिणगेट तर्फ आउने सवारी साधनहरुलाई कृष्णपाउरोटी तर्फ र महेन्द्रशालिक चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई घण्टाघर तर्फ डाइभर्सन गर्ने जनाएको थियो ।

सरकारले असोज भोलि ३ गतेको संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडीखेलमा आयोजना गर्ने र सोही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायत कलाकारसहित चर्चित ब्याण्डहरु कुटुम्ब र एलिमेन्ट्सले समेत प्रस्तुति दिनेछन् ।