पशुपति कोटीहोमबाट आयोजकलाई ७२ लाख ५० हजार ऋण लागेको कृष्णमुर्तिको दाबी

पशुपति कोटीहोमबाट आयोजकलाई ७२ लाख ५० हजार ऋण लागेको  कृष्णमुर्तिको दाबी

काठमाडौं । पशुपति मन्दिरमा एक महिनासम्म आयोजना भएको कोटिहोममा आम्दानीभन्दा खर्च धेरै भएको विवरण आयोजक विजय कृष्णमुर्तिले सार्वजनिक गरेका छन् ।

कोटीहोम सकिएको झण्डै दुई महिनापछि आय व्यय विवरण सार्वजनिक गर्दै उनले घाटाको हिसाब देखाएका हुन् ।कृष्णमुर्तिका अनुसार कोटीहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको थियो । यस्तै, कोटीहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले बताए । यस अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको कृष्णमुर्तिले दावी गरेका छन् ।

महायज्ञमा कबोल भएको मध्ये डेढ करोडदेखि २ करोड रूपैयाँ आउन बाँकी रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो रकम आयो भने बचत हुने कृष्णमुर्तिले बताए ।

उनले दिएको विवरण अनुसार नगद रसिदबाट १७ करो ४६ लाख ३७७ रुपैयाँ संकलन भएको थियो भने क्यूआर पेपेन्टबाट १ करोड ३६ लाख ७९ हजार ३४० रुपैयाँ उठेको थियो । दान पेटिकामा ४१ लाख ७७ हजार रूपैयाँ प्राप्त भएको उनले बताए ।