काठमाडौं । नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरु गरिएको छ । चिनियाँ सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न थालिएको हो ।
बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आयोजित कार्यक्रममा नेपालका लागि कतारका राजदूतलाई हरियो तरकारी हस्तान्तरण गरिएको छ । ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि प्रवर्धन कार्यक्रमअन्तर्गत दक्षिणकाली नगरपालिकामा तरकारी खेती गरिएको थियो ।
दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले किसानहरूले उत्पादन गरेको हरिया तरकारी निर्यातसँगै मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्ने र किसानलाई प्रोत्साहन हुने बताए । तरकारी उत्पादनका लागि ग्रामीण विकासका लागि चाइना फाउन्डेसनले किसानहरूलाई विशेष तालिमका साथै आवश्यक कृषि सामग्रीसमेत उपलब्ध गराएको थियो ।