असहायको सहारा : मानवसेवा आश्रम

असहायको सहारा : मानवसेवा आश्रम

काठमाडौं :  साँझको ७ बजेको थियो, हामी काठमाडौंको सामाखुसीस्थित मानवसेवा आश्रममा पुग्यौं । आश्रम पुग्ने बित्तिकै एक जना अधवैंसे महिला आइन् । कुरा गर्न सुरु गर्‍यौं । उनलाई दाङबाट उद्धार गरेर काठमाडौं ल्याइएको रहेछ । ३६ वर्षकी शान्ति ठकुरीलाई मानवसेवा आश्रमका अभियन्ताले विक्षिप्त अवस्थामा एक वर्षअघि सडकबाट उद्धार गरेका रहेछन् । 

उनी भन्छिन्, ‘म मान्छे जस्तो नै थिइनँ त्यसबेला, यहाँ आएपछि त मेरो जिन्दगी फेरिएको छ । अहिलेसम्म सडकमै भए त मरिसक्थें होला ।’ मानसिक सन्तुलन गुमाउँदाको पीडा त छँदैछ  माया ममता पाउनुपर्ने अवस्थामा सबैको छिछि र दुरदुर खेप्नुपरेको उनले सुनाइन् । आश्रमको सहयोगमा थातबाससँगै उपचार पाएपछि अहिले उनी सामान्य अवस्थामा फर्कंदै छिन् ।

औषधि उपचार, समयमा खाना, लगाउन कपडा र बस्न ओत लाग्ने छाना पाएपछि ठकुरीको जीवनले कोल्टे फेरेको छ । अहिले उनी सरसफाइमा ध्यान दिन्छिन् । उनले भनिन्, ‘पहिले मलाई केही थाहा थिएन, कपडा लाए नलाएको पनि ख्याल हुन्नथ्यो, यहाँ आएपछि अहिले हेर्नुस् मैले  धेरै कुरा बुझ्न पाएकी छु ।’ आश्रममा  ठकुरीसँगै आश्रयविहिन ४१ जना बस्छन् ।

सहकार्य गरेर आश्रय

आश्रमले स्थानीय प्रशासन र सर्वसाधारणसँग सहकार्य गरेर आश्रयविहीनलाई ल्याउने गरेको छ । संस्थाले विदेशी सहयोग लिएको छैन । सरकारी, संस्थागत र व्यक्तिगत सहयोगबाटै अहिलेसम्म चलेको छ । विभिन्न व्यक्तिले आफ्नो विवाह, जन्मदिन, स्मृति दिवस र संस्थाहरूको वार्षिकोत्सवमा सहयोग गर्दा रहेछन् ।

सबैको मुठीदानले आश्रम सञ्चालन भइरहेको अभियन्ता अन्जनी महथाले बताइन् । उनले भनिन्, ‘आश्रमलाई  विभिन्न व्यक्ति तथा संस्थाले जन्मदिन, विवाह, वार्षिकोत्सव जस्ता अवसर पारेर खाजा, खाना तथा लत्ताकपडा सहयोग गर्नुहुन्छ । त्यसैबाट हामीले सेवा गरिरहेका छौं ।’ 

आश्रममा घरपरिवारले अपहेलना गरी सडकमा छाडेका असहाय र अशक्तलाई नयाँ जीवनकै आभास हुने गरी सेवा गरेको आश्रित बताउँछन् । उद्धार गरिएका अपरिचितलाई पनि अपनत्व महसुस हुने गरी त्यहाँका स्वयंसेवीले सेवा गर्ने गरेका छन् । 

अभियन्ता महथा भन्छिन्, ‘कतिपय अशक्त छन् । ओछ्यानमै दिशापिसाब पनि हुन्छ, जताततै फोहर हुन्छ । दिनहुँ नुहाइदिने, नङ काटिदिने, सफा बनाइदिनु पर्छ ।’ उनले कतिपयको निधन नै आश्रमम  भएको र उनीहरूको अन्तिम संस्कार पनि आश्रमले नै गरेको बताइन् ।

सडक मानवमुक्त बनाउने लक्ष्य  

देशभरि सडकपेटीमा भोकै नांगै अचेत र अर्धचेत अवस्थाका बग्रेल्ती मानिस भेटिन्छन् । त्यस्तालाई सरकारले पुर्‍ याउन नसकेको नाना, छाना र खाना विभिन्न जिल्लामा रहेको मानवसेवा आश्रमले गरिरहेको छ । 

आश्रमले ०८२ सालभित्र नेपालका सडकमा रहेका त्यस्ता मानिसको उद्धार गरेर आश्रममा ल्याउने अभियान थालेको  छ । स्थानीय निकाय र प्रहरीसँग समन्वय गरेर आश्रयविहीनलाई आश्रममा ल्याउने गरेको छ । 

आश्रममा आएपछि स्याहारसुसार र उपचारपश्चात् घरपरिवार खोज्ने र पुनःमिलन गराउने गरेको आश्रमकी सामाखुसी शाखा सहसंयोजक सन्तोषी मगरले बताइन् । अभियान अघि बढाउँदै सडक सेवा कार्यक्रम पनि सुरु भएको छ । 

उनले भनिन्, ‘साँच्चिकै दुःख पाएका मानिसहरू सडकमा बेलुकीपख भेटिने भएकाले सातामा २ दिन मंगलबार र शनिबार सडकमा भेटिएका मानिसहरूको उद्धार गर्ने गरेका छौं ।’ उनले दिउँसो  कतिपय पेसेवर माग्ने पनि भेटिने भएकाले वास्तविक असहायको पहिचानका लागि सातामा दुई दिन राति ८ बजेदेखि ११ बजेसम्म सडक सेवा कार्यक्रममा  खटिने सुनाइन् ।

आश्रमका संस्थापक सुमन बर्तौलाले सडकलाई भिक्षुक, अशक्त मानवमुक्त बनाउने अभियानमा राज्यले ध्यान दिनुपर्ने बताए । उनले भने, ‘जो बेसहारा छ, जसले आफ्नो भरणपोषण गर्न सक्दैनन् उनीहरूको अभिभावकत्व सरकाले लिनुपर्छ ।’ 

विक्रम संवत २०६९ मा मकवानपुरको हेटौंडामा स्थापना भएको आश्रमका अहिले १२ जिल्लामा १४ शाखा छन् । सडकपेटीमा रहेका जुनसुकै उमेर समूहका, मानसिक सन्तुलन गुमाएका, घरवारविहीन, अशक्तलाई आश्रमले वास दिइरहेको छ । 

हालसम्म आश्रमले १ हजार ७ सय ५० जनाको उद्धार, ५ सय ७७ जनाको पारिवारिक पुनःमिलन गराएको छ । १४ आश्रममा ६ सय ५० जना आश्रित छन् । तीमध्ये गोरखा आश्रमका ५२ जना बालबालिका विद्यालय अध्ययन गरिहेका छन् । 

अहिलेसम्म आश्रममा १ सय ९८ जनाको निधन भएको छ भने ३ सय २५ जनाले आश्रम छाडेर गएका छन् । ०७२ जेठ २६ गते सर्वोच्च अदालतले तत्काल घरबारविहीन नागरिकको व्यवस्थापन गर्न सरकारका नाममा परमादेश जारी गरेको थियो । 

तर सरकारले अहिलेसम्म प्रभावकारी काम गर्न सकेको छैन । त्यसैले अशक्त, घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा बेसहारा भएकाको स्याहारसुसारमा सक्रिय मानवसेवा आश्रम जस्ता समाजसेवी संघसंस्थालाई सरकारले सबै प्रकारका सेवा सुविधा उपलव्ध गराउन आवश्यक छ ।