नेपाल  भित्रिँदै आइफोन १६, कति पर्ला मूल्य ?

नेपाल  भित्रिँदै आइफोन १६, कति पर्ला मूल्य ?

काठमाडौं । एप्पलले यसै सेप्टेम्बर ९ (भदौ २४) मा आफ्नो आईफोनको नयाँ सिरिज आईफोन १६ सार्वजनिक गरेको छ । सेप्टेम्बर २० बाट बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

विश्व बजारमा सार्वजनिक भएसँगै अब एप्पलका नयाँ उत्पादन नेपाली बजारमा कहिले आउँछन् भन्ने चासो बढेको छ । एप्पलको नेपालका लागि आधिकारीक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्सले असोज दोस्रो सातापछि नेपालमा आईफोन १६ सार्वजनिक हुने बताएको छ ।

असोज १३ देखि २८ को बीचमा अर्थात् सेप्टेम्बर २९ देखि अक्टोबर १३ को बीचमा आईफोन १६ नेपालमा सार्वजनिक हुने भएको हो । जेनेरेसन नेक्स्ट कम्युनिकेसन्सकी निर्देशक निकिता भिमसरियाले असोज दोस्रो सातापछि आईफोन १६ नेपालमा सार्वजनिक हुने बताइन् ।

आइफोन १६, एप्पल इन्टेलिजेन्स, एयरपड्स ४ सहित यस्ता छन् एप्पलका नयाँ उत्पादन एप्पलको वेबसाइटमा आईफोन १६ को बेस मोडलको मूल्य ७९९ अमेरिकी डलर (करिब एक लाख ७ हजार रुपैयाँ) छ । यस्तै आईफोन १६ प्लसको मूल्य ८९९ अमेरिकी डलर )एक लाख २१ हजार रुपैयाँ)बाट उपलब्ध छ ।

यस्तै आईफोन १६ प्रोको बेस मोडलको मूल्य ९९९ अमेरिकी डलर (करिब एक लाख ३४ हजार सात सय रुपैयाँ) छ । आईफोन १६ प्रो म्याक्स एक हजार १९९ अमेरिकी डलर (एक लाख ६१ हजार ६ सय रुपैयाँ)बाट सुरु छ ।

नेपालमा कति पर्ला मूल्य ?

नेपालमा आईफोनका यी भेरियन्टको मूल्य सार्वजनिक भएकै बेला थाहा हुने कम्पनीले जनाएको छ । तर आईफोन १६ को मूल्य मोटामोटी रुपमा आईफोन १५ का भेरियन्टको अमेरिकी र नेपाली मूल्यको अन्तर जस्तै रहने कम्पनीको भनाइ छ ।

नेपालमा भने आईफोन१६ को प्रिबुकिङ नखुल्ने भएको छ । जेनेरेसन नेक्स्ट कम्युनिकेसन्सका अनुसार आईफोन १६ सार्वजनिक भएपछि स्टोरहरुमा उपलब्ध हुनेछ । आईफोन १६ सँगै सार्वजनिक भएका एप्पलका नयाँ उत्पादन वाच सिरिज १०, एयरपड्स ४ र एयरपड्स २ प्रोलगायत पनि नेपालमा भित्र्याउने कम्पनीले जनाएको छ ।