काठमाडौं । भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालमा सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह गरेका छन्।
भारतमा जारी आईकाओको एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनको साइडलाइन भेटवार्ता क्रममा भारतका नागरिक उड्डयनमन्त्री राममोहन नाइडु किन्जारापुसँग नेपाल र भारतबीच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न शहरहरुबीच सिधा हवाई सम्पर्क स्थापना गर्न आग्रह गरेका हुन्।
भेटका क्रममा मन्त्री पाण्डेले नेपालमा हाल थप सञ्चालनमा आएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेकाले भारतका विभिन्न शहरबाट नेपालमा थप सिधा उडान तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट सिधै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक संयन्त्र परिचालन गर्न भारतीय पक्षसँग आग्रह गरेका हुन्।
भारतको संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शिखावतसँग नयाँ दिल्लीमा भएको भेटका क्रममा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय शहरहरुबाट सिधा हवाई उडान गर्न आग्रह गरेका थिए। उनले पोखरा नेपालका पर्यटकीय राजधानीका रुपमा विकसित भई रहेको र विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गरेपछि अहिले ठूलो संख्यामा भारतीय धार्मिक पर्यटकले मुक्तिनाथको दर्शन गर्न जाने थालेको स्मरण गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिनन शहरबाट सिधा उडान भर्न भारतीय उड्डयन कम्पनीहरुलाई प्रोत्साहित गर्नुपर्ने विषयमा जोड दिएका थिए।
यसैगरी भारतको संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शिखावतसँग नयाँ दिल्लीमा भएको भेटका क्रममा पनि पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय शहरहरुबाट सिधा हवाई उडान गर्न आग्रह गरेका थिए। भेटमा पर्यटनमन्त्री शिखावतले नेपाल र भारतबीचको प्रभावकारी आपसी सम्पर्क स्थापना तथा सहज आवतजावतको माध्यमबाट दुई देशबीचको संस्कृति तथा सभ्यतागत सम्पर्कलाई थप मजबुत बनाउन सकिने कुरामा जोड दिए।
भेटमा पर्यटन तथा संस्कृतिका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई थप गहिराईमा पुर्याउन सकिने विषयमा विचारहरु आदानप्रदान भएको थियो।