सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भयो : रवि लामिछाने

सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भयो : रवि लामिछाने

काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको पुष्टि भएको दाबी गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद् भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै लामिछानेले यस्तो बताएका हुन् । “पूरै रिपोर्ट पढ्न पाएको छैन तर, के पुष्टि भयो भने सहकारी ठगीमा मेरो संलग्नता छैन । यो पुष्टि भयो,” उनले भने ।

उनले सहकारी पीडितलाई न्याय दिलाउन हरसम्भव प्रयास गर्ने बताए । “ज-जसको सहकारीमा राखेको बचत अपचलन भएको छ । सबैलाई न्याय दिने हाम्रो प्रयास रहन्छ,” उनले भने, “म सरकारमा हुँदा पनि यही प्रयास गरेको थिएँ ।”

यसअघि रवि आफैँ ठगीमा संलग्न भएको भन्दै आरोपित गरिएको थियो । तर, त्यसविरुद्ध छानबिन गर्न बनेको समितिले भने रविलाई दोषी देखाएको छैन । सहकारीबाट ऋण लिँदा रविको कुनै संलग्नता नदेखिएको तर, अपचलन गरिएको रकम खर्च गर्ने काममा भने उनको संलग्नता देखिएको समितिको निष्कर्ष छ ।